इनरुवा। जिल्ला प्रशासन कार्यालयले इनरुवामा रहेका ग्यास पसलहरूको अनुगमन गरेको छ ।
पछिल्लो समय ग्यासमा कालोबजारी बढेको गुनासो आएपछि अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिए। इनरुवाका पाँच पसलमा बिक्रीका लागि राखिएको सुविधा, प्रिमा, कमख्या र कोशी ग्यासको अवस्था जाँच गरिएको थियो।
अनुगमनका क्रममा इनरुवामा आवश्यकता अनुसार ग्यास उपलब्ध रहेको, कालोबजारी नभएको र उपभोक्ताले आवश्यक समयमा ग्यास पाइरहेको भेटिएको उद्योग वाणिज्य सङ्घ इनरुवाका उपाध्यक्ष गिरीराज अटलले बताए।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य सङ्घ र उपभोक्ता प्रतिनिधिको सहभागिता रहेको थियो।
जिल्ला प्रशासन कार्यालय सुनसरीले ग्यासका उत्पादक, वितरक र डिलरलाई अनावश्यक मौज्दात नराख्न, पालो प्रणालीमार्फत पारदर्शी वितरण गर्न, कृत्रिम अभाव सिर्जना नगर्न, बजार मूल्यभन्दा बढी नलिन र खरिदबिक्रीको विवरण व्यवस्थित राख्न निर्देशन दिएको छ।
निर्देशन उल्लङ्घन गरे कानुनअनुसार कारबाही हुने प्रशासनले जनाएको छ।





























प्रतिक्रिया