काठमाडौं।सम्झौताअनुसार समय सकिँदा पनि सम्बन्धित पक्ष सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री हटाउन थालेको छ।
सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत त्रिलोक संरचना प्रालिले ३९ वटा बस बिसौनीमा विज्ञापन राखेको थियो। सम्झौता सकिएपछि महानगरले २५ वटा बस बिसौनीमा सोलारसहित राखिएका विज्ञापन सामग्री हटाउन सुरु गरेको हो। महानगरले विसं २०६९ भदौ १४ मा प्रालिसँग पहिलोपटक सम्झौता गरेको थियो। त्यसपछि विसं २०७१ चैत २६ मा पहिलोपटक र २०७८ साउन २५ मा दोस्रोपटक सम्झौता नवीकरण गरिएको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए।
सम्झौताअनुसार काम नभएकाले विज्ञापन बोर्ड हटाउन तथा पुनः राख्न नदिने व्यवस्थाका लागि राजस्व विभागबाट पत्र प्राप्त भएपछि हटाउने काम सुरु गरिएको जोशीले बताए। विज्ञापन हटाउने कामलाई निरन्तरता दिइने उनले बताए।
पछिल्लो सम्झौताअनुसार महानगरले वृद्धि गरेको विज्ञापन करको दरअनुसार वार्षिक बुझाउनुपर्ने रकम निर्माण पक्षले नबुझाएको वरिष्ठ राजस्व अधिकृत प्रदीप कोइरालाले जानकारी दिए। उनका अनुसार विसं २०८२ वैशाख ११ गते कर तिर्न पत्राचार गरिए पनि हालसम्म रकम बुझाइएको छैन।
हालसम्म रु १६ लाख १३ हजार २२४ तिर्न बाँकी रहेको महानगरको भनाइ छ। आर्थिक वर्ष २०७८/७९ मा विज्ञापनको दर प्रतिस्क्वायर फिट रु ७०० रहेकोमा आव २०८०/८१ मा बढेर प्रतिस्क्वायर फिट रु १ हजार पुगेको थियो।
महानगरका अनुसार विज्ञापन कर रु १५ लाख ८३ हजार ९३९ र नपुग रोयल्टी रु २९ हजार २८५ अझै दाखिला हुन बाँकी रहेको छ।































प्रतिक्रिया