काठमाडौँ

माघ मसान्त सम्म भूकम्पले भत्किएका एक लाख घर पुनःनिर्माण सम्पन्न हुने र निर्माणाधीन घरको संख्या तीन लाख पुग्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताएका छन् । "/>

माघ मसान्त सम्म एक लाख घर बन्ने प्राधिकरणको भनाई

माघ मसान्त सम्म एक लाख घर बन्ने प्राधिकरणको भनाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

माघ मसान्त सम्म भूकम्पले भत्किएका एक लाख घर पुनःनिर्माण सम्पन्न हुने र निर्माणाधीन घरको संख्या तीन लाख पुग्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले आउँदो मनसुन अघि साँढे चार लाख पीडितलाई आवासको व्यवस्था गर्ने गरी काम भइरहेको बताए । वर्षात अगावै ६० प्रतिशत भूकम्प पीडितलाई स्थायी आवासको व्यवस्था गर्ने लक्ष्य प्राधिकरणको छ ।

“हाल ९५ हजार घर पुनःनिर्माण सम्पन्न भएको र दुई लाख ८४ हजार आवास बनिरहेको छ, भूकम्प अति प्रभावित १४ र प्रभावित १८ जिल्लामा खटिएका इन्जिनियरलाई पाँच समूहमा बाँडेर भत्ताको व्यवस्था गरेपछि काम गर्न प्रोत्साहन मिलेको छ, हाल दुर्गममा खटिएकाले मासिक ५८ हजार र सुगममा खटिनेले ४२ हजार बुझ्छन्” प्रमुख कार्यकारी अधिकृत भुसालले भने ।

भूकम्प अति प्रभावित १४ जिल्लाका १३१ स्थानीय तहका एक हजार १८६ वडामा इन्जिनियर खटाइएको छ । पुनःनिर्माणमा आवश्यक पर्ने दक्ष निर्माणकर्मी बढाउन १४ जिल्लाका २१ हजारलाई तालीम दिइएको प्राधिकरणले जनाएको छ । प्रभावित १८ जिल्लामा पाँच हजारलाई तालीम दिइएको छ । प्राधिकरणले ७० वर्ष नाघेका वृद्ध, ६५ वर्ष नाघेका एकल महिला, अपांगताको परिचयपत्र भएका र १६ वर्ष मुनिका नाबालक भूकम्पपीडितका आवास पुनःनिर्माण गरिदिने निर्णय गरेको छ । यस सम्बन्धमा कार्यविधि माघ ११ गते जारी गरिएको उनले जानकारी दिए ।

यसका लागि हाल सम्म ४ सय को नाम दर्ता भएको छ । सहुलियत दरको ऋण ६५९ पीडितले मात्र पाएकाले सहज बनाउन सरोकार भएका निकायलाई अनुरोध गरेको प्राधिकरणले जनाएको छ । पुनःनिर्माणका लागि बजेट अपुग हुने भएकाले आगामी मंसिर, पुसमा अर्को दाता सम्मेलनको तयारी गर्ने प्राधिकरणको योजना छ । धरहरा प्राधिकरणले नै निर्माण गर्ने भएको छ । बाहिरी संरचना परम्परागत र भित्री संरचनामा ‘लिफ्ट’ सहित आधुनिक शैली प्रयोग गर्ने गरी ‘डिजाइन’ भइरहेको जनाइएको छ ।

भुसालले पीडितलाई थप एक लाख दिने सरकारको निर्णय नयाँ बजेट नआए सम्म दिन नसकिने पनि बताए । शुक्रबार सम्म पीडितलाई एक लाख थप दिने निर्णयमा के छ भन्ने विषयमा प्राधिकरणमा कुनै जानकारी पुगेको छैन । हाल प्राधिकरणसँग ५३ अर्ब रहेकाले अझै ४८ अर्ब अपुग रहेको भुसालको भनाई थियो । “ ४८ अर्ब व्यवस्था गर्न अर्थ मन्त्रालयमा म लगातार धाइरहेको छु, मन्त्रालयले आवश्यक रकम खोज्ने वचन दिएको छ” उनले भने ।

काष्ठमण्डप पनि यसै आर्थिकवर्ष भित्रै पुनःनिर्माण शुरुवात गर्ने प्राधिकरणको लक्ष्य छ । उपत्यकामा भत्किएका एक लाख एक हजार घर मध्ये ८० हजार बन्न बाँकी छन् । गल्लीगल्लीमा रहेका घर निर्माणका लागि बैंकले नदिएकाले प्राधिकरण भित्रै बैंकिङ एकाइ खडा गर्ने निर्णय भएको छ । नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारी राखेर एकाइ खडा गरी ऋण प्रवाह गर्ने अन्तिम तयारीमा लागिएको उनले बताए । माघ २६ गते बस्ने प्राधिकरण निर्देशक समितिको बैठकले दोस्रो किस्ता पुस मसान्त सम्म लिइसक्नु पर्ने भनी तोकिएकोे म्याद थप्ने वा नथप्ने बारे निर्णय लिइने भुसालको भनार्इ थियो । रासस

Logo