काठमाडौं । जेनजी आन्दोलनको पृष्ठभूमीमा यही फागुन २१ गते देशभर एकैसाथ प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ भने प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा पनि आइसकेको छ ।
पुराना दलहरू र चर्चित नेताहरूले हार व्यहोरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अप्रत्याशित नतिजा हासिल गरेको छ । प्रत्यक्षतर्फ कुल १६५ सिटमा भएको निर्वाचनमा रास्वपाले एक्लैले १२५ स्थानमा जित निकालेको छ भने १९ स्थानसहित कांग्रेस दोस्रो र ९ सिटसहित एमाले तेस्रो स्थानमा रहेको छ । प्रत्यक्षतर्फ ६ वटा राजनीतिक दलहरूले जित निकालेका छन्, जसमा नेकपाले ७ सिट, श्रम संस्कृति पार्टीले ३ सिट र राप्रपा नेपालले पनि १ सिटमा जित हासिल गरेका छन्।
समानुपातिक मततर्फ पनि यिनै ६ दलले मात्र थ्रेसहोल्ड कटाउन सफल भएका छन्। ५१ लाख ८३ हजार ४ सय ९३ मतसहित रास्वपा पहिलो स्थानमा रहेको छ भने १७ लाख ५९ हजार १ सय ७२ मत प्राप्त गरेर कांग्रेस दोस्रो स्थानमा रहेको छ । गत निर्वाचनमा पहिलो स्थानमा रहेको एमाले १४ लाख ५५ हजार ८ सय ८५ मत प्राप्त गरेर तेस्रो हुन पुगेको छ भने २२ वटा दलको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ११ हजार ५ सय ७७ मत ल्याएको छ । श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार र राप्रपाले ३ लाख ३० हजार मत प्राप्त गरेर राष्ट्रिय दल बनेका छन् भने निर्वाचनमा भाग लिएका ५८ दल राष्ट्रिय दल बन्नबाट वञ्चित भएका छन्।
यस निर्वाचनका रोचक तथ्यहरू
सबैभन्दा धेरै मत
यो निर्वाचनले सबैभन्दा धेरै मत पाउने उम्मेदवारको रेकर्ड रास्वपाका वरिष्ठ नेता झापा–५ बाट चुनाव लडेका बालेन्द्र शाहले कायम गरेका छन्। उनले नेकपा (एमाले) का अध्यक्ष तथा ४ पटक प्रधानमन्त्री भइसकेका केपी शर्मा ओलीलाई करिब ५० हजार मतले पराजित गरेका हुन् । बालेनले ६८ हजार ३ सय ८४ मत ल्याए र २०८२ को निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएर संसद बन्ने उम्मेदवारको रेकर्ड कायम गरेका हुन्। जुन यो निर्वाचनको सबैभन्दा धेरै मत हो।
उपत्यकामा रास्वपाको ‘क्लिस्वीप’
यो निर्वाचनमा रास्वपाले काठमाडौं उपत्यकाका सबै सिटमा जित हासिल गरेको छ । २०१५ सालदेखि भएको निर्वाचनमा यहाँ कुनै पनि पार्टीले एकल जित निकाल्न सकेका थिएनन्। तर यस निर्वाचनमा रास्वपाले १५ सिटमा १५ स्थानमै ऐतिहासिक जित निकाल्न सफल भएको छ, जुन हालसम्मकै दुर्लभ परिणाम हो।
सबैभन्दा ठूलो मतान्तरको जित
यो निर्वाचनमा सबैभन्दा धेरै मतान्तरको जित रास्वपाका रुपन्देही -३ का रास्वपा उम्मेदवार डा. लेखजंग थापाले निकालेका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी उम्मेदवारभन्दा ५० हजार ३ सय ७९ मत बढी पाएर निर्वाचित भएका हुन्। यस निर्वाचनमा उनले ५८ हजार ८ सय १४ मत पाएका थिए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशिल गुरुङले ८ हजार ४ सय ३५ मत पाएका थिए।
हार्नेमा सबैभन्दा धेरै मत
