डढेलोको उच्च जोखिम : मानवीय लापरवाही प्रमुख कारण

डढेलोको उच्च जोखिम : मानवीय लापरवाही प्रमुख कारण

केन्द्रबिन्दु
24
Shares

म्याग्दी । सुक्खायाम सुरु भएसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ। डिभिजन वन कार्यालयका प्रमुख वसन्तकेशव अधिकारीका अनुसार ९६ प्रतिशत डढेलो मानवीय लापरवाहीका कारण हुने गरेका छन्।

आगलागीका मुख्य कारणमा घाँस पलाउने, अवैध सिकार, वन्यजन्तु भगाउने, वन अपराध लुकाउने र छिमेकी वा कर्मचारीसँगको रिस–इर्ष्याका कारण आगो लगाउनु पर्दछ। फागुनदेखि जेठसम्म डढेलो बढी हुने गरेको छ।

अघिल्ला वर्षमा डढेलोले ठूलो वनजङ्गल, रुख–बिरुवा, जडीबुटी, वन्यजन्तु र पन्छीको वासस्थान नष्ट गरेको तथ्याङ्क छ। आर्थिक वर्ष २०७९÷८० मा ७९० हेक्टर, २०८०÷८१ मा ८९० हेक्टर र २०८१÷८२ मा ८०५ हेक्टर वन डढेलोले क्षति भएको छ।

जिल्लामा डढेलो रोकथामका लागि सुरक्षा निकाय, प्रशासन, स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरिएको छ। सम्भव भएमा मानवीय र भौतिक सम्पत्ति जोगाउने रणनीति अपनाइएको छ।

सचेतनामूलक कार्यक्रम, पानी सङ्कलन र सामुदायिक वनमा पोखरी निर्माण गरी वन्यजन्तुले मानव बस्तीमा आउन नपरोस् भन्ने उपायहरू पनि चालु छन्।

म्याग्दीमा कुल दुई लाख २९ हजार ७०६ हेक्टर वन क्षेत्र छ, जसमा ३६.७६ प्रतिशत वन, १.८५ प्रतिशत झाडी र २१.२७ प्रतिशत चरन क्षेत्र रहेको छ। जिल्लामा ३११ सामुदायिक वन उपभोक्ता समूह छन्।

Logo