इनिशा विक हत्या प्रकरणमा सीआईबी प्रवेश, अनुसन्धान केन्द्रमा सुर्खेत

इनिशा विक हत्या प्रकरणमा सीआईबी प्रवेश, अनुसन्धान केन्द्रमा सुर्खेत

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। सुर्खेतकी १६ वर्षीया इनिशा विकको रहस्यमय मृत्यु प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सुरु गरेको छ। घटनाले देशभर चासो बढेपछि केन्द्रीय तहबाट छानबिन अघि बढाइएको हो।

२३ फागुनमा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी इनिशालाई कर्णाली प्रदेश अस्पतालले मृत घोषणा गरेको थियो। वीरेन्द्रनगर–६ को एक निजी विद्यालयमा कक्षा ११ मा अध्ययनरत उनी त्यसदिन प्रयोगात्मक कक्षा लिन भन्दै घरबाट निस्किएकी थिइन्।

घटनापछि प्रहरीले एक १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। प्रारम्भिक बयानमा ती बालकले शारीरिक सम्बन्धपछि इनिशा बेहोस भएको बताएका छन्। प्रहरीले त्यसपछि थप तीन जना बालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

यता परिवारले भने चार जनाले सामूहिक बलात्कार गरेर हत्या गरेको आरोप लगाउँदै कडा कारबाहीको माग गरेको छ। पीडित परिवारले कर्तव्य ज्यान र जबर्जस्ती करणीसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन्।

भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञको टोलीले गरेको परीक्षणमा संवेदनशील अङ्गमा गम्भीर चोट लागेर अत्यधिक रक्तस्राव भएको उल्लेख गरिएको छ।

घटनाको निष्पक्ष छानबिन नभएको भन्दै परिवारले अझै शव बुझ्न मानेका छैनन्। कर्णाली प्रदेश अस्पतालको शवगृहमा शव राखिएको छ। न्यायको माग गर्दै सुर्खेतसहित काठमाडौंमा पनि नागरिक समाज र अधिकारकर्मीले आवाज उठाइरहेका छन्।

बढ्दो दबाबपछि प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन सीआईबीको सहयोगमा थप अनुसन्धान अघि बढाएको छ।

Logo