यो निर्वाचनमा २०४८ सालदेखि लगातार चुनाव जित्दै आएको नेमकिपाको गढमा रास्वपाले जित निकालेको छ । यस क्षेत्रमा पराजय भोगेका नेमकिपाका उम्मेदवार प्रेम सुवाल हार्ने उम्मेदवारहरूमध्ये सबैभन्दा धेरै मत पाउने उम्मेदवार हुन्। उनले २८ हजार १ सय ४७ मत पाएका छन्, जुन यो निर्वाचनमा हार्ने उम्मेदवारहरूमध्ये सबैभन्दा धेरै मत हो।
सबैभन्दा धेरै मत पाउने महिला सांसद
यो निर्वाचनमा सबैभन्दा धेरै मत पाएर संसद निर्वाचित हुने महिला सांसद हुन् इन्दिरा रानामगर । निवर्तमान उपसभामुख रहेकी राना झापा क्षेत्र नं. २ बाट ६० हजार १ सय १० मत प्राप्त गरेर संसद निर्वाचित भएकी हुन्। उनले उनकै कार्यकालका सभामुख देवराज घिमिरेलाई ४८ हजार ७ सय ४२ मतान्तरले पराजित गरेकी हुन्।
सबैभन्दा कम मतान्तरले जित–हार
यो निर्वाचनमा सबैभन्दा थोरै मतान्तरले जित्ने सांसद हुन्, रास्वपाका विश्वराज पोखरेल। उनले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा जम्मा ५ मत मात्र बढी पाएर संसदमा निर्वाचित भएका छन्। ओखलढुंगाबाट चुनाव लडेका पूर्वप्रहरी पोखरेलले १३ हजार ९ सय ५३ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९ सय ४८ मत पाएका हुन्। यो नै निर्वाचनमा सबैभन्दा कम मतले हार–जित भएको क्षेत्र हो।
जित्नेबाहेक सबै उम्मेदवारको जमानत जफत
काठमाडौं -८ मा यो निर्वाचनले अर्को रोचक रेकर्ड कायम भएको छ। निर्वाचन क्षेत्रमा कुल खसेको मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारहरूको उम्मेदवार बनेबापत राखिएको धरौटी जफत हुने कानुनी प्रावधान रहेको छ । काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठले २४ हजार ५ सय ९२ मत पाउँदा अन्य २२ जना प्रतिस्पर्धीको जमानत जफत भएको हो। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका सुमन सायमीले जम्मा ३ हजार २ सय १७ मत पाएका थिए।
तीन वटा प्रदेशमा एमालेको शून्य सिट
गत निर्वाचनमा समानुपातिकतर्फ पहिलो र समग्रमा दोस्रो बनेको नेकपा एमाले यो निर्वाचनमा ३ वटा प्रदेशमा शून्य सिटमा सीमित भएको छ । बागमती, मधेश र गण्डकी प्रदेशमा एमालेको शून्य सिट भएको हो। नौ सिट जितेको एमालेले गण्डकी, बागमती र मधेश प्रदेशमा यस पटकको प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि सिट जित्न सकेन भने एमालेले कर्णालीमा १, कोशीमा ४, लुम्बिनीमा १ र सुदूरपश्चिममा ३ स्थानमा जित हासिल गरेको छ।
चुनावअघि २२ पार्टी मिलेर बनेको नेकपा ३ प्रदेशमा शून्य
चुनावअघि २२ पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा यस पटकको प्रतिनिधिसभा निर्वाचनमा कुनै सिट जित्न सकेन । नेकपाले कर्णालीमा ४, बागमतीमा १, मधेशमा १ र लुम्बिनीमा २ स्थानमा जित हासिल गरेको छ। प्रत्यक्षतर्फ जम्मा ७ सिट जितेको छ। नेकपाले रोल्पा, सल्यान, सिन्धुपाल्चोक–२, कालीकोट, रुकुम पूर्व, रुकुम पश्चिम र डोल्पामा विजय हासिल गरेको छ।
काका–भतिजा नै प्रतिस्पर्धामा, भतिजले मारे बाजी
