काठमाडौं। प्रतिनिधिसभा निर्वाचनपछि विभिन्न राजनीतिक नेताबीच सम्पर्क बढ्न थालेको छ। यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोनमा संवाद भएको छ।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयका अनुसार दुवै नेताबीच निर्वाचन परिणामपछि मोबाइल फोनमार्फत छोटो कुराकानी भएको हो। सो क्रममा उनीहरूले एक–अर्कालाई चुनाव जितेकोमा बधाई दिएका थिए। तर त्यसबाहेक अन्य विषयमा विस्तृत छलफल भएको जानकारी बाहिर आएको छैन।
यसअघि प्रचण्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेट भएको भन्ने खबर सार्वजनिक भए पनि पार्टी स्रोतले त्यसलाई अस्वीकार गरेको छ । पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यका अनुसार बालेनसँग हालै कुनै भेटघाट भएको छैन।
प्रचण्ड र बालेनबीच अन्तिमपटक बालेनका बुवा रामनारायण शाहको निधनपछि समवेदना व्यक्त गर्न पुगेका बेला भेट भएको थियो।
यसैबीच प्रतिनिधिसभा निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच पनि पहिलोपटक भेट भएको छ। ओलीका पिता मोहनप्रसाद ओलीको निधनपछि श्रद्धाञ्जली दिन प्रचण्ड भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेका थिए। सोही क्रममा दुई नेताबीच छोटो भेटवार्ता भएको बताइएको छ।
पार्टी स्रोतका अनुसार निर्वाचनपछि नेपाली कांग्रेसका नेता गगन थापासँग भने प्रचण्डको कुनै भेटघाट वा संवाद भएको छैन।





























प्रतिक्रिया