कांग्रेसमा सभापतिको राजिनामा माग,थापा भने पद नछोड्ने अडानमा

कांग्रेसमा सभापतिको राजिनामा माग,थापा भने पद नछोड्ने अडानमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा कमजोर प्रदर्शनपछि दबाब बढे पनि नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा नदिने निर्णय गरेका छन्। प्रतिनिधि सभाको चुनावमा लज्जसास्पद हार व्यहोरेपछि कतिपय नेता कार्यकर्ताले थापाको राजिनामाको माग समेत गरेका छन् । तर थापा भने पद छाड्नेभन्दा पार्टीको समिक्षा र पुनर्गठनमा केन्द्रित हुने बाटो रोजेका छन्।

निर्वाचन परिणाम सार्वजनिक भएसँगै नैतिक जिम्मेवारी लिने विषय उठे पनि आन्तरिक सल्लाहपछि थापा पछि हटेका हुन्। विशेषगरी उपसभापति विश्वप्रकाश शर्मासँगको परामर्शपछि उनले नेतृत्वमै रहेर सुधार गर्ने रणनीति अपनाएको बुझिन्छ ।

यसपटक कांग्रेसले प्रत्यक्षतर्फ १६५ मध्ये १८ सिट मात्र जित्यो भने समानुपातिकतर्फ पनि ठूलो मत क्षति बेहोरेको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा कांग्रेस ३८ सिटमा सीमित हुँदा नेतृत्वमाथि प्रश्न उठेको छ ।

पार्टीभित्र अहिले दुई धार देखिएको छ । एक पक्ष नेतृत्व परिवर्तनको पक्षमा छ भने अर्को पक्ष अहिले राजीनामा असान्दर्भिक भएको भन्दै एकतामा जोड दिइरहेको छ ।

महामन्त्रीद्वयले चुनावी समिक्षा सुरु गरिसकेका छन्। मातहतका संरचनाबाट प्रतिवेदन संकलन गरी केन्द्रीय समितिमा विस्तृत समीक्षा गर्ने तयारी छ । त्यसपछि मात्रै भावी रणनीति तय गर्ने योजना बनाइएको छ ।

उता, पार्टीभित्र पुरानो विवाद फेरि सतहमा आएको छ । देउवा पक्ष र थापा पक्षबीच महाधिवेशनको समय र दिशा लिएर मतभेद चर्किँदै गएको छ । एक पक्ष चाँडै महाधिवेशन चाहन्छ भने अर्को पक्ष निर्धारित समयमै जानुपर्ने अडानमा छ ।

नेतृत्वले अब सबै पक्षसँग संवाद बढाउनुपर्ने दबाब पनि बढिरहेको छ । पार्टीभित्रको ध्रुवीकरणले नै चुनावी नतिजामा असर पारेको निष्कर्ष निकालिँदै छ ।

कांग्रेसले शुक्रबार केन्द्रीय समिति बैठक बोलाएको छ, जहाँ हारको कारण, आन्तरिक विवाद र आगामी रणनीतिबारे निर्णायक छलफल हुने कांग्रेसले जनाएको छ ।

Logo