सिद्धार्थनगर। भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्।
स्थानीय उपभोक्ताका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना भएको छ। ग्यास विक्रेताले मौज्दात सकिएको भन्दै उपभोक्तालाई फर्काइदिने गरेको उनीहरूको भनाइ छ। ग्यास पसलहरूमा सिलिण्डर लिन आउने उपभोक्ताको लामो लाइन देखिन थालेको छ।
लामो समय पालो कुर्दा पनि खाना पकाउने एलपी ग्यास पाउन नसकेको स्थानीय प्रदीप ज्ञवालीको गुनासो छ। नियमित भान्छा चलाउन पनि ग्यास नपाउने अवस्था आउँदा दैनिक जीवन कष्टकर बन्दै गएको उल्लेख गरिएको छ।
ग्यास विक्रेताले कम्पनीबाट पर्याप्त ग्यास उपलब्ध नगराउँदा अभाव देखिएको बताएका छन्। मागअनुसार आपूर्ति नहुँदा उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकिएको विक्रेताको भनाइ छ।
यद्यपि भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार ग्यास आयात नियमित रूपमा भइरहेको छ। केही दिन निर्वाचनका कारण आयातमा सामान्य समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको उल्लेख गरिएको छ। दैनिक रूपमा ग्यास बोकेका बुलेट ट्याङ्कर नाकाबाट नेपाल भित्रिने क्रम जारी छ।
स्थानीय ग्यास विक्रेताका अनुसार पछिल्लो समय सम्भावित अभावको आशङ्कामा उपभोक्ताले आवश्यकभन्दा बढी ग्यास मौज्दात राख्न थालेपछि बजारमा अभाव देखिएको हो। पहिले दैनिक सीमित सङ्ख्यामा बिक्री हुने ग्यास सिलिण्डर अहिले केही घण्टामै सकिने गरेको छ।
सीमावर्ती क्षेत्रमा भने नेपालबाट भारततर्फ ग्यास सिलिण्डर लैजाने प्रयास बढेको पाइएको छ। भारतीय बजारमा ग्यासको मूल्य बढी हुनुका साथै अभाव देखिएकाले सीमावर्ती क्षेत्रबाट नेपालका ग्यास सिलिण्डर भारततर्फ तस्करी हुने गरेको स्थानीयको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सीमाबाट ग्यासको अवैध ओसारपसार हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर निगरानी कडा पारिएको जनाएको छ। सीमावर्ती क्षेत्रमा जाँचलाई कडाइ गरिएको उल्लेख गरिएको छ।
यसैबीच, सीमावर्ती इलाका प्रहरी कार्यालय बेलहियाले भारततर्फ लैजाँदै गरेको र भारतबाट नेपालतर्फ ल्याइँदै गरेको केही ग्यास सिलिण्डर नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले सीमामा निगरानी बढाइएको र अवैध ओसारपसार रोक्न आवश्यक कदम चालिएको उल्लेख गरेको छ।





























प्रतिक्रिया