जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

केन्द्रबिन्दु
6
Shares

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमार्गमा सञ्चालन भएको बोट सेवाले स्थानीय नागरिकको आवतजावत सहज बनाएको छ । जलयात्रामार्फत धरान, इटहरी, विराटनगरलगायत तराईका सहरसँग दक्षिणी भेगका नागरिकको दूरी छोटिएको छ ।

दूधकोशी र अरुणजस्ता ठूला नदीमा पुल नहुँदा वर्षौँदेखि स्थानीयवासी आवतजावतमा समस्या झेल्दै आएका थिए । अहिले अरुण नदीमा बोट सञ्चालन भएपछि दैनिक यात्रामा सहजता आएको छ ।

बोट सञ्चालनपछि तराईका सहर पुगेर सोही दिन घर फर्किन सकिने अवस्था बनेको स्थानीय इन्द्र थापाको भनाइ छ । भिरालो बाटो हुँदै तीनदेखि चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेको अवस्थामा जलयात्राले निकै सहज बनाएको उनले बताएका छन् । जलमार्गबाट करिब १९ किलोमिटर दूरी २० देखि २५ मिनेटमै पार गर्न सकिने जानकारी उनले दिएका छन् ।

बोट सञ्चालनले दक्षिणी भेगका नागरिकलाई ठूलो राहत मिलेको थापाको भनाइ छ । सडकमार्गबाट यात्रा गर्न नदीमा पुल नहुँदा समस्या हुने गरेको अवस्थामा अहिले जलयात्रामार्फत एकैदिनमा तराईका सहर पुगेर फर्किन सक्ने वातावरण बनेको उनले उल्लेख गरेका छन् ।

बराहक्षेत्रसम्म जलयात्रा गर्न रु ५०० भाडा लाग्छ । अरुण नदीमा पानी जेटबोट सञ्चालन भएपछि बिरामीलाई छिट्टै तराईका ठूला अस्पतालमा पुर्‍याउन पनि सहज भएको स्थानीय मिलन राईले बताएका छन् । हतुवागढीबाट भोजपुर सदरमुकाम हुँदै लेगुवा–हिले–धनकुटा भएर तराई झर्न करिब २०० किलोमिटर दूरी पार गर्नुपर्ने भएकाले दक्षिणी भेगका नागरिकका लागि जलमार्ग निकै उपयोगी बनेको उनको भनाइ छ ।

दक्षिणी क्षेत्रका नागरिकलाई भोजपुर सदरमुकाम हुँदै यात्रा गर्दा दूरी धेरै लामो पर्ने गरेको र अहिले बिरामी हुँदा छिट्टै उपचारका लागि सहर पुग्न सकिने अवस्था बनेको राईले बताएका छन् । यसले स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको उल्लेख गरिएको छ ।

बोट सञ्चालनले भोजपुर, धनकुटा र सुनसरीलाई पूर्वी तराईसँग जोड्न थप सहज भएको हतुवागढी गाउँपालिकाले जनाएको छ । जलयात्रालाई पर्यटनसँग समेत जोड्ने लक्ष्यका साथ पर्यटन पूर्वाधार विकासमा गाउँपालिका जुटिरहेको अध्यक्ष प्रेमकुमार राईको भनाइ छ ।

हतुवागढी क्षेत्रबाट तराईका जिल्लासँग दूरी छोटो पर्ने भएकाले यसले यहाँको विकासमा टेवा पुग्ने राईले बताएका छन् । पानी जेटबोट सञ्चालनले स्थानीय नागरिकलाई धेरै सहज भएको र दूधकोशी तथा अरुणजस्ता ठूला नदीमा पुल निर्माण ढिलाइ हुँदा सवारी आवतजावतमा समस्या रहेको उल्लेख गरिएको छ । जलयात्रालाई पर्यटनसँग जोडेर विकासका काम अघि बढाइरहेको पनि जनाइएको छ ।

Skip This
Skip This
Logo