काठमाडाैं । इजरायली रक्षा मन्त्रालयले इरानका शीर्ष सुरक्षा अधिकारी अली लारीजानी र अर्धसैनिक बल ‘बासिज’ का कमाण्डर घोलामरोजा सोलेमानीलाई एक लक्षित हवाई आक्रमणमा मारिएको दाबी गरेको छ।
इजरायलका रक्षा मन्त्री काट्जले सामाजिक सञ्जालमार्फत इरानी शासनका प्रमुख नेतृत्व र उनीहरूको रणनीतिक क्षमतालाई ध्वस्त पारिएको घोषणा गरेका हुन् ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारीजानीलाई गत फेब्रुअरी २८ मा सुरु भएको युद्धयताको सबैभन्दा उच्च पदस्थ व्यक्तित्व मानिएको छ। लारीजानी इरानी राजनीतिमा दशकौँदेखि सक्रिय थिए र उनले लामो समयसम्म संसदको सभामुखका साथै पश्चिमा मुलुकसँगको आणविक वार्ताको नेतृत्व समेत गरेका थिए। उनलाई अन्तिम पटक गत शुक्रबार तेहरानमा आयोजित अल-कुड्स दिवसको र्यालीमा राष्ट्रपति मसुद पेजेस्कियानसँगै सार्वजनिक रूपमा देखिएको थियो।
यसैगरी, इजरायली सेनाले तेहरानको केन्द्र भागमा गरिएको ‘सटीक इन्टेलिजेन्स’ अपरेशनमा बासिज फोर्सका कमाण्डर घोलामरोजा सोलेमानीलाई पनि मारेको दाबी गरेको छ। सोलेमानी विगत ६ वर्षदेखि इरानको आन्तरिक सुरक्षा र प्रदर्शनकारीहरूलाई दमन गर्ने मुख्य संयन्त्र ‘बासिज’ को नेतृत्व गरिरहेका थिए।
इरान सरकारले हालसम्म यी दुवै हत्याको आधिकारिक पुष्टि वा खण्डन गरेको छैन।
यो घटनालाई गत फेब्रुअरी २८ मा अमेरिका र इजरायली आक्रमणमा सर्वोच्च नेता अली खामेनी र उनको परिवार मारिएपछिको सबैभन्दा ठूलो धक्काका रूपमा हेरिएको छ। दोहा इन्स्टिच्युट फर ग्रेजुएट स्टडीजका प्रोफेसर मोहम्मद एल्मासरीका अनुसार यी हत्याहरू प्रतीकात्मक र मनोवैज्ञानिक रूपमा अत्यन्तै महत्वपूर्ण छन्। इजरायली सेनाले आफ्नो अभियान जारी रहने र इरानको मिसाइल क्षमता तथा रणनीतिक पूर्वाधारलाई पूर्ण रूपमा समाप्त पार्ने चेतावनी दिएको छ।































प्रतिक्रिया