नेपालगञ्ज। बाँकेमा वन डढेलो नियन्त्रणका लागि २४ सदस्यीय ‘आगो नियन्त्रण दस्ता’ गठन गरिएको छ। वन डिभिजन कार्यालयले डढेलो बढी लाग्ने क्षेत्र पहिचान गर्दै शम्शेरगञ्ज र सिक्टा क्षेत्रका लागि १२–१२ जनाको टोली बनाएको हो।
सूचना अधिकारी टङ्क गुरुङका अनुसार वन उपभोक्ता महासङ्घसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिँदैछ। डढेलो नियन्त्रणका लागि ६ हजार लिटर क्षमताको वारुणयन्त्र तयारी अवस्थामा राखिएको छ। आगलागी भएमा उक्त दस्ताले नियन्त्रण र उद्धारको काम गर्नेछ।
गत वर्ष ठूलो क्षति नभए पनि अघिल्लो वर्ष डढेलोका कारण वन्यजन्तुमा ठूलो क्षति भएको थियो। त्यसैले यस वर्ष पूर्वतयारीलाई प्राथमिकता दिइएको कार्यालयले जनाएको छ।
वन डिभिजन कार्यालय प्रमुख शङ्करप्रसाद गुप्ताका अनुसार डढेलो रोकथामका लागि ‘अग्नि नियन्त्रण हेरालु’ चार वर्षका लागि नियुक्त गरिएको छ। शम्शेरगञ्ज र सिक्टा क्षेत्रका वनमा ६–६ जनाको टोलीले फायरलाइन सफा गर्ने र संरक्षण गर्ने काम गरिरहेको छ। जिल्लामा हाल १०० किलोमिटर फायरलाइन रहेकोमा यसलाई बढाएर १२० किलोमिटर बनाइएको छ।
त्यसैगरी शम्शेरगञ्जमा २५ लाख लागतमा २० हजार लिटर क्षमताको ओभरहेड पानी ट्यांकी निर्माण गरिएको छ, जसले डढेलो नियन्त्रणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
यस्तै, जिल्ला विपद् व्यवस्थापन समितिले आगलागी, तातो हावा (लु), हावाहुरी तथा वन डढेलो न्यूनीकरणका लागि प्रतिकार्य योजना स्वीकृत गरेको छ। गर्मी बढेसँगै जोखिम बढ्ने भएकाले पूर्वतयारीलाई प्रभावकारी बनाउने र सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।





























प्रतिक्रिया