काठमाडौं ।
सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हालसम्म एक लाख ३६ हजार ३९३ जना नेपालीलाई उद्धार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ६० देशमध्ये सबैभन्दा बढी ४० हजार २३० जना युएइबाट फर्किएका छन् ।
दोस्रो फर्किने मुलुक कतारबाट २६ हजार ५९२ जना स्वदेश फर्किएका छन् । तेस्रोमा साउदी (रियाद जेद्दा) बाट १८ हजार ७३० र मलेसियाबाट १८ हजार ७८३ जना स्वदेश आएका छन् । यस्तै, कुवेतबाट १० हजार ४८३ जना स्वदेश फर्किएका छन् । यो अवधिमा बहराइनबाट एक हजार ३३९ जना स्वदेश फर्किंदा अस्ट्रेलियाबाट १२ सय ४४ जना स्वदेश फर्किएको उल्लेख छ ।
टर्कीबाट ३५ सय १९ जना र ओमानबाट १७ सय ८४ जना साथै दक्षिण कोरियाबाट दुई हजार ६५ जना फर्किएका छन् । छिमेकी देश बङ्गलादेशबाट ९७० जना फर्किएको सिसिएमसिले बताएको छ । यसैगरी, माल्दिभ्सबाट एक हजार १८ जना फर्किएकोमा छिमेकी देश चीनबाट ६३४ जना नेपाली स्वदेश फर्किएका छन् । हाल सम्म सिंगापुरबाट एक हजार ८५ जना, संयुक्त राज्य अमेरिकाबाट ६०५ जना र बढी महिला नेपाली कार्यरत रहेको जोर्डनबाट ५७७ जना स्वदेश फर्किएका छन् । यस्तै, पाँच सयभन्दा कम नेपाली स्वदेश आएकोमा थाइल्याण्ड ४७७ रहेका छन् । सयभन्दा कम सङ्ख्यामा स्वदेश फर्किएको देशहरुमा इराक, स्विजरल्याण्ड, इरान, ईथोपिया, ट्युनिसिया, सुडान, नाइजेरिया, युगाण्डा, पोर्चुगल, फ्रान्स, स्पेन, ग्रिस आदि रहेका छन् ।
साथै, अष्ट्रिया, नेदरल्याण्डस्, बेल्जियम, इटाली, चेक गणतन्त्र, पोल्याण्ड, जर्मनी, अर्मेनिया, स्विडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क, क्यानडा, मकाउ, पाकिस्तान, अफगानिस्तान, कम्बोडिया, म्यानमार, इजरायल लगायतका देशहरुबाट थोरै मात्रामा नेपाली स्वदेश फर्किएका छन् । अफ्रिकी मुलुक सोमालियाबाट एकजना मात्रै नेपाली स्वदेश फर्किएको सिसिएमसिले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । सरकारले विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउने काम अहिले पनि जारी राखेको छ ।
कुन प्रदेशमा कति उद्वार ?
स्वदेश उद्वार गरिएका सबैभन्दा बढी बागमती प्रदेशका रहेका छन् । बागमती प्रदेशबाट १८ हजार ७९४ जनाको उद्वार गरिएको छ । दोस्रोमा प्रदेश नम्बर १ बाट १६ हजार १०१ जनाको उद्वार गरिएकोमा तेस्रोमा प्रदेश नम्बर २ बाट १३ हजार ९४१ जनाको उद्वार गरिएको छ ।
कर्णाली प्रदेशमा सबैभन्दा कम स्वदेश फर्किएको पाइएको छ । कर्णालीबाट १६ सय ५९ जनाको उद्वार गरिएको सिसिएमसिले जारी गरेको तथ्याङ्कमा उल्लेख छ । लुम्बिनी प्रदेशबाट १३ हजार ९४१ र सूदुरपश्चिम प्रदेशबाट १८ सय ८६ जना स्वदेश फर्किएका छन् । यसको साथै प्रदेशगत विवरण प्राप्त नभएको संख्या ६० हजार ८०८ रहेको सिसिएमसिले बताएको छ ।गोरखापत्रबाट





























प्रतिक्रिया