काठमाडौँ, १८ माघ ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराज २५ घण्टे भ्रमणकालागि नेपाल आएकी छिन् । दिउँसो तीन बजे नेपाल आइपुग्ने कार्यतालिका रहेपनि उनी पौने पाँच बजे नेपाल आइपुगेकी थिइन् ।
स्वराजले साथीभाईसँगको सामान्य भेटघाटका लागी नेपाल आएको बताएकी छिन् । यद्यपी उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छोटो प्रतिकृया दिँदै विदेशमन्त्री स्