बेरुत। दक्षिण लेबनानमा इजरायलले शुक्रबार राति गरेको हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। लेबनानी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा इस्लामिक स्वास्थ्य प्राधिकरण र इस्लामिक रिसाला स्काउट्सद्वारा सञ्चालित संयुक्त आपतकालीन केन्द्र लक्षित भएको थियो। यस आक्रमणमा दुई उद्धारकर्ताको मृत्यु भएको र पाँच जना घाइते भएका छन्।
नाबातिएहमा अर्को आक्रमणमा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने सीमावर्ती सहर बिन्त जबेलमा तीन जनाको ज्यान गएको छ। तटीय शहर गाजिएहमा भएको हवाई आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको छ।
यसैबीच, मेस अल–जबालमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (युनिफिल) को नेपाली बटालियन परिसरमा पनि गोला खसेको छ। नेपालका लागि मानार्थ महावाणिज्य दूतावासले कुनै नेपाली सैनिक घाइते नभएको पुष्टि गरेको छ।
घटनापछि हिजबुल्लाहले इजरायली सैन्य लक्ष्यमा रकेट प्रहार गर्दै प्रतिशोध गरेको दाबी गरेको छ। इजरायलले बेरुतको दक्षिणी उपनगरहरूमा थप हवाई आक्रमण सुरु गरेको छ, जसले सीमापार द्वन्द्व अझ बढेको संकेत दिएको छ।





























प्रतिक्रिया