काठमाडौं उपत्यकाका उत्कृष्ट २० निजी विद्यालयहरु

काठमाडौं उपत्यकाका उत्कृष्ट २० निजी विद्यालयहरु

केन्द्रबिन्दु
1.07k
Shares

काठमाडौं । शिक्षा केवल अक्षरको ज्ञान वा विद्यालयको प्रमाणपत्र मात्र होइन यो त मानव जीवनको अन्धकारलाई चिरेर उज्यालो तर्फ डोर्‍याउने एउटा शाश्वत ज्योति हो । जसरी एउटा ढुङ्गालाई शिल्पीले नकुँदेसम्म त्यो मूर्ति बन्न सक्दैन, त्यसै गरीशिक्षा बिनाको मानव जीवनले पूर्णता पाउन असम्भव छ। व्यक्तिको आन्तरिक क्षमतालाई प्रस्फुटन गराई उसलाई विवेकशील, मर्यादित र जिम्मेवार नागरिक बनाउन शिक्षाको भूमिका अपरिहार्य रहन्छ । भनिन्छ नि, एउटा विद्यालय खोल्नु भनेको एउटा जेल बन्द गर्नु सरह हो ।

वैशाखदेखि सुरु हुने शैक्षिक सत्रका लागि विद्यालयहरुले भर्नाको प्रकृया अगाडि बढाइसकेका छन् । आफ्ना बालबालिकाको उज्वल भविष्यको जग बसाल्न उचित विद्यालयको छनौट गर्नु प्रत्येक अभिभावकका लागि एक महत्त्वपूर्ण र चुनौतीपूर्ण निर्णय हो। शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, र दक्ष शिक्षकहरूको उपलब्धता मात्र नभई, विद्यालयको वातावरणले बच्चाको चारित्रिक र संवेगात्मक विकासमा कस्तो प्रभाव पार्छ भन्ने कुरामा विशेष ध्यान दिनु आवश्यक छ । यसै सन्दर्भलाई मध्यनजर गरी हामीले अभिभावकहरुलाई विद्यालय छनौट गर्न सहज होस् भन्ने उदेश्यले काठमाडौं उपत्यकाका केही उत्कृष्ट विद्यालयको बारेमा उल्लेख गर्ने प्रयास गरेका छौं । हामीले शिक्षण सिकाई, पाठ्यक्रम, सिकाईमा प्रविधिको प्रयोग, भौतिक पूर्वाधार, खेल मैदान, विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराइने जस्ता विषयवस्तुलाई आधार बनाएर विद्यालयको छनौट गरेका छौं । यो र्याङ्किङका आधारमा राखेका भने होइनौं ।

प्रस्तुत छ, काठमाडौं उपत्यकाका केही उत्कृष्ट विद्यालयहरु

सेन्ट जेभियर्स स्कुलजावलाखेल

ललितपुरको जावलाखेलमा अवस्थित सेन्ट जेभियर्स स्कुलले अन्तर्राष्ट्रियस्तरको शिक्षा दिँदै आएको छ । यस स्कुलले २०७९ देखि पठन पद्धतिलाई थप परिस्कृत र प्रयोगात्मक बनाउँदै लगेको छ । विद्यालयले क्याम्ब्रिज पाथवेजको पाठ्यक्रम लागू गरेको छ । उक्त पाठ्यक्रम कक्षा १ देखि ७ सम्म लागू गरेको हो ।

क्याम्ब्रिज पाथवेजको पाठ्यक्रम यस्तो पाठ्यक्रम हो, जुन विश्वभरका १६० देशका १० हजार बढी विद्यालयमा अध्यापन गराइन्छ । कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको यस विद्यालय बास्केटबल कोर्टदेखि विभिन्न भौतिक पूर्वाधारले सुव्यवस्थित छ । कुनै विद्यार्थी खेलकुदमा रुचि राख्छन् भने उनीहरुको लागि दक्ष प्रशिक्षकको व्यवस्था पनि गरिन्छ ।

२४ सय विद्यार्थीलाई अध्ययन गराइरहेकाे सेन्ट जेभियर्सले हरेक वर्ष सतप्रतिशत नतिजा हासिल गरेको रेकर्ड छ ।

पर्याप्त स्रोत–सामग्रीसहितको पुस्तकालय, विज्ञान अनि कम्प्युटर प्रयोगशालादेखि चित्रकला, वाद्यवादन, नृत्य आदिको छुट्टाछुट्टै व्यवस्था समेत रहेको छ ।

२४ सय विद्यार्थीलाई अध्ययन गराइरहेकाे सेन्ट जेभियर्सले हरेक वर्ष सतप्रतिशत नतिजा हासिल गरेको रेकर्ड छ । विद्यालयले २३ देखि १५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । कक्षा १ देखि ३ सम्म वार्षिक शुल्क ६१ हजार ४ सय ४० रुपैयाँ निर्धारण गरिएको छ । कक्षा ४ र ५ को ६१ हजार ६ सय ८० रुपैयाँ, कक्षा ७ र ८ को ६५ हजार ४ सय रुपैयाँ तोकिएको छ भने कक्षा ९ र १० को ७५ हजार ९ सय ६० रुपैयाँ शुल्क तोकिएको छ ।

बुढानिलकण्ठ स्कुलबुढानिलकण्ठ

शैक्षिक क्षेत्रमा लामो यात्रा तय गरिसकेको बुढानिलकण्ठ स्कुल गुणस्तरीय शिक्षामा निकै प्रतिबद्ध छ । ५७४ रोपनी क्षेत्रफलको सिमाभित्र रहेको यस स्कुलमा ५ देखि १२ कक्षा सम्म पढ्ने ११ सयको हाराहारी विद्यार्थी अध्ययनरत छन् । यस स्कुल पूर्ण रुपमा आवासीय भएकाले विद्यार्थीसँगै शिक्षक, कर्मचारी पनि आवासीय छन् । यस स्कुलमा कक्षा ५ देखि अध्ययन सुरु हुन्छ । कक्षा ५ मा भर्ना गर्दा ४० जना विद्यार्थी विभिन्न जिल्लाबाट छनौट गरि पूर्ण रुपमा छात्रवृत्तिमा पढाइन्छ भने ९६ जना विद्यार्थी शुल्क तिरेर अध्ययन गर्छन् ।

बुढानिलकण्ठ स्कुलको गेटबाट प्रवेश गर्ने वित्तिकै मनै लोभ्याउने पर्यावरण तथा भौतिक संरचनाले एक किसिमको छुट्टै अनुभूति दिलाउँछ ।

