पशु क्षति भएका कृषकलाई तनहुँ गाउँपालिकाबाट रु १० लाख राहत

पशु क्षति भएका कृषकलाई तनहुँ गाउँपालिकाबाट रु १० लाख राहत

केन्द्रबिन्दु
15
Shares

दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिकाले चालु आर्थिक वर्षमा पशु बिमा कार्यक्रमअन्तर्गत १३ जना कृषकलाई कुल रु ३ लाख १३ हजार ५०० राहत वितरण गरेको छ। अघिल्लो आवमा भने गाउँपालिकाले रु ७ लाख १२ हजार ५०० बराबरको राहत वितरण गरेको थियो।

गाउँपालिकाका पशु चिकित्सक डा. सन्तोष देवकोटाका अनुसार यस वर्ष वितरण गरिएको रकम भैँसी, गाई, गोरु र बाख्रामा भएको क्षतिका आधारमा प्रदान गरिएको हो। राहत पाउने कृषकहरूमध्ये वडा नं. ३ का शान्ता मिश्रले भैँसी क्षतिबापत रु ८१ हजार पाएका छन् भने वडा नं. ५ का गणेशबहादुर मगरले बाख्रा क्षतिबापत रु १४ हजार २५० पाएका छन्। यस्तै, छिम्केश्वरी लाब्दी बाख्रा फार्मलाई बाख्रा क्षतिबापत रु २८ हजार ५००, मिनबहादुर गुरुङलाई रु २८ हजार ५००, सुदीप गुरुङ र मानबहादुर गुरुङलाई रु १४ हजार २५०–१४ हजार २५० वितरण गरिएको छ।

गाउँपालिकाले वडा नं. ५ का वीरबहादुर कामीलाई गोरु क्षतिबापत रु १८ हजार, वडा नं. ६ का झिमेल भुजेललाई गाई क्षतिबापत रु ३६ हजार, मनबहादुर भुजेललाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, जुनबहादुर गुरुङलाई बाख्रा क्षतिबापत रु १४ हजार २५०, धनबहादुर गुरुङलाई गोरु क्षतिबापत रु १८ हजार र निमबहादुर भुजेललाई गोरु क्षतिबापत रु १८ हजार प्रदान गरेको छ।

यस कार्यक्रममा प्रिमियम शुल्कको ८० प्रतिशत रकम सरकारले व्यहोर्छ भने बाँकी २० प्रतिशत गाउँपालिकाले व्यवस्था गर्छ। यसरी कृषकलाई पूर्णरूपमा निःशुल्क लाभ दिने प्रणाली लागू गरिएको छ।

गाउँपालिकाले पशुपालनमा निर्भर कृषकलाई समयमै पशु बिमा गराउन र आकस्मिक क्षतिबाट राहत लिन कार्यक्रमको लाभ लिन आग्रह गरेको छ। अघिल्लो वर्ष गाउँपालिकाले वडा नं. ४ का १८ कृषकलाई रु २ लाख ९६ हजार ७ सय, वडा नं. ५ का ७ कृषकलाई रु १ लाख ५० हजार ३ सय र वडा नं. ६ का १७ कृषकलाई रु २ लाख ६५ हजार ५०० वितरण गरेको थियो।

Logo