वर्षापछि घट्यो काठमाडौंको वायु प्रदूषण, विश्व प्रदूषित सहरको सूचीमा पनि तल झर्‍यो

वर्षापछि घट्यो काठमाडौंको वायु प्रदूषण, विश्व प्रदूषित सहरको सूचीमा पनि तल झर्‍यो

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। केही दिनदेखि अत्यधिक बढेको वायु प्रदूषण वर्षापछि केही हदसम्म घट्न थालेको छ। एयर क्वालिटी इन्डेक्स (एक्युआई) का अनुसार बिहीबार मध्याह्नसम्म काठमाडौँको वायु गुणस्तर सूचकाङ्क १७८ पुगेको थियो भने शुक्रबार सोही समयमा घटेर १४९ मा झरेको छ।

प्रदूषणको स्तर घटेसँगै विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा पनि काठमाडौँको स्थान तल झरेको छ। बिहीबार दोस्रो स्थानमा पुगेको काठमाडौँ आज बाह्रौँ स्थानमा पुगेको तथ्याङ्कले देखाएको छ। पछिल्ला दिनमा मौसम धुम्मिएर धुलो तथा प्रदूषणका कण बढेका कारण उपत्यकाको हावा निकै प्रदूषित बनेको थियो।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार बिहीबार परेको वर्षाले हावामा रहेका धुलो र सूक्ष्म कण जमिनमा बस्न मद्दत गरेकाले प्रदूषणको मात्रा घटेको हो। उनका अनुसार हावाको बहावले पनि प्रदूषणका कण फैलिन र हट्न सहयोग पुगेको छ।

वातावरणविद् भुषण तुलाधरले वायु प्रदूषण दीर्घकालीन रूपमा नियन्त्रण गर्न पूर्वतयारी आवश्यक रहेको बताएका छन्। उनका अनुसार पातपतिङ्गर व्यवस्थापन, डढेलो नियन्त्रण, सवारीसाधनको धुवाँ परीक्षण र वातावरणीय मापदण्डको कडाइका साथ कार्यान्वयन गर्न सके प्रदूषण कम गर्न मद्दत पुग्छ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जिव अधिकारीका अनुसार बिहीबारदेखि मौसममा सुधार आएको छ। वर्षासँगै वायुमण्डलमा रहेका प्रदूषणका कण हट्न थालेका छन्। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनको नारायणी क्षेत्रमा १२६.२ मिलिमिटर मापन भएको छ। गण्डकी प्रदेशको लमजुङ घरेढुङ्गामा १०२.२ मिलिमिटर र गोरखाको बारपाकमा ९० मिलिमिटर वर्षा भएको छ।

कोशी प्रदेशको उदयपुर कटारीमा ९८.४ मिलिमिटर तथा झापाको चन्द्रगढीमा ९६.४ मिलिमिटर वर्षा मापन गरिएको छ।

वायु गुणस्तर सूचकाङ्कको मापदण्डअनुसार ० देखि ५० ‘राम्रो’, ५१ देखि १०० ‘मध्यम’, १०१ देखि १५० ‘अस्वस्थ’, १५१ देखि २०० ‘सबैका लागि अस्वस्थ’, २०१ देखि ३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ मानिन्छ। अहिले काठमाडौँको अवस्था अझै ‘अस्वस्थ’ श्रेणीमै रहे पनि केही सुधार देखिएको छ।

Logo