स्थापना कालमा ब्रिटिसको पाठ्यक्रम पढाइ हुन्थ्यो । प्रिन्सिपल, शिक्षक पनि ब्रिटिस नै थिए । किताब स्कटल्यान्डको थियो । बोर्ड परीक्षा भएकाले कक्षा ८ र १० मा नेपाली कोर्सअनुसार विद्यार्थीलाई तयार गरिन्थ्यो ।१९९४ मा बेलायतले पूर्ण रूपमा नेपाललाई विद्यालय हस्तान्तरण गर्यौं । त्यसपछि भने नेपाली पाठ्यक्रमअनुसार नै पठनपाठन भइरहेको छ । बुढानिलकण्ठ स्कुल २०८१ को शिक्षा दिवसमा सम्मानित भएको थियो । एसएलसीमा बोर्ड फस्ट भएको उक्त विद्यालयले अहिलेसम्म नतिजामा वर्चस्व कायम राखेको छ ।

स्कुलको गेटबाट प्रवेश गर्ने वित्तिकै मनै लोभ्याउने पर्यावरण तथा भौतिक संरचनाले एक किसिमको छुट्टै अनूभूति गराउँछ । स्वच्छ वातावरण, पर्याप्त पूर्वाधार, प्रसस्त खेल मैदानहरु, तरकारी खेती, बेकरी उद्योग, गाईपालनले बुढानिलकण्ठ स्कुलको हाताभित्रै पुरै नेपाल अटेको जस्तो अनुभूति हुन्छ ।

प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्यूम स्कुलखुमलटार

सन २००८ मा स्थापना भएको प्रिमियर इन्टरनेशनल स्कुल नेपालकै पहिलो आईबी ( इन्टरनेशनल ब्याकलोरेट)स्कुल हो । त्यति मात्र होइन उक्त स्कुल नेपालकै एक मात्र आईबी कन्टिन्यूम स्कुलको रूपमा स्थापित छ । आईबी शिक्षादर्शन (आईबी फिलोसफि) प्रिमियर इन्टरनेशनल स्कुलको मुख्य उदेश्य शिक्षण दृष्टिकोण हो, जसले असल नागरिक, स्वतन्त्र सोच, अनुसन्धान, र जीवनपर्यन्त सिकाइलाई प्रोत्साहित गर्छ । यस विद्यालयले विद्यार्थीहरूलाई बहुआयामिक सोच, चुनौतीहरूको सामना गर्ने क्षमता, र जिम्मेवार नेतृत्व विकास गर्न प्रेरित गर्छ ।

प्रिमियर इन्टरनेशनल नेपालको एक मात्र आईबी कन्टिन्यूम स्कुल हो, जसले पीवाईपी, एमवाईपी, र डीपी (डिप्लोमा प्रोग्राम) सम्मको सम्पूर्ण आईबी यात्रा प्रदान गर्छ ।

प्रिमियर इन्टरनेशनल स्कुलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा विद्यार्थीलाई सहभागी गराउँदै उच्चस्तरीय खेलकुद एक्सपोजर प्रदान गर्छ । विद्यालयमा बास्केटबल, फुटसल, टेबल टेनिस, क्रिकेट, तेक्वान्दो जस्ता खेलहरुमा विद्यार्थीलाई सहभागि गराइन्छ । प्रशिक्षित कोचहरूको मार्गदर्शनमा विद्यार्थीहरू शारीरिक सन्तुलन, टिम वर्क, अनुशासन, र प्रतिस्पर्धात्मक भावना विकास गर्न मद्दत पुर्‍याएको छ ।

नेपालमै बसेर अन्तर्राष्ट्रिय स्तरको शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि प्रिमियर इन्टरनेशनल सर्वाेत्तम विकल्प हो । यहाँ विश्वस्तरीय पूर्वाधार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतिस्पर्धा, आईबी – प्रशिक्षित शिक्षकहरू, र समग्र (होलिस्टिक) विकासमा केन्द्रित पाठ्यक्रम उपलब्ध छन् । विद्यालयमा भाषा सिकाइको सुविधाहरू पनि प्रदान गरिन्छ, जसले प्रत्येक विद्यार्थीलाई शिक्षाको उत्कृष्ट अवसरहरू सुनिश्चित गर्छ ।

एनसीसीएस स्कुल, चण्डोल

शिक्षाको नाममा विद्यालयले विद्यार्थीलाई कापी किताबको भारी झोला बोकाउने गर्छन् । ५ वर्षको विद्यार्थीलाई आफ्नो उमेरभन्दा बढी तौलको झोला बोक्नुपर्ने बाध्यता हुन्छ । तर, चण्डोलमा अवस्थित नेशनल क्रीएटीभ को-एजुकेशनल स्कुल (एनसीसीएस) ले विद्यार्थीहरुको बोझलाई कम गर्ने उद्देश्य राखी हल्का झोलाका मान्यतालाई अघि सारेर विद्यार्थीलाई पढाई बोझ होइन भन्ने मान्यता सिकाएको छ ।

स्कुलले स्टिममा आधारित शिक्षण पद्दतिलाई आत्मसात गरेको छ । स्टिम शिक्षा एक यस्तो विधि हो, जसले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई विद्यार्थीहरुको जिज्ञासा, संवाद र आलोचनात्मक सोचलाई मार्गदर्शन गर्ने प्रमुख आधारको रुपमा प्रयोग गर्छ । गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै रुपान्तरणकारी सिकाइको अभियानमा नयाँ आयाम स्थापित गर्न एनसीसीएस सफल भएको शैक्षिक संस्था हो ।

स्कुलले विद्यालयको शैक्षिक विकाससँगै समाजका लागि उत्कृष्ट जनशक्ति तयार पार्ने मुख्य लक्ष्य लिएको छ । नविनतम शिक्षण प्रणालीलाई आत्मसात गर्दै देशको शिक्षा क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्न एनसीसीएस स्कुलको महत्वपूर्ण देन रहेको छ ।

सैद्धान्तिक ज्ञान मात्र पर्याप्त हुँदैन व्यावहारिक ज्ञान पनि आवश्यक हुन्छ भन्ने कुरालाई मध्यनजर गर्दै स्कुलले विद्यार्थीहरूलाई च्याउ खेती, वक्तित्वकला, गणित ओलम्पियाड, कविता वाचन, निबन्ध लेखन, सङ्गीत, नाटक, चित्रकलामा समेत विद्यार्थीलाई सहभागी गराउँदै आएको छ । त्यसैले त एनसीसीएस स्कुल विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको छ ।