सप्तरीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ बाट एकै परिवारका काका–भतिजा फरक–फरक दलबाट चुनावी प्रतिस्पर्धामा थिए । एमालेबाट काका ताराकान्त चौधरी र रास्वपाबाट भतिज अमरकान्त चौधरी निर्वाचनमा प्रतिस्पर्धामा रहेका थिए । भतिजले ३२ हजार ८ सय ७५ मत ल्याउँदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित आफ्ना सहोदर काकालाई समेत हराएका हुन्। निर्वाचनको मत परिणाम अनुसार भतिजले जित्दा काका ताराकान्तले ६ हजार ७ सय १५ मत ल्याउँदै चौथो स्थानमा मात्र पुग्न सफल भए।
मिश्रित नतिजा कर्णालीमा
यो निर्वाचनमा सबैभन्दा मिश्रित नतिजा कर्णाली प्रदेशमा आएको छ । यस प्रदेशमा रास्वपा, कांग्रेस, एमाले, नेकपा र राप्रपा सबैको प्रतिनिधित्व प्रत्यक्षतर्फ रहेको छ। सबै प्रदेशमा रास्वपा पहिलो हुँदा कर्णालीमा भने नेपाली कांग्रेस पहिलो बनेको छ । कुल १२ सिट रहेको कर्णाली प्रदेशमा कांग्रेसले ५ सिट जितेको छ भने नेकपा ४, एमाले, रास्वपा र राप्रपा १/१ स्थानमा रहेका छन्। देशभर रास्वपाले दुईतिहाइ बहुमत ल्याउने आंकलनबीच कर्णालीमा भने एक सिटमै सीमित हुनुपरेको हो ।
महोत्तरीमा एमालेलाई पार्टी सदस्यभन्दा कम मत
नेकपा (एमाले) संगठन विभागको अभिलेख अनुसार महोत्तरी जिल्लामा पार्टीका संगठित सदस्यको संख्या ३३ हजार २ सय ८५ रहेको छ । केही समयअघि भएको एमालेको महाधिवेशन प्रतिनिधि छनोटका बेला यो विवरण प्राप्त भएको हो। तर निर्वाचन आयोगको समानुपातिक तथ्यांक अनुसार एमालेले महोत्तरी जिल्लामा समानुपातिकतर्फ १४ हजार ६ सय ६२ मत मात्र प्राप्त गरेको छ। पार्टी सदस्यभन्दा समानुपातिकमा आएको मतभन्दा आधा मत पनि नभएको विवरणले देखाएको छ ।
२८ सय ९० उम्मेदवारको जमानत जफत
यो निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका २८ सय ९० जनाको उम्मेदवारको धरौटी अर्थात् जमानत जफत भएको छ । प्रतिस्पर्धा गरेको निर्वाचन क्षेत्रमा १० प्रतिशत मत नल्याउनेमा प्रमुख दल कांग्रेस, एमाले, नेकपा र रास्वपाकै उम्मेदवार समेत छन् । उम्मेदवारहरूमध्ये जसले सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्छन् । उनीहरूको जमानत फिर्ता हुने तर १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत रकम जफत हुने कानुनी प्रावधान रहेको छ । प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेकामध्ये जम्मा ५१६ उम्मेदवारले मात्र कुल सदर मतको १० प्रतिशत कटाएर जमानत जोगाउन सफल भएका छन् ।
३५० उम्मेदवारलाई शून्य मत
यो निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका ३५० जना उम्मेदवारहरुको शून्य मत आएको छ । देशभर कुल उम्मेदवार ३४ सय ६ जना रहेका थिए । तर ३५० जनाको शून्य मत आयो भने १ मत र १० मत भन्दा कम ल्याउनेको संख्या पनि उत्तिकै रहेको छ । शून्य मत ल्याउने उम्मेदवारहरूले आफैंलाई समेत मत नहालेको पुष्टि हुन्छ भने केही डमी उम्मेदवारका त मत हाल्ने स्थानमा आफ्नो मतदाता नामावली नभएका कारण पनि मत नआएको देखिन्छ ।





























प्रतिक्रिया