कञ्चनपुर। कृषिमा यान्त्रीकरणको प्रयोग बढाउने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई अनुदानमा मिनी पावर टिलर वितरण गरिएको छ। वडाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा ३२ जना किसानलाई मिनी पावर टिलर उपलब्ध गराएको हो।
वडा कार्यालयले कृषि उत्पादनलाई आधुनिकीकरण गर्दै खेतीपातीमा समय र लागत दुवै घटाउने लक्ष्यसहित किसानलाई मिनी टिलर वितरण गरेको जनाएको छ। किसानलाई कृषिमा यान्त्रीकरणतर्फ आकर्षित गर्न वडा कार्यालयले बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरेको हो। वडाबाट मिनी टिलर अनुदान कार्यक्रमका लागि रु नौ लाख बजेट विनियोजन गरिएको थियो। सोही बजेटमार्फत ३२ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ।
एक वटा मिनी पावर टिलरको बजार मूल्य रु ५६ हजार २५० रहेको छ। उक्त रकमको आधा अर्थात् रु २८ हजार वडाले अनुदानस्वरूप व्यहोरेको छ भने बाँकी रु २८ हजार किसान स्वयंले लगानी गरेका छन्। व्यावसायिक कृषि गरिरहेका तथा आगामी दिनमा व्यावसायिक खेतीतर्फ अघि बढ्न इच्छुक किसानलाई प्राथमिकतामा राखेर छनोट गरी मिनी टिलर वितरण गरिएको हो। यसबाट खेतीपातीलाई आधुनिक बनाउँदै उत्पादन वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
शुक्लाफाँटा नगरपालिकाको कृषि विकास शाखाले कृषि क्षेत्रमा यान्त्रीकरणको प्रयोग बढे किसानको श्रम र लागत दुवै कम हुने जनाएको छ। मिनी टिलरले खेत जोत्न, माटो पल्टाउन तथा रोपाइँअघिको तयारी गर्न सहज बनाउने उल्लेख गरिएको छ। यसले किसानको समय बचत हुनुका साथै उत्पादन प्रक्रियालाई छिटो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
मिनी टिलर वितरणसँगै किसानलाई यसको प्रयोग र मर्मतसम्बन्धी प्राविधिक जानकारीसमेत दिइएको छ। खेत जोत्नुअघि अपनाउनुपर्ने सावधानी, खेत जोत्ने तरिका तथा काम सकिएपछि गर्नुपर्ने मर्मतसम्बन्धी जानकारी प्रदान गरिएको जनाइएको छ।
मिनी टिलर प्राप्त गरेका किसानका अनुसार यसले खेतीपातीको कामलाई सहज बनाउने अपेक्षा गरिएको छ। यसअघि गोरु प्रयोग गरेर खेत जोत्नुपर्दा धेरै समय र मेहनत लाग्ने गरेको थियो। अब मिनी टिलर प्रयोग गरेपछि छिटो र सहज रूपमा खेत जोत्न सकिने भएको छ।
मिनी टिलरले खेत जोत्न मात्र नभई रोपाइँका लागि खेत तयार पार्न पनि सहयोग पुग्ने जनाइएको छ। समयमै खेत जोत्न सकिने भएकाले बाली लगाउने समय व्यवस्थापन गर्न सहज हुने किसानको भनाइ छ।
कृषि यान्त्रीकरणका कार्यक्रम सञ्चालन भएपछि किसानमा आधुनिक उपकरण प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको नगरपालिकाले जनाएको छ। यसले खेतीपातीलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउनेतर्फ सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।





























प्रतिक्रिया