त्यति मात्र होइन, विद्यार्थीको सर्वाङ्गीण विकासका लागि एनसीसीएसले विद्यार्थीको क्षमता अनुसार खेलकुदमा सहभागी गराउँछ । स्कुलमा विद्यार्थीहरू आफ्नो अभिरुचि अनुसार तेक्वान्डो, पौडी, फुटबल,बास्केटबल, टेबल टेनिस, ब्याडमिन्टन, पिकलबल, क्रिकेट, चेस लगायतका खेलहरु खेल्न सक्छन् ।

एनसीसीएस स्कुल विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै आएको छ ।

समय सुहाउँदो अत्याधुनिक कक्षाकोठा, स्मार्ट कम्प्युटर, विज्ञान प्रयोगशाला, पठनीय वातावरण भएको पुस्तकालय, पौष्टिक खानाको स्वच्छ क्यान्टिनको व्यवस्था रहेको छ । साथै स्कुलले सुरक्षाको लागि सीसीटीभी जडान गरिएको छ । जसले गर्दा अभिभावकहरुले आफ्ना बालबालिकाको सुरक्षाको चिन्ता लिनुपर्दैन ।

भनिन्छ, जति धेरै भाषा जानिन्छ त्यति धेरै ज्ञान आर्जन गर्न सकिन्छ । यसैलाई मध्यनजर गर्दै एनसीसीएसले विद्यार्थीलाई नेपाल भाषा, नेपाली, चिनियाँ, अङ्ग्रेजी भाषा पढाउँछ । यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पाठ्यक्रममा आधारित अध्ययन मात्र गर्दैनन विभिन्न भाषा पनि सिक्दछन् ।

स्कुलले विद्यार्थीहरुको सहभागितामा विभिन्न प्रदर्शन गर्ने गरेको छ । स्कुलले महिनाको दोस्रो र चौथो आइतबार अभिभावक-शिक्षक बैठक सञ्चालन गर्दै आएको छ । साथै एनसीसीएसले शिक्षक प्रशिक्षण तथा व्यवसायिक विकास कार्यक्रमहरुमा पनि जोड दिएको छ । त्यसैले त यस स्कुलले ४.० जीपीए सहित १०० प्रतिशत नतिजा ल्याउन सफल भएको छ । सीएसएसमा आधारित मूल्याङ्कन विधिलाई अपनाएको यस स्कुलले विशेष कक्षा, डे बोर्डिङको सुविधा, कारखाना कक्षा सञ्चालन गर्दै आएको छ । यस स्कुलले इन्टरनेशनल अर्गनाइजेशन फर स्टन्डराइजेशन (आइएसओ) र इन्टरनेशनल स्कुल अवार्ड २०२३ (आईएसए) प्राप्त गरिसकेको छ ।

रातो बंगला स्कुलपाटन

ललितपुरको पाटनढोकास्थित रातो बंगला स्कुल सन् १९९२ मा स्थापना भएको हो । प्रत्येक वर्ष रातो बंगला स्कुलले किन्डर गार्टेनदेखि कक्षा ११ सम्म विद्यार्थी भर्ना लिन्छ । कक्षा १ मा ६० जनाले भर्ना पाउँछन् । कक्षा १ देखि १० सम्म ६ सय विद्यार्थी पढाउने स्कुलको क्षमता छ । विद्यालयले सोसियल इमोस्नल डेभलपमेन्ट भनेर काउन्सिलरको सुविधा पनि राखेको छ । जसबाट विद्यार्थीलाई मानसिक र शारीरिक रूपमा जाँच गर्ने गरिन्छ ।

यो स्कुलमा भर्ना भएका विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई अन्य शारीरिक तथा मानसिक ज्ञानको पनि शिक्षा दिइन्छ । पढाउनु,लेखाउनु मात्र स्कुलको काम होइन, सत्यम यसको धर्म हो, पोजेटिभिटी, ग्रेट, सोसेल कमिटमेन्ट, लर्निङ क्रियटिभिटी जस्ता कुरामा विद्यालयले प्राथमिकतामा राख्ने गर्छ । बालबालिकाको रुचिलाई अध्ययनगरी सिकाउने धारणालाई रातो बंगलाले अनुसरण गरेको छ ।

२-४ वर्षको देखि १०, १६ वर्षसम्मका बालबालिकाहरूको रुचि के छ ? उसले कसरी शिक्षक, साथीभाईसँग अन्तक्रिया गर्छ ? घरबाट के कुरा सिकेर आउँछ ? सबैभन्दा पहिले यी कुरालाई हेरिन्छ र सोहि अनुसार विद्यार्थीलाई सिकाईन्छ । रातो बंगलामा मासिक शुल्क ६० देखि ७० हजार रुपैयाँको हाराहारीमा छ ।

एलआरआई स्कुलकलंकी

कलंकीस्थित लर्निङ रियल्म इन्टरनेशनल स्कुल (एलआरआई)ले समय सापेक्ष शिक्षामा जोड दिँदै आएको छ । ट्रष्टमार्फत २०४४ सालमा स्थापित नेपालकै पहिलो ट्रष्टमार्फत सञ्चालन भैरहेको उक्त स्कुलमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ । विद्यार्थीलाई किताबी ज्ञानबाहेक अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको एलआरआई स्कुलमा पढेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा स्थापित छन् ।

विद्यार्थीको समग्र विकासलाई ध्यान दिने एलआरआई स्कुल उपत्यकाको चर्चित विद्यालयमध्ये पर्छ । घर समाजमा अनुशासित र कर्तव्यनिष्ठ नागरिक उत्पादनमा सहयोग पुर्याउनु विद्यालयको प्रमुख लक्ष्य छ । एलआरआई बाल संसद्को अभ्यास गर्ने नेपालकै पहिलो विद्यालय हो । विद्यालयले अष्ट्रेलियाको संसदको हुबहु सिस्टम ल्याएको छ । बाल संसद अभ्यासमा सभामुख, उपसभामुखदेखि कर्मचारी र सांसदहरु बस्ने व्यबस्था समेत मिलाईको छ ।

विद्यार्थीलाई किताबी ज्ञानबाहेक अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको एलआरआई स्कुलमा पढेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा स्थापित छन् ।

स्कुलमा डिजिटल क्लास रूम, पुस्तकालय, डिजिटल ल्याब, साइन्स ल्याब, फिजिक्स ल्याब, आर्ट–क्राफ्ट ग्यालरी, मटेरियल आर्ट, ट्रान्सपोर्टेसन, स्कुल पार्लियामेन्ट, स्कुल अडोटिरियम, चाइल्ड सेफ्टी, फस्ट–एड क्लिनिक लगायतका सेवा सुविधा छन् ।

