काठमाडाैं । पछिल्ला केही वर्षमा भारतमा ज्योतिष क्षेत्र तीव्र रूपमा विस्तार हुँदै गएको छ । विभिन्न अन्तर्राष्ट्रिय तथा भारतीय सञ्चार माध्यमका अनुसार भारतको ज्योतिष बजार अहिले करिब १ अर्ब डलर (झण्डै १ खर्ब ३० अर्ब रुपैयाँ) बराबरको उद्योग बन्न पुगेको छ। परम्परागत रूपमा ग्रह-नक्षत्रको आधारमा भविष्यवाणी गर्ने अभ्यास अहिले आधुनिक प्रविधिसँग जोडिँदै ठूलो व्यवसायको रूप लिन थालेको हो।
विशेषगरी कोभिड–१९ महामारीपछि मानिसहरूमा भविष्य, करियर, सम्बन्ध र आर्थिक अवस्थाबारे जान्ने चासो बढेसँगै ज्योतिष सेवाको माग पनि उल्लेखनीय रूपमा बढेको बताइन्छ। पहिले मन्दिर, घर वा कार्यालयमा पुगेर मात्र परामर्श लिने चलन थियो भने अहिले मोबाइल एप, अनलाइन च्याट र भिडियो कलमार्फत ज्योतिष सेवा लिने प्रचलन बढ्दो छ।
भारतमा अहिले धेरै डिजिटल ज्योतिष प्लेटफर्म सञ्चालनमा छन्। यस्ता प्लेटफर्ममार्फत प्रयोगकर्ताले आफ्नो जन्म मिति, समय र स्थानका आधारमा कुन्डली विश्लेषण गराउने, दैनिक राशिफल हेर्ने वा प्रत्यक्ष ज्योतिषीसँग परामर्श लिन सक्ने व्यवस्था गरिएको हुन्छ। केही प्लेटफर्मले प्रति सत्र भारतीय रुपैयाँ १५० देखि २००० रुपैयाँसम्म शुल्क लिने गरेको बताइन्छ।
विशेषगरी ३५ वर्ष उमेर समूहसम्मका युवाहरू ज्योतिष सेवाको प्रमुख प्रयोगकर्ता बनेका छन् । करियर, विवाह, सम्बन्ध, व्यवसाय र आर्थिक निर्णयका विषयमा परामर्श लिन उनीहरू अनलाइन ज्योतिष प्लेटफर्मतर्फ आकर्षित भएका छन्।
बजार विश्लेषकहरूका अनुसार भारतमा ज्योतिषसँग सम्बन्धित मोबाइल एप र डिजिटल सेवाको बजार आगामी वर्षहरूमा अझ तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ। केही अध्ययनले आगामी केही वर्षभित्रै यो बजार १.५ देखि २ अर्ब डलरको आकार पुग्न सक्ने सम्भावना देखाएका छन्। यसरी परम्परागत विश्वास र आधुनिक प्रविधिको संयोजनले भारतमा ज्योतिषलाई केवल धार्मिक वा सांस्कृतिक अभ्यास मात्र नभई तेजीले बढिरहेको डिजिटल उद्योगको रूपमा स्थापित गरिरहेको देखिन्छ।





























प्रतिक्रिया