कञ्चनपुर। कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा चिनिन थालेको छ।
पहिले साहुको घरमा श्रम बेचेर जीवन गुजार्ने थारु समुदायका परिवार अहिले आफ्नै गाउँमा घरवास सञ्चालन गर्दै आत्मनिर्भर बन्ने प्रयासमा छन्।
थारु बस्तीमा सञ्चालन गरिएको ‘विजयसाल सामुदायिक घरवास’ स्थानीय समुदायको आयआर्जनको माध्यम बनेको छ। यसले थारु संस्कृति संरक्षण र ग्रामीण पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्याएको छ। बस्तीका विस्पति चौधरीले घरवास सञ्चालन गरेपछि जीवनमा परिवर्तन आएको अनुभव गरेका छन्। घरवास सुरु गर्नु अघि परिवार पाल्न ज्याला मजदुरी गर्नुपर्ने अवस्था थियो।
पहिले दैनिक ज्यालामजदुरी गरेर जीवन चलाइन्थ्यो। घरवास सञ्चालनपछि आम्दानीको नयाँ बाटो खुलेको छ र पाहुनाको आगमन भइरहन्छ। यसले जीविका चलाउन सहज बनाएको छ। घरवासमा आउने पाहुनाको निरन्तर आगमनले चौधरी मात्र होइन, बस्तीका अन्य परिवारको पनि आम्दानी बढ्दै गएको छ। अहिले यहाँका छ परिवार मिलेर विजयसाल सामुदायिक घरवास सञ्चालन गरिरहेका छन्।
घरवासमा आबद्ध परिवारले पाहुनालाई बस्नका लागि छुट्टाछुट्टै घर निर्माण गरेका छन्। ती घरहरू परम्परागत थारु वास्तुकलाको झल्को दिने गरी निर्माण गरिएका छन्। बाहिरबाट माटो र काठले बनेका परम्परागत घरजस्तै देखिए पनि भित्र आधुनिक सुविधा उपलब्ध छन्।
पाहुनाको बसोबासका लागि प्रत्येक कोठामा एटेच बाथरुम, आरामदायी बेड र वाइफाइ सेवा उपलब्ध छ। दुई जना बस्न मिल्ने कोठामा गाउँको वातावरणसँगै आधुनिक सुविधा पनि अनुभव गर्न सकिन्छ।
घरवास परिसरमा पाहुनाका लागि चार वटा गोल घर निर्माण गरिएका छन्। पाहुनाको स्वागत र सामूहिक कार्यक्रमका लागि छुट्टै सामुदायिक हल पनि बनाइएको छ। यसले घरवासलाई बस्ने ठाउँ मात्र नभई सांस्कृतिक गतिविधि र सामुदायिक अन्तक्र्रियाको केन्द्र बनाएको छ।
घरवासको नाम ‘विजयसाल’ राख्नुको कारण पनि रहेको छ। विजयसाल बहुऔषधीय गुण भएको वनस्पति हो। यसको काठबाट बनेको भाँडामा राखेको पानी पिउँदा मधुमेह र रक्तचाप नियन्त्रणमा सहयोग पुग्ने मान्यता छ। पछिल्लो समय वनजङ्गलमा यो रुख लोप हुने अवस्थामा पुगेकाले संरक्षण र प्रचार गर्ने उद्देश्यले घरवासको नाम ‘विजयसाल’ राखिएको हो।
घरवासको अर्को आकर्षण परम्परागत थारु खानपान हो। पाहुनाको चाहनाअनुसार स्थानीय परिकार तयार गरिन्छ। यहाँ भेज र नन–भेज दुवै प्रकारका खाना पाइन्छन्।
थारु समुदायका मौलिक परिकार ढिक्री, बरिया रोटी, अन्तीको भात, मिसौला, फुलौरा लगायतका परिकार पाहुनाले मन पराउँछन्। यसका अतिरिक्त माछा, गङ्गटा, घोंगी, सुतही, सुँगुरको मासु र स्थानीय कुखुराको मासु पनि यहाँका लोकप्रिय परिकार हुन्।
कहिलेकाहीँ पाहुनाले मुसाको चटनी चाख्नका लागि माग गर्छन्। अमिलो–पिरो स्वादको बयरको चटनी पनि लोकप्रिय परिकारमध्ये एक हो। घरवासमा खानाको मूल्य १३० रुपैयाँदेखि ३०० रुपैयाँसम्म छ।
पाहुनाको मनोरञ्जनका लागि थारु समुदायका परम्परागत नृत्य पनि प्रस्तुत गरिन्छ। सामुदायिक हलमा स्थानीय महिला र युवाले सखिया, छोक्रा र मघौटा नृत्य प्रस्तुत गर्छन्। मादल र मञ्जिराको तालमा प्रस्तुत गरिने यी नृत्यले पाहुनालाई थारु संस्कृतिको झलक दिन्छ।
पाहुनाको मागअनुसार सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। नृत्य प्रस्तुति एक घण्टाको तीन हजार रुपैयाँ शुल्कमा गरिन्छ। यसबाट प्राप्त रकम कलाकारहरूको सामूहिक कोषमा जम्मा गरिन्छ।
घरवासमा वर्षभरि करिब एक हजार पाहुना आउने रेकर्ड छ। पर्यटन सिजनमा पाहुनाको चहलपहल बढ्ने गरेको छ। यस वर्ष फागुन महिनामा मात्र करिब २०० पाहुना यहाँ बस्न आएका छन्।
यहाँ आउने पाहुनामध्ये अधिकांश इलाम, धादिङ, मोरङ, सुनसरी, पोखरा र काठमाडौँ क्षेत्रका हुन्छन्। कहिलेकाहीँ विदेशी पर्यटक पनि थारु संस्कृति, रहनसहन र खानपान बुझ्न यहाँ आउने गरेका छन्।
घरवासमा बस्न आउने पाहुना नजिकैका पर्यटकीयस्थल पनि घुम्न जान्छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मुख्य आकर्षण हो। विशाल घाँसेमैदान र दुर्लभ बाह्रसिङ्गा हेर्न धेरै पर्यटक त्यहाँ पुग्छन्।
महाकाली नदीमाथि बनेको बहु–स्पान झोलुङ्गे पुल र सिस्ने सिमसार क्षेत्र पनि पर्यटकका लागि आकर्षक स्थल मानिन्छ। यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी र जलचर अवलोकन गर्न सकिन्छ।
घरवास सञ्चालनबाट सहभागी परिवारले मासिक ३० हजारदेखि ३५ हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। पाहुनाको सङ्ख्याअनुसार आम्दानी घटबढ हुने गरेको छ।
घरवास सुरु भएपछि गाउँमा आर्थिक गतिविधि बढेको छ। स्थानीय उत्पादनको उपयोग बढ्नुका साथै रोजगारीका अवसर पनि सिर्जना भएका छन्। थारु समुदायको संस्कृति, खानपान र जीवनशैली संरक्षणमा पनि सकारात्मक प्रभाव परेको छ।
सिजनअनुसार पाहुनाको सङ्ख्या घटबढ हुनु, विदेशी पर्यटकसँग भाषाको समस्या आउनु र प्रचारप्रसारको कमी हुनु मुख्य चुनौतीका रूपमा रहेका छन्। पूर्वाधार विकास, तालिम र प्रचारप्रसारमा सहयोग भए यस क्षेत्रलाई ग्रामीण पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने सम्भावना छ।
विजयसाल सामुदायिक घरवासले मुक्तकमैया समुदायलाई आत्मनिर्भर बन्ने बाटो देखाएको छ।





























प्रतिक्रिया