काठमाडौं महानागरपालिकाले सामुदायिक विद्यालयमा लागु गरेको बुक फ्रि-फ्राइडे पनि यस स्कुलले लागू गरेको छ । जसअन्तर्गत प्लम्बिङ ल्याब, ईलेक्ट्रिक ल्याब, सिलाई बुनाई ल्याब, सञ्चालनमा ल्याएको छ । स्थानीय तहले सिफारिस गरे अनुसार विद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

एलआरआईमा कक्षा २ देखि १२ सम्ममा चाईनिज भाषाको कक्षा समेत सञ्चालन हुन्छ । जुन अतिरिक्त क्रियाकलाप अन्तर्गत पठनपाठन हुँदै आएको छ । स्कुलले शिक्षण सिकाईमा धेरै प्रविधिको प्रयोग गर्ने स्कुलअन्तर्गत २०२४ को आईसिटी अवार्ड पाउनुका साथै उत्कृष्ट व्यवस्थापन गरेको भन्दै काठमाडौं महानगरले सम्मान समेत गरेको थियो ।

द ब्रिटिस स्कुलसानेपा

ललितपुरको सानेपामा रहेको द ब्रिटिस स्कुलले बेलायती शिक्षण पद्धतिबाट अध्यापन गराउँदै आएको छ । यो यस्तो स्कुल हो जहाँ नेपाली विद्यार्थीले पनि शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन लेटर लिएर मात्र अध्ययन गर्न पाउँछन् ।

ब्रिटिस पद्धतिमा अध्यापन गराउँदै आएको उक्त स्कुलले विशेषगरी ब्रिटिस नागरिकका छोराछोरीलाई लक्षित गरी सञ्चालनमा ल्याएको हो । त्यसैले भर्नामा पनि नेपालमा कार्यरत ब्रिटिस र कमनवेल्थ नागरिकका छोराछोरीलाई प्राथमिकतामा राखिन्छ, तर अन्यलाई बन्देज गरिने भने होइन ।

यहाँ प्रि-स्कुलदेखि कक्षा १२ सम्म भर्ना लिइन्छ । कक्षा १ मा भर्ना हुन ब्रिटिसको मान्यता अनुसार ६ वर्षदेखि ६ वर्ष ६ महिना सम्म उमेर पुगेको हुनुपर्छ । त्यसैगरी कक्षा १२ मा पुग्दा सम्म उसको उमेर १७ वर्ष ६ महिना ननाघेको हुनुपर्छ । ५०० सय विद्यार्थी अध्ययनरत यस विद्यालयमा विद्यार्थीले शुल्क पनि पाउण्डमा तिर्नुपर्छ । वर्षभरिमा शिक्षण शुल्कबापत प्रि-स्कुलमा ४ हजार ७ सय ८० पाउन्ड, नर्सरीदेखि कक्षा सम्म ९ हजार १२० पाउन्ड, कक्षा ५ सम्म ११ हजार ५२० पाउन्ड र त्यसभन्दा माथि कक्षा १२ मा १२ हजार १ सय ८० पाउन्ड शुल्क निर्धारण गरिएको छ ।

रुपिज इन्टरनेशनल स्कुलबाफल

सन् १९८२ स्थापित रुपिज इन्टरनेशनल स्कुलमा अंग्रेजी माध्यमबाट अध्यापन हुन्छ । भारतीय बोर्ड सीबीएसई तथा कक्षा ए लेभल क्याम्ब्रिज विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस स्कुलले अन्तर्राष्ट्रिय तथा स्वदेशी विद्यार्थीलाई लक्षित गर्दै स्थापना भएको हो ।

बाफलमा रहेको यस स्कुलमा प्रत्येक शैक्षिक सत्रमा कक्षा १ मा २० सिट क्षमता छ । त्यस्तै, कक्षा १ देखि १० सम्ममा २ सय १० सिट क्षमता छ । अहिले ३ सय ५० जना विद्यार्थी अध्ययनरत छन् । रुपिज स्कुलले २५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । अर्को, महत्वपूर्ण पक्ष, रुपिज स्कुल गुणस्तरीय शिक्षाका कहिले पनि सम्झौता गर्दैन र त लामोसमयदेखि शतप्रतिशत नतिजा हासिल गर्न सफल छ । यस स्कुलले पनि १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ ।

अक्षरा स्कुलकागेश्वरी मनाेहरा

२०६७ मा स्थापना भएको अक्षरा स्कुलको उदेश्य भनेकै विद्यार्थीलाई संस्कारयुक्त शिक्षा दिनु हो । सुन्दर, शान्त, वातावरणमा काठमाडौंको कागेश्वरी मनहरामा २३ रोपनी क्षेत्रफलमा फैलिएको अक्षरा स्कुल सन् २०११ मा स्थापना भएको हो।

अक्षराले स्थापनाकालदेखि नै संस्कारयुक्त शिक्षाको चिन्तन गर्दै आएको छ । अक्षरा, संकारयुक्त शिक्षाको धारणा बोकेको नेपालकै पहिलो स्कुल हो भन्दा फरक नपर्ला । सुरुवाती चरणमा कक्षा १ देखि ५ सम्म ८० जना विद्यार्थीले अध्ययन गरेका थिए । हाल उक्त स्कुलमा नर्सरीदेखि कक्षा १० सम्म ७ सय २० जना विद्यार्थी अध्ययनरत छन्

२० रोपनीमा फैलिएको अक्षरा स्कुलमा विद्यार्थीका लागि बास्केटबल कोर्ट, फुटबल ग्राउण्डको व्यवस्थासँगै खुला क्षेत्रमा रुख रोपेर हरियाली वातावरणको निर्माण गरिएको छ । शिक्षण सिकाइका लागि, अन्वेषणमा आधारित विद्यार्थी केन्द्रित शिक्षण विधिका लागि इन्टरनेट, स्मार्ट टी भी, प्राजेक्टरको प्रयोग गरिन्छ ।

साथै भर्नामा स्थानीय विद्यार्थीलाई प्राथमिकतामा राख्दै आएको छ । यस स्कुलले प्राथमिक तहदेखि कक्षा ७ सम्म संस्कृत भाषा पढाउँदै आएको छ । स्थानीय तहले सिफारिस गरे अनुसार १० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको अक्षरा स्कुलको एसइईको नतिजामा ८० प्रतिशत विद्यार्थीले ‘ए प्लस’ र ‘ए’ ग्रेड ल्याउने गरेका छन् ।

जेभियर इन्टरनेशनल स्कुल, चावहिल

नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय अध्यापन गराउने शैक्षिक संस्था हो, जेभियर इन्टरनेशनल स्कुल । नेपाली विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने नागरिक बनाउने उदेश्यका साथ क्याम्ब्रिज पाठ्यक्रम लागू गरेको छ । क्याम्ब्रिज पाठ्यक्रमले विद्यार्थीलाई नयाँ नयाँ सम्भावना खोज्ने र त्यसको लागि ज्ञान सीप लिन सक्ने वातावरण सिर्जना गर्छ ।

