काठमाडौं
कोटेश्वर–कलंकी सडक खण्ड सुधार गर्न तोकिएको पछिल्लो म्याद सकिन अब ५ महिना मात्रै बाँकी छ । तर कामको प्रगति भने यो बीचमा जति हुनुपर्ने हो त्यो गतिमा हुन सकेको छैन । पछिल्लो पटक तोकेको समयावधि जुलाई २०१८ हो । यस अवधिमा सडक सुधार कार्य सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता निर्माणको जिम्मा लिएको चीनको संघाई कर्पोरेसनको रहेको छ । सडक सुधारको काम थालेको ४ वर्ष बढी भइसकेको छ । काम थालेको त्यत्रो वर्ष बित्दा बल्ल आधा काम मात्रै सक्नुले पनि चक्रपथ सुधार कार्यमा कति सुस्तता भयो भनेर जो–कोहीले पनि सहजै अनुमान लाउन सक्छन् ।
काम सम्पन्न हुन जति ढिलाइ भयो त्यति नै सर्वसाधरणले सास्ती पनि खेप्दै आइरहेका छन् । सडकमै थुपारिएको निर्माण सामग्रीका कारण ट्राफिक जामको समस्या सर्वसाधारणले विगत ४ वर्ष देखि भोग्दै आइरहेका छन् भने धूलोले गर्दा स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । योजनाका इन्जिनियर निरञ्जन शर्माले सडक सुधारको शुरुआती चरणमा काममा ढिलाइ भए पनि पछिल्लो चरणमा काम तीव्र गतिमा भइरहेको बताए । ‘शुरुआती चरणमा मात्रै केही समस्याका कारण काममा ढिलाइ भएको हो’, योजनाका इन्जिनियर शर्माले भने– ‘पछिल्लो चरणमा सुधारको कामले तीव्रता लिइरहेको छ।’ कामको शुरुआतमा देशमा घटेको प्रमुख घटना भूकम्प र नाकाबन्दीका कारण काममा देखिने गरी प्रगति नभएको योजनाले जनाएको छ । तर समयमै काम सम्पन्न गर्नका लागि विशेष परिस्थितिका बीच पनि काम भइरहेको योजनाको दाबी छ ।
सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण शुरु गरेको यस सडक सुधारको काममा चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोग रहेको छ । सडकमा चिनियाँ ठेकेदार कम्पनी साङ्घाई ग्रुपले काम गरिरहेको छ । सडक सुधारका लागि ४ अर्ब ९९ करोड २० लाख अनुमानित नेपाली रकम खर्च गर्दैछ । १०.३९ किलोमिटर दूरी रहेको सडक सुधार गर्न सन् २०१२ डिसेम्बर १८ मा चिनियाँ सरकार र नेपाल सरकार बीच द्विपक्षीय सम्झौता भएको हो । ४ वर्षमा निर्माण पक्षले बल्खु र बालकुमारीमा पुल निर्माण, कोटेश्वर, बी एन्ड बी र बागडोलमा गरी तीन वटा आकाशेपुल निर्माण गरिसकेको छ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया