मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। गृह मन्त्रालय प्रवेश गर्दा सिँढी नजिकैको भित्तामा ‘फ्लेक्स ब्यानर’मा केही तस्बिरहरू झुन्डिएका छन् । ढोकाबाट भित्र पस्ने जो–कोहीको नजर सिधै तिनै भित्तामा पुग्छ । ती तस्बिरमा ४५ अनुहार छन् । निर्जीव तस्बिर भए पनि तिनका आँखामा अधुरा सपना र परिवर्तनको आह्वान देखिन्छ ।

जिज्ञासा उठ्छ-यी तस्बिर गृह मन्त्रालयको ढोकैमा किन ? केहीबेर रोकिएपछि उत्तर भेटिन्छ । ती तस्बिर तिनै व्यक्तिहरूका हुन्, जसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सुशासन र परिवर्तनको माग गर्दै ज्यान गुमाएका थिए ।

यी अनुहारहरू केवल तस्बिर मात्र होइनन्, आशा, विद्रोह र बलिदानका चिन्ह हुन् । भित्तामा टाँसिएका यी तस्बिर हेर्दा अझै पनि ठूलो आवाजमा केही भनिरहेका जस्तो लाग्छ-हामीले दिएको बलिदान बिर्सिनु हुँदैन ।

बाहिर जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूका तस्बिर छन् भने भित्र गृहमन्त्री ओमप्रकाश अर्यालको टेबल अगाडि पृथ्वीनारायण शाहको तस्बिर छ । यसले इतिहास र वर्तमान एउटै ठाउँमा भेटिएको आभास दिन्छ ।

गृहमन्त्री अर्यालका अनुसार यी दुवै तस्बिरले नेपालको इतिहास देखाउँछन् । कार्यालयमा छिर्दा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूका तस्बिरले सुशासनको माग सम्झाउँछन्, जसले उनीहरूमाथि राखिएको भरोसा र जिम्मेवारी देखाउँछ । त्यस्तै, टेबल अगाडि रहेको पृथ्वीनारायण शाहको तस्बिरले आफूहरू यहाँ हुनुको अर्थ सम्झाउँछ ।

बाहिर जीवन सामान्यजस्तै देखिए पनि देश परिवर्तनको मोडमा छ । जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारले निर्वाचन सम्पन्न गरिसकेको छ । अब नयाँ सरकार बन्ने तयारी भइरहेको छ, जसको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने स्पष्ट देखिएको छ ।

मन्त्री अर्यालले ती तस्बिरहरूतर्फ हेर्दा आफूलाई जवाफ मागिएको जस्तो लाग्ने बताउँछन् । “के हामीले उनीहरूको सपना पूरा गर्न सक्छौँ ?” भन्ने प्रश्न आफूलाई बारम्बार उठ्ने उनी बताउँछन् ।

यो प्रश्नको उत्तर सजिलो छैन । तर एउटा कुरा स्पष्ट छ—गृह मन्त्रालयको भित्तामा रहेका ती तस्बिरहरू केवल सम्झना मात्र होइनन्, चेतावनी पनि हुन् । तिनले हरेक दिन सरकार र नागरिकलाई सम्झाउँछन्, सुशासन शब्दमा होइन, काममा देखिनुपर्छ ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई सरकारले सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ कात्तिक १७ को राजपत्रमा सूचना प्रकाशन गरी सहिद घोषणा गरिएपछि गृह मन्त्रालयमा ४५ जनाको तस्बिर, नाम र ठेगानासहितको विवरण राखिएको छ ।

मन्त्रालयको प्रवेशद्वार नजिकै सहिदका तस्बिर छन् भने गृहमन्त्रीको कार्यकक्षमा पृथ्वीनारायण शाह र गोरखनाथका तस्बिर पनि राखिएका छन् ।

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूका तस्बिर गृह मन्त्रालयमा मात्र होइन, सिंहदरबारको दक्षिण प्रवेशद्वार, विभिन्न मन्त्रालय, देशभरका प्रमुख जिल्ला अधिकारी कार्यालय, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, सडक चोक र अन्य सार्वजनिक स्थानमा पनि राखिएका छन् । भ्रष्टाचार नियन्त्रण, बेथितिको अन्त्य र परिवर्तनको माग गर्दै गरिएको आन्दोलन र त्यस क्रममा ज्यान गुमाएकाहरूको सम्झनाका लागि यी तस्बिर राखिएका हुन् ।

जेनजी आन्दोलनपछि बनेको नागरिक सरकारको मुख्य काम फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नु थियो, जुन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेको छ । अब देश नयाँ सरकार निर्माणको चरणमा छ । निर्वाचनको नतिजा आइसकेपछि दलहरूले समानुपातिक सिट बाँडफाँड गरी निर्वाचन आयोगलाई बुझाइसकेका छन् । रास्वपाले झण्डै दुई तिहाइ सांसदसहित सरकारको नेतृत्व गर्ने अवस्था बनेको छ ।

गृहमन्त्री अर्यालका अनुसार ती तस्बिरहरूले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न निरन्तर दबाब दिने काम गर्छन् । जेनजी आन्दोलनले देशलाई नयाँ चरणमा पु¥याएको र अब सुशासन र आर्थिक विकासतर्फ अगाडि बढ्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।

जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भयो र सयौँ घाइते भए । त्यसपछि नागरिक सरकार गठन भयो । २०८२ असोज ३० मा अर्यालले गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । आन्दोलनपछि सरकार र आन्दोलन पक्षबीच १० बुँदे सहमति भएको थियो, जसको कार्यान्वयन अब नयाँ सरकारको जिम्मामा जानेछ ।

गृहमन्त्री अर्यालका अनुसार निर्वाचन सम्पन्न गरेर राजनीतिक व्यवस्थापनको नयाँ अभ्यास गरिएको छ । आगामी सरकारले युवाको अपेक्षाअनुसार काम गर्नुपर्नेछ । चुनौतीहरूका बीच पनि कानुनी प्रक्रिया अगाडि बढाइएको र निर्वाचनमार्फत व्यवस्थालाई पुनः व्यवस्थित गरिएको उनी बताउँछन् ।

Logo