विद्यार्थीले स्कुलभित्र छिरेपछि कुनै कुराको अभाव र कमीको महसुस नगरुन् भन्नेमा जेभियर इन्टरनेशनल स्कुल व्यवस्थापनको ध्यान केन्द्रित छ ।

स्कुलले परम्परागत किताबी ज्ञानको सट्टा नवीन ज्ञान र सीपबाट विद्यार्थीलाई सुसज्जित गर्न कम्प्युटर शिक्षामा विशेष ध्यान दिएको छ । त्यस्तै, शिक्षण सिकाइलाई दीर्घकालीन र उपलब्धिमूलक बनाउन संगीत र नृत्य कक्षाको पनि व्यवस्था छ ।

अत्याधुनिक विज्ञान प्रयोगशााला, खेलकुदकममा लागि अनुभवि प्रशिक्षक, स्वास्थ्य सुरक्षाका लागि नर्सको व्यबस्था रहेको छ । २०८० को शैक्षिक सत्रदेखि विद्यालय पूर्ण रूपमा नयाँ भवनमा नयाँ शैक्षिक अवधारणा र नयाँ अध्यापन शैलीसहित पढाउँदै आएको छ । हरेका कक्षामा दुई वटा सेक्सन रहेका छन् । त्यस्तै, कक्षा १० सम्म ६ सय विद्यार्थीलाई मात्र पढाउने कुलले कोटा निर्धारण गरेको छ । निजी शैक्षिक संस्थाहरुमध्ये शिक्षा क्षेत्रमा योगदान पुर्याउन अग्रणी भूमिका निर्वाह गरेको छ ।

विद्यालयको नयाँ संरचनामा प्रविधि मैत्रि शिक्षा प्रदान गर्ने मात्र नभई विद्यार्थी मैत्री खेल मैदान, कक्षाकोठा, भर्याङ, शौचालय, स्वच्छ क्यान्टिनको व्यबस्था रहेको छ । विद्यार्थीले स्कुलभित्र छिरेपछि कुनै कुराको अभाव र कमीको महसुस नगरुन् भन्नेमा विद्यालय व्यवस्थापनको ध्यान केन्द्रित छ । त्यसैले पनि जेभियर इन्टरनेशनल स्कुल सबैको रोजाईमा पर्ने गरेको छ ।

लिटिल एन्जल्सललितपुर

विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले सन् १९८१ मा लिटल एन्जल्स स्कुलको स्थापना भएको हो । सन् १९९७ देखि ‘प्लस टु’ कार्यक्रम सञ्चालनमा ल्याएको यस स्कुलमा विज्ञान र व्यवस्थापन संकायको पढाइ हुन्छ । शिक्षक र विद्यार्थीबीच गाढा सम्बन्ध सिकाइको पूर्वसर्त नै हो भन्ने धारणालाई आत्मसात गर्दै लिटिल एन्जल्सले पूर्णकालीन शिक्षकबाट विद्यार्थीलाई अध्यापन गराउँदै आएको छ । उत्कृष्ट भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, शान्तिपूर्ण शैक्षिक वातावरणका कारण पनि लिटल एन्जल्स अन्य स्कुलभन्दा फरक छ ।

आधुनिक कक्षाकोठासहितको यो संस्थाले श्रव्यदृश्य माध्यमबाट प्रभावकारी रूपमा पठनपाठन गराउँदै आएको छ । एल ए एजुकेशन ग्रुपअन्तर्गत १० शैक्षिक संस्थामा १७ हजार भन्दा बढी विद्यार्थीहरु र १५ सय जना कर्मचारीहरु कार्यरत छन् । यस स्कुलले गुणस्तरीय शिक्षा, अत्याधुनिक पूर्वाधार र ठुलो संख्यामा विद्यार्थी भर्ना हुने हिसावले उत्कृष्ट रहेको छ ।

एन्जल्स स्कुलले मासिक शुल्क १० हजार रुपैयाँ निर्धारण गरेको छ ।

ललितपुरमा रहेको यस स्कुल नतिजामा सधैं अग्र स्थानमा देखिन्छ । लिटर एन्जल्सले जेहेनदार, निम्न वर्ग, दलित, पिछडिएका १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

काठमाडौं वर्ल्ड स्कुलभक्तपुर

काठमाडौं वर्ल्ड स्कुल भक्तपुरको सूर्यविनायकमा अवस्थित छ । करिब ५५ रोपनीमा फैलिएको यो स्कुलले अहिले शिक्षामा फरकपन ल्याउने जमर्काे गरेको छ । २०७२ सालमा डा. खगेन्द्रप्रसाद ओझाले ल्याएको अवधारणा अनुसार स्कुल २०७५ सालदेखि सञ्चालनमा आएको हो । उनले नेपालमा विदेशी विद्यार्थी आकर्षित गर्ने र शिक्षाका नाममा विदेशिरहेको ठूलो धनराशी रोक्ने अवधारणासहित यो स्कुल सञ्चालनमा ल्याएका हुन् । जसले नेपालमा उच्चस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ ।

यो स्कुलले विद्यार्थीहरूलाई विश्वव्यापी स्तरको शिक्षा प्रदान गर्दै उनीहरूको बौद्धिक, सामाजिक, शारीरिक र नैतिक विकासमा योगदान पुर्याउँदै आएको छ । विद्यार्थीलाई पाठ्यक्रममा मात्र सीमित नराखेर खेलकुद, संगीत, नृत्य, कला, र अन्य सिर्जनात्मक क्रियाकलापहरूमा समेत संलग्न गराइन्छ । यसले विद्यार्थीहरूलाई सम्पूर्ण रूपमा विकसित हुन मद्दत पुर्याउँछ ।

सीजी होल्डिङ्सको सहकार्यमा भक्तपुरको गुण्डुमा सञ्चालित यस स्कुलले कक्षा १ देखि ९ र ११ कक्षामा नयाँ विद्यार्थी भर्ना लिन्छ ।

पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, र अन्य शैक्षिक स्रोतहरू विद्यार्थीहरूको प्रयोगका लागि उपलब्ध छन् । यसले उनीहरूको शैक्षिक यात्रा अझ समृद्ध बनाएको छ । यस विद्यालयको कुल विद्यार्थी क्षमता १,३९० रहेको छ । जसमा ४०० विद्यार्थीलाई विद्यालय होस्टेलमा बस्नको लागि व्यवस्था गरिएको छ ।

