काठमाडौं । लामो समयदेखि आन्तरिक विवाद र विभाजनमा परेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्ततः एकीकृत संरचनामा अघि बढ्ने चरणमा पुगेको छ । काठमाडौंमा जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले डा. हेमराज शर्माको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्ने सहमति जुटाएको छ ।
‘एकता, लगानी र गौरव’ भन्ने नारासहित सुरु भएको महाधिवेशनमा आइतबार राति सहमतिमार्फत नेतृत्व चयनको प्रक्रिया टुंगिएको हो । यसअघि डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका छुट्टाछुट्टै समूह सक्रिय रहँदा संस्था दुई धारमा विभाजित थियो । लामो समयसम्म भएका वार्ता र सहमतिको प्रयास सफल हुन सकेका थिएनन् ।
पछिल्लो समय पूर्वअध्यक्षहरूको पहलमा दुवै पक्ष एकता प्रक्रियामा सहभागी भएपछि महाधिवेशनमार्फत नयाँ संरचना बनाउने सहमति भएको थियो । त्यसकै आधारमा दुवै समूहबीच मंसिर दोस्रो सातामा १० बुँदे सहमति भएको थियो ।
अध्यक्ष पदका आकांक्षी रोविन शेरचन र रविन बज्राचार्यले उम्मेदवारी फिर्ता लिएपछि नेतृत्व सर्वसम्मत बनाउने बाटो खुलेको थियो । सहमतिअनुसार शेरचन वरिष्ठ उपाध्यक्ष र बज्राचार्य उपाध्यक्षको जिम्मेवारीमा रहने भएका छन् ।
संस्थाको विधान संशोधन प्रक्रिया टुंगिएपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गर्ने तयारी गरिएको छ । नयाँ संरचनामा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष, महासचिव, सचिव र क्षेत्रीय संयोजकहरू सर्वसम्मत चयन भएका छन् ।
महाधिवेशनमार्फत एनआरएनएलाई पुनः एकीकृत संरचनामा अघि बढाउने र प्रवासी नेपालीको लगानी तथा सहभागिता बढाउने लक्ष्य राखिएको आयोजकहरूले बताएका छन् ।





























प्रतिक्रिया