चितवन। नारायणगढ–मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन्। सडक डिभिजन कार्यालय भरतपुरको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ मध्यम जोखिममा र १३ ठाउँ सामान्य जोखिममा छन्। तुइन खोला अति उच्च जोखिममा परेको क्षेत्र हो।
इञ्जिनियर अर्जुन घिमिरेका अनुसार तुइनसँगै काली र नाम्सी खोला पनि उच्च जोखिममा छन्। तुइन–चिसेन्जी खण्डमा ढुङ्गा झर्ने समस्या छ भने चार किलोका दुई ठाउँमध्ये एकमा पहिरो र अर्कोमा लेदो झर्ने समस्या देखिएको छ। मौरी खोला र सेती दोभानमा लेदोसहितको पहिरोको जोखिम उच्च छ।
त्यस्तै १६ किलो, १७ किलो, डुम्रे खोला, सिमलताललगायत क्षेत्र पनि जोखिममा छन्। यी ठाउँहरू गत वर्षदेखि नै पहिरोको जोखिममा रहेका थिए।
सडक डिभिजन कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार तुइन, काली र नाम्सी खोलामा पहिरो रोकथामका लागि खरिद गुरुयोजना माघ २३ गते सडक विभागमा पठाइएको छ। डिजाइन अन्तिम चरणमा पुगेको छ। ती क्षेत्रमा विपद् व्यवस्थापनतर्फ रु २५ करोड बजेटबाट काम गर्ने तयारी गरिएको छ।
अन्य जोखिमयुक्त ठाउँका लागि रु २० करोड बजेट छुट्याइएको छ। नक्साङ्कन सकिएकाले छिट्टै बोलपत्र आह्वान गरी बर्सातअघि नै पहिरो रोकथाम तथा न्यूनीकरणका काम अघि बढाइने तयारी छ।
केही वर्षअघि सडक विस्तार गर्दा भित्तो काटिएकाले बर्सातमा लेदोसहितको पहिरो खस्ने समस्या बढेको छ। दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने यो सडक काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ मानिन्छ।































प्रतिक्रिया