यस विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्यापन गराइन्छ ।

सीजी होल्डिङ्सको सहकार्यमा भक्तपुरको गुण्डुमा सञ्चालित यस स्कुलले कक्षा १ देखि ९ र ११ कक्षामा नयाँ विद्यार्थी भर्ना लिन्छ । यस स्कुलले वार्षिक र भर्ना शुल्क गरेर एक लाख सात हजार रुपैयाँ, मासिक शुल्क ४८ हजार ७ सय निर्धारण गरिएको छ । १ कक्षाको विद्यार्थीका लागि मासिक शुल्क ३८ हजार ७ सय, कक्षा २ देखि ४ सम्मका लागि ४३ हजार ७ सय, कक्षा ५ देखि १० सम्मका लागि ४४ हजार ७ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

संस्कृति इन्टरनेशनल स्कुलस्वयम्भू

संस्कृति इन्टरनेशनल स्कुल स्वायत्त निजी शैक्षिक संस्था हो । यस स्कुलले संस्कारयुक्त शिक्षा भन्ने नारालाई आत्मसात गर्दै अध्यापन गराउँदै आएको छ । नेपालको परम्परागत शैक्षिक प्रणालीलाई परिवर्तन गर्दै शैक्षिक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न समर्पित रहेको छ ।

स्कुलले बालबालिका केन्द्रित अध्ययन र उनीहरुको सर्वांगीण विकासलाई महत्व दिँँदै शिक्षाको गुणस्तरमा सुधार ल्याउने लक्ष्य लिएको छ । संस्कृति इन्टरनेशनल स्कुल प्रतिष्ठित फिल्डवर्क एजुकेशन युकेको पाठ्यक्रम शैली अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम (आईपीसी) को आधिकारिक मान्यता प्राप्त गर्ने दक्षिण एशियाकै पहिलो स्कुल पनि हो । यो मान्यता फिल्डवर्क एजुकेशन युकेले व्यक्तिगत सिकाईलाई प्रोत्सहान गर्न र स्पष्ट अध्ययन प्रक्रियामा केन्द्रित रहेर प्रत्येक विषयमा विशेष लक्ष्य हासिल गर्न विस्तृत, विषयगत, रचनात्मक पाठ्यक्रम अनुसरण गर्ने विद्यालयलाई प्रदान गर्ने गर्दछ ।

स्कुलले तीन वर्ष अगााडि ‘फ्याब ल्याब’ को स्थापना गरि विद्यार्थीहरुलाई आईटि, रोबटिक्स, इन्जिनियरिङ जस्ता विधामा प्रयोगात्मक शिक्षा उपलब्ध गराउँदै आएको छ । संस्कृति स्कुल ‘फ्याब ल्याब’ स्थापना गर्ने नेपालकै पहिलो स्कुल हो । यस स्कुलले जेहेनदार, निम्न वर्गका, पिछडिएका वर्गका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । शिक्षामा नयाँपन ल्याउन प्रयत्नशिल रहने, विद्यार्थीलाई शिक्षासंगै संस्कार प्रदान गर्ने, समय सुहाउँदो शिक्षाका लागि आइटिमा केन्द्रित रहेकोले संकृति इन्टरनेशनल स्कुल विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको छ ।

पाठशाला स्कुलथापागाउँ

शिक्षाको अन्तिम उद्देश्य वर्तमान समाजमा डाक्टर, इञ्जिनियर वा प्राविधिक बन्नु हो । यहि उदेश्यलाई अनुसरण गर्दै पाठशाला स्कुलले पठनपाठन गराउँदै आएको छ । राष्ट्रको वर्तमान आवश्यकता भनेको शिक्षालाई अर्थपूर्ण जीवन र पूर्ण रूपमा विकसित समाजको लागि नेतृत्व गर्नु हो । यो तथ्यलाई शिक्षा क्षेत्रमा नजरअन्दाज गरिएको छ ।

नयाँ बानेश्वरको थापागाउँ र ललितपुरको बागडोलमा सञ्चालित यस स्कुलले पठनीय वातावरणमा विद्यार्थी पठनपाठन गराउँदै आएको छ । यस स्कुलले कक्षा १ का लागि मासिक १८ हजार रुपैयाँ शुल्क तोकेको छ भने खाजा खर्च, यातायात गरी ३५ सय रुपैयाँ र भर्ना वापत ६० हजार रुपैयाँ लिने गरेको छ ।

काठमाडौं लिंकन स्कुलतार्केश्वर

तार्केश्वरमा अवस्थित काठमाडौं लिंकन स्कुलले प्रोगेसिभ र अन्तर्राष्ट्रियस्तरको शिक्षालाई आत्मसात गरेको छ । निजी अर्थात् संस्थागत विद्यालयहरू जहाँ अभिभावक लुटिन्छन भन्ने भाष्य निर्माण भएको छ यस भाष्यलाई काठमाडौं लिंकन स्कुलले गलत सावित गरिदिएको छ । काठमाडौं लिंकन यस्तो स्कुल हो जहाँ एक पटक कक्षा १ मा भर्ना गर्दा फेरि भर्ना गर्नुपर्दैन । यहाँ प्रवेश गर्दा एक पटक भर्ना भएपछि अर्को वर्षबाट भर्ना शुल्क लिने गरिएको छैन ।

राम्रो पढाई, स्वस्थ्य खाना, रमणीय वातावरण, रुचि अनुसारको खेल खेल्न पाउनुले विद्यार्थीको रोजाईमा काठमाडौं लिंकन स्कुल पर्ने गरेको छ ।

शान्त वातावरणमा रहेको काठमाडौं लिंकन स्कुल अत्याधुनिक भवनको फराकिलो कक्षाकोठाका हरेक कक्षामा प्रि-स्कुलमा १५ जना र कक्षा १ देखि १० सम्म २५ जना विद्यार्थीलाई अध्यापन गराउँदै आएको छ । स्कुल आफैंले क्यान्टिन सञ्चालन गरी विद्यार्थीलाई स्वस्थ्य खाना उपलब्ध गराउँदै आएको छ ।

यस स्कुलले विद्यार्थीका लागि नर्सिङ सेवा पनि दिँँदै आएको छ । विद्यालय परिसरमै ३ वेड सहितको अक्सिजनसम्म दिन सक्ने सुविधा रहेको छ । ६५० जना विद्यार्थीलाई अध्यापपन गराईरहेको काठमाडौं लिंकन स्कुलले स्थानीय तहले सिफारिस गरे अनुसार १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने गर्छ । स्कुलले विद्यार्थीको लागि फुटबल ग्राउण्डको व्यबस्था समेत गरेको छ । त्यस्तै, भलिवल, बास्केटबल, व्याटमिन्टनको खेल्ने सुविधा उपलब्ध गराएको छ । राम्रो पढाई, स्वस्थ्य खाना, रमणीय वातावरण, रुचि अनुसारको खेल खेल्न पाउनुले विद्यार्थीको रोजाईमा काठमाडौं लिंकन स्कुल पर्ने गरेको छ ।

