बागमती। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा १७ दशमलव १२ प्रतिशत पुँजीगत खर्च गरेको छ।
आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म प्रदेश सरकारले कुल बजेटको २२ दशमलव ३१ प्रतिशत खर्च गरेको छ।
मन्त्रालयका अधिकृत सुरज पौडेलका अनुसार सो अवधिमा चालुतर्फ ३० दशमलव ५६ प्रतिशत र पुँजीगततर्फ १७ दशमलव १२ प्रतिशत बजेट खर्च भएको छ।
चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट ल्याएको थियो। आठ महिना सकिँदासम्म १५ अर्ब पाँच करोड आठ लाख ३८ हजार रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।
विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश लोकसेवा आयोगले ४३ दशमलव ८५ प्रतिशत खर्च गरेको छ। मुख्य न्यायाधिवक्ताको कार्यालयले ३७ दशमलव १० प्रतिशत, प्रदेशसभा सचिवालयले ३७ दशमलव २९ प्रतिशत, श्रम, रोजगार तथा यातायात मन्त्रालयले ३८ दशमलव ५४ प्रतिशत, स्वास्थ्य मन्त्रालयले ३७ दशमलव १० प्रतिशत र सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३४ दशमलव ५३ प्रतिशत बजेट खर्च गरेका छन्।
सबैभन्दा कम खर्च संस्कृति तथा पर्यटन मन्त्रालयले गरेको छ, जसले सात दशमलव ६४ प्रतिशत मात्र बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका कारण प्रदेश सरकारका केही संरचना क्षतिग्रस्त भएका थिए। त्यसपछि सरकारी निकायहरूको काम प्रभावित हुँदा बजेट कार्यान्वयनमा ढिलाइ भएको र खर्च कम देखिएको अधिकृत पौडेलले बताएका छन्।





























प्रतिक्रिया