पर्वत। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्वत जिल्लामा खसेको ४ हजार ५० मत बदर भएका छन्। जसमा प्रत्यक्षतर्फ २ हजार ३९६ र समानुपातिकतर्फ १ हजार ६५४ मत बदर भएका हुन्।
जिल्ला निर्वाचन कार्यालय पर्वतको तथ्याङ्कअनुसार प्रत्यक्षतर्फ सबैभन्दा बढी बदर मत जलजला गाउँपालिका–७ धाइरिङस्थित कृष्णभवन माध्यमिक विद्यालय र फर्से धाइरिङ माध्यमिक विद्यालय मतदान केन्द्रबाट ८५ मत बदर भएको छ । सबैभन्दा कम बदर मत भने सदरमुकाम कुश्मा बजारस्थित शिवालय माध्यमिक विद्यालय बगैचा मतदान केन्द्रमा देखिएको छ, जहाँ जम्मा ७ मत बदर भएको छ।
समानुपातिकतर्फ जिल्लाभर १ हजार ६५४ मत बदर भएको छ । मतपत्रमा चिन्ह स्पष्ट नलगाउने, एकभन्दा बढी ठाउँमा चिन्ह लगाउने वा मतपत्रमा अन्य संकेत प्रयोग गर्ने कारणले धेरै मत बदर हुने गरेको उल्लेख गरिएको छ ।
बदर मतको संख्या घटाउन आगामी निर्वाचनमा मतदाता शिक्षालाई अझ प्रभावकारी बनाउने योजना अघि सारिएको छ । विशेषगरी ग्रामीण क्षेत्रका मतदातालाई मतपत्र प्रयोग गर्ने तरिकाबारे स्पष्ट जानकारी दिन सके बदर मतको संख्या कम गर्न सकिने अपेक्षा गरिएको छ।
जिल्लामा एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ । यस निर्वाचनका लागि जिल्लाभर १ लाख २५ हजार ४६६ मतदाता सूचीकृत थिए । तीमध्ये ३० हजार पुरुष र ३५ हजार ४० महिला मतदाता मतदानमा सहभागी भएका थिए। मतदाताको सहभागिता उल्लेख्य देखिए पनि मतपत्र प्रयोग गर्ने क्रममा त्रुटि हुँदा केही मत बदर भएको जिल्ला निर्वाचन कार्यलय पर्वतका निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले बताएका छन् ।
यसपटकको निर्वाचनमा पर्वतमा मतदाताको सहभागिता उत्साहजनक देखिए पनि बदर मतको सङ्ख्याले मतदाता शिक्षा अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएको छ।





























प्रतिक्रिया