डिएभि स्कुलललितपुर

ललितपुरमा अवस्थित डिएभि स्कुलले विगत लामो समयदेखि संस्कार सहितको उत्कृष्ट गुणस्तरीय शिक्षा प्रदान गर्नमा निरन्तर रूपमा अब्बल ठहरिएको छ । नेपालको उत्कृष्ट निजी विद्यालयहरूमा सबैभन्दा धेरै विद्यार्थीहरूले रूचाएको शैक्षिक संस्थामध्ये डिएभि पनि एक हो ।

डिएभि स्कुलले विद्यार्थीहरूलाई आधुनिक शिक्षासहित संस्कार पनि सिकाई रहेको छ ।

नर्सरीदेखि मास्टर डिग्रीसम्म अध्ययन अध्यापन गराउने डिएभि स्कुलले सबै किसिमको सुविधासहित विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनमा कुनै कसर बाँकी राखेको छैन । डिएभि स्कुलको नतिजा सतप्रतिशत रहेको छ । प्रि-स्कुलदेखि १२ सम्म पठनपाठन हुने यस स्कुलमा ३ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् । गत वर्षको एसईईमा ४ जिपिए ल्याउने डिएभिका लगायत विद्यालयका विद्यार्थीलाई ललितपुर महानगरपालिकाले सम्मान पनि गरेको थियो । साथै डिएभिले स्थानिय सरकारले सिफारिस गरेअनुसार विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ ।

रेडियन्ट रिडर्स एकेडेमीसानेपा

ललितपुरको सानेपामा रहेको रेडियन्ट रिडर्स एकेडेमीले समयको मागअनुसार विद्यार्थीलाई पठनपाठन गराउँँदै आएको छ । २०५६ मा स्थापना भएको रेडियन्टले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको छ । खेलकुद क्षेत्र, सांगीतिक क्षेत्र, कला, साहित्य, सिर्जना जस्ता विषयवस्तुलाई प्राथमिकतामा राखेको छ ।

विद्यार्थीलाई इनोभेसन र क्रिएटिभ रुपमा काम गर्न प्रोत्साहित गर्दै आएको छ र ‘लर्निङ वाइ डुइङ पेडागोजी’लाई अबलम्बन गरेको छ ।

साथै अध्यापन गराइराखेको पाठ्यक्रमलाई व्यवहारसँग जोडेर अगाडि बढिरहेको छ । विद्यार्थीका रुचि अनुसारका कक्षाकोठा सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई इनोभेसन र क्रिएटिभ रुपमा काम गर्न प्रोत्साहित गर्दै आएको छ र ‘लर्निङ वाइ डुइङ पेडागोजी’लाई अबलम्बन गरेको छ । प्रि-स्कुलदेखि कक्षा १० सम्म पढाई हुने यसमा खुल्ला तथा उज्यालो कक्षाकोठा पर्याप्त खेलमैदान रहेका छन् ।

केएमसी स्कुलनयाँ बानेश्वर

नयाँ बानेश्वरमा अवस्थित केएमसी स्कुलले ‘आजका बालबालिका भोलिका जिम्मेवार नागरिक हुन्’ भन्ने उदेश्यका साथ शिक्षण सिकाईमा काम गरिरहेको छ । विद्यार्थीको भविष्यका लागि सैद्धान्तीक ज्ञान मात्र पर्याप्त हुदैन भन्ने भाष्यलाई गलत सावित गर्न व्यवहारीक शिक्षा पनि दिँँदै आएको छ ।

केएमसी स्कुलमा तालिम प्राप्त शिक्षकद्धारा अध्यापन गराइन्छ, योग्य प्रशिक्षकहरूबाट विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा निखारता ल्याइन्छ । २०७४ सालमा शिक्षा मन्त्रालयबाट निजीतर्फ देशकै उत्कृष्ट माविका रूपमा सम्मानित भएको केएमसीले पठनविधि प्रभावकारी र व्यावहारिक बनाउन प्रयोगमा आधारित अभ्यास गराउँदै आएको छ ।

केएमसी स्कुलले पढाइमा मात्र होइन, विद्यार्थीको रुचिअनुसार खेल, साहित्य, कला, मनोरञ्जन जस्ता अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई सहभागीद गराइन्छ ।

स्कुलले पढाइमा मात्र होइन, विद्यार्थीको रुचिअनुसार खेल, साहित्य, कला, मनोरञ्जन जस्ता अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरुलाई सहभागीद गराइन्छ । स्कुलमा स्पोट्र्स, सोसल सर्कल, केएमसी कर्पोरेट रिचआउट ग्रुप, केएमसी अलुम्नाई रिचआउट, केएमसी अलुम्नाई एसोसिएसन लगायतका क्लवहरु रहेका छन् । ति क्लवमा विद्यार्थीहरु सहभागी भएर आफ्नो क्षमता र रुचिअनुसार आफूलाई थप निखार्न सक्छन् ।

स्कुलमा अभ्यासमा आधारित शिक्षा, सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप, विद्यार्थीमैत्री वातावरण, पर्याप्त शैक्षिक सामग्री, दक्ष तथा अनुभवी शिक्षक–शिक्षिकाका कारण केएमसी विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै गएको छ ।

काठमाडौं नेशनल स्कुलपुरानो बानेश्वर

पुरानो बानेश्वरस्थित काठमाडौं नेशनल स्कुलले संस्कारसहितको शिक्षालाई अनुसरण गरेको छ । पछिल्लोसमय मानिस शिक्षित भएपनि नैतिक शिक्षामा भने फेल भएको अवस्था रहेको छ । जतिसुकै उच्च तहको डिग्री हासिल गरेता पनि यदि त्यो व्यक्तिमा संस्कार छैन भने प्राप्त गरेको डिग्रीले कुनै अर्थ राख्दैन ।

मानिसमा शिक्षा सँगसँगै संस्कार र नैतिकता पनि हुन आवश्यक छ । त्यसैलाई मध्यनजर गर्दैै काठमाडौं नेशनल स्कुलले विद्यार्थीहरुलाई संस्कार सहितको शिक्षा प्रदान गर्दै आएको छ । यसका साथसाथै विद्यालयले शिक्षालाई व्यबहारसँग जोड्दै लगेको छ ।

जतिसुकै उच्च तहको डिग्री हासिल गरेता पनि यदि त्यो व्यक्तिमा संस्कार छैन भने प्राप्त गरेको डिग्रीले कुनै अर्थ राख्दैन ।

