मुस्ताङ। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङदेखि घरपझोङ–४ जोमसोम जोड्ने १७ किलोमिटर कालोपत्र सडक स्तरोन्नति कार्य पुनः अलपत्र परेको छ ।
कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत सुरु गरिएको बेनी–जोमसोम ७४ किलोमिटर सडकको चौथो खण्ड निर्माण कम्पनीको पटकपटकको ढिलासुस्ती र बेवास्ताका कारण स्तरोन्नति काम अलपत्र पर्दै आएको हो ।
बेनी–जोमसोम सडकअन्तर्गत दोस्रो र तेस्रो खण्ड निर्माण सम्पन्न भइसकेर आयोजनालाई हस्तान्तरण भइसकेको छ । तर कोरलानाका जोड्ने कोवाङ–जोमसोम सडकको ८५ प्रतिशत भौतिक प्रगति भइसके पनि निर्माण कम्पनीले काम पूरा नगरेको आयोजनाले जनाएको छ ।
त्रिदेशीय व्यापारिक मार्गका रूपमा विस्तार गर्ने उद्देश्यले तत्कालीन सरकारले नेपाल–चीन कोरलानाका जोड्ने बेनी–जोमसोम–कोरला सडक आव २०७३/७४ देखि सुरु गरेको थियो । सोहीअनुसार कोवाङ–जोमसोम १७ किलोमिटर चौथो खण्ड रु ७० करोड लागतमा ठेक्का सम्झौतामार्फत निर्माण सुरु गरिएको थियो ।
कोवाङ–जोमसोम अस्फाल्ट कालोपत्र सडक स्तरोन्नतिका लागि पप्पु गौरी पार्वती, कोशी एन्ड न्यौपाने जेभीले ठेक्का सम्झौता गरेका थिए । नालीसहित ११ मिटर चौडा सडकमा कालोपत्र गर्ने योजना भए पनि ठेक्का सम्झौता भएको आठ वर्ष बितिसक्दा पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।
सुरुआती चरणमा जेभीको जोइन पार्टनर कोशी एन्ड न्यौपानेले निर्माणको जिम्मा लिएको थियो । तर कामले गति लिन नसकेपछि मुख्य पार्टनर पप्पु गौरी पार्वतीले निर्माण कार्य अघि बढाउने प्रयास गरेको थियो ।
कोवाङ–जोमसोम सडक स्तरोन्नतिअन्तर्गत खन्ती–टुकुचेस्थित थापाखोलासम्म, टुकुचे सिरान टोलीदेखि मार्फासम्म सडक स्तरोन्नति तथा कालोपत्र कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । त्यस्तै मुस्ताङको स्याङगाउँ पुछारदेखि पुथाङ एयरपोर्टसम्म कालोपत्र तथा पिसीसी ढलानसहितको काम सकिएको छ ।
जोमसोम प्रादेशिक अस्पतालदेखि जोमसोम पक्की पुलसम्म करिब १५ किलोमिटर सडक कालोपत्र विस्तार कार्य सम्पन्न भइसकेको आयोजना प्रमुख तेजस्वी शर्माले बताएका छन् । उनका अनुसार थासाङको टुकुचे गाउँभित्रको सडक, मार्फा पुलदेखि स्याङ पुछारसम्म र जोमसोम बजारस्थित नेपाली सेनाको ब्यारेक अगाडिको सडक गरी करिब दुई किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको भए पनि काम अघि बढ्न सकेको छैन ।
निर्माणाधीन सडकअन्तर्गत जोमसोमस्थित नेपाली सेनाको ब्यारेक अगाडि कालोपत्रका लागि फिलिङ गर्न माटो थुपारिएकाले सवारी आवागमनमा समस्या भइरहेको छ । कालोपत्र ढिलाइ हुँदा त्यहाँस्थित सेनालाई धुवाँधुलोले पनि असर परेको छ ।
यसअघि कोरलानाका जोड्ने कोवाङ–जोमसोम सडक निर्माण वैशाखभित्र सम्पन्न गर्न स्थानीय प्रशासनले निर्माण कम्पनीलाई निर्देशन दिएको थियो । तर उक्त निर्देशनलाई बेवास्ता गर्दै निर्माण कम्पनीले सडक निर्माणको काम अघि बढाएको छैन ।
कोवाङ–जोमसोम सडक निर्माणमा गत कात्तिकदेखि कुल ठेक्का सम्झौताको ०.०५ प्रतिशत दैनिक हर्जाना लाग्नेगरी जरिवाना तोकिएको आयोजना प्रमुख शर्माले बताएका छन् । यस खण्डको सातौँपटक म्याद थप भइसकेको र जरिवाना अवधि २०० दिन रहने उल्लेख गरिएको छ ।
चैत महिनासम्म अन्तिम समयसीमा रहेको र सो अवधिसम्म जरिवाना बुझाएर अधुरो काम सुरु गर्नुपर्ने बताइएको छ । त्यसो नभए निर्माण कम्पनीसँगको ठेक्का सम्झौता भङ्ग गरी नयाँ ठेक्का प्रक्रिया सुरु गरिने जनाइएको छ ।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण अलपत्र परेको कोवाङ–जोमसोम सडक छिटो सम्पन्न गर्न आयोजनाले ठेक्का सम्झौता तोडेर नयाँ ठेक्का खुलाउन विभागसँग सहमति माग गरेको भए पनि हालसम्म स्वीकृति प्राप्त भएको छैन ।
सार्वजनिक खरिद ऐन संशोधन नभए निर्माण कम्पनीले ठेक्का सम्झौता लागतको १० प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको आयोजनाले जनाएको छ । हाल सडक निर्माणमा प्रयोग भएका उपकरण थन्क्याइएका छन् र निर्माण कार्यमा खटिएका जनशक्ति पनि काममा फर्किएका छैनन् ।





























प्रतिक्रिया