त्यस्तै, विद्यार्थीको रुचिअनुसार बास्केट बल, टेबल टेनिस, ब्याडमिन्टनजस्ता खेलमा सहभागिता गराउँदै आएको छ । अभिभावकहरुको आर्थिक क्षमताअनुसार सबै बालबालिका पढ्न पाउने गरि सामान्य शुल्क निर्धारण गरिएको छ । संस्कार सहितको शैक्षिक विधि, सुविधा सम्पन्न भौतिक पूर्वाधार, फराकिलो कक्षाकोठा, अत्याधुनिक पाठ्यसामग्री, पर्याप्त पुस्तकालयले स्कुलमा विद्यार्थीको ध्यान केन्द्रित गरेको छ ।

काठमाडौं बर्नहार्ट स्कुलबल्खु 

२०५७ सालमा ‘टु द स्टार्ट बाई हार्ड वे’ अर्थात् मेहनतका साथ आफ्नो करिअर सुरू गर्ने भन्ने नारालाई आत्मसात गर्दै बर्नहार्ट स्कुलले अध्यापन गराउँदै आएको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्छ भन्नेमा विश्वास गर्ने यस स्कुलले विद्यार्थीलाई पढाई सँगसँगै अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएको छ । जसका लागि स्कुलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय एवं सहकार्य गर्दै आएको छ ।

पारिवारिक वातावरणमा अध्यापन गराउँदै आएको बर्नहार्ट स्कुलले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा समेत कोशेढुंगा साबित हुँदै आएको छ । स्कुलले बजार मागअनुसारको शिक्षा प्रदान गर्न पाठ्यक्रममा आधारित शिक्षाका अलावा विभिन्न तालिम समेत प्रदान गर्दै आएको छ ।

बर्नहार्ट स्कुलले शैक्षिक सुधारमा कुनै कसुर बाँकी राखेको छैन ।

गुणस्तरीय र व्यवहारीक शिक्षा प्रदान गर्दै आएको काठमाडौं बर्नहार्ट स्कुलले वर्षेनी उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । शान्त र रमणीय वातावरण भएको यस विद्यालयमा दक्ष र अनुभवी शिक्षक, मेहनती विद्यार्थी संस्थाप्रति उत्तरदायी कर्मचारीका कारण यस स्कुल सफलताको बाटोमा लम्किरहेको छ ।

शिक्षण सिकाइ पद्दतिमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने विषयमा सरोकारवाहरुसँग छलफल गरि शैक्षिक सुधारमा कुनै कसुर बाँकी राखेको छैन । झन्डै २५ वर्षदेखि काठमाडौं बर्नहार्ट स्कुलको देशको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । गुणस्तरीय शिक्षालाई जोड दिने यस स्कुल विद्यार्थीको रोजाईमा पर्दै आएको छ ।

इम्पेरियल वर्ल्ड स्कुल, बुढानिलकण्ठ

बुढानिलकण्ठको हात्तीगौडास्थित इम्पेरियल वर्ल्ड स्कुल ‘लाइफ लङ लर्नर’ भन्ने नारालाई आत्मसात गर्दै निरन्तर अघि बढिरहेको छ । इनोभेटिभ शिक्षण विधिलाई प्राथमिकतामा राखेको यस स्कुलले कम्युकेशन स्कील, कोल्याबोरेशन, क्रिटिकल थिङ्किङ, कम्मुनिटी इङ्गेजमेन्ट लगायत विषयमा विद्यार्थीहरूलाई अध्यापन गराउने गर्दछ ।

इम्पेरियल वर्ल्ड स्कुलले परम्परागत शिक्षण विधिभन्दा माथि उठेर विद्यार्थीलाई सक्रिय र जिज्ञासु सिकारु बनाउनमा जोड दिएको छ।

२१औं शताब्दीका चुनौतीहरूको सामना गर्न सक्ने गरी विद्यार्थीहरूलाई तयार पार्ने उद्देश्यका साथ उन्नत शिक्षा प्रदान गरिरहेको इम्पेरियल वर्ल्डले राष्ट्रिय पाठ्यक्रमसँगै ब्रिटिस पाठ्यक्रम (आईपीसी) र अन्तर्राष्ट्रिय माध्यमिक वर्ष पाठ्यक्रम (आईएमवाईसी) लाई एकीकृत गरी अध्यापन गराउँदै आएको छ। यसले विद्यार्थीहरूलाई विश्वव्यापी शैक्षिक मापदण्डसँग परिचित गराउन मद्दत पुर्‍याउँछ।

विद्यार्थीमैत्री वातावरण, खेल्नका लागि प्रशस्त मैदान, खुला अनि शान्त कक्षाकोठा भएको यस विद्यालयको भौतिक संरचना भूकम्प प्रतिरोधात्मक रहेको छ । त्यसैले त विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ ।

विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई ध्यानमा राख्दै स्कुलले विभिन्न अतिरिक्त क्रियाकलापहरू पनि सञ्चालन गर्दै आएको छ।

स्कुलले म्याथ पार्कको स्थापना गरेको छ, जुन नेपाली स्कुलको इतिहासमा पहिलो हो । इम्पेरियलले विद्यार्थीहरुलाई कितावी ज्ञानमा मात्र सीमित राख्दैन । विद्यार्थीहरुको अभिरुचि अनुसार स्कुलले फुटबल, बास्केट बल, पिकल बल, टेवल टेनिस, ब्याडमिन्टन, योगा जस्ता खेलकुदमा सहभागी गराउने गरेको छ ।

साथै स्कुलमा रहेकाे डिजाइन एण्ड इनोभेटीभ हबले विद्यार्थीहरूको सिर्जनात्मक क्षमतालाई उजागर गर्न मद्दत गर्दछ । साहित्यमा रुचि राख्ने विद्यार्थीहरूका लागि विद्यालयले हरेक वर्ष नेपाली र अंग्रेजी भाषामा उनीहरूका कथा र कविताहरू प्रकाशन गर्दै आएको छ।

कक्षा १ देखि ७ सम्म विद्यार्थी भर्ना लिने गरेको यस स्कुलले विद्यार्थीलाई सांकेतिक र चाइनिज भाषा पनि सिकाउने गर्दछ । स्थानीय सरकारको सिफारिसमा छात्रवृत्ति प्रदान गर्ने व्यवस्था पनि गरिएकाे छ। इम्पेरियल वर्ल्ड स्कुलले विद्यार्थीहरूलाई केवल पाठ्यक्रममा मात्र सीमित नराखी विश्वमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिकको रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

Skip This
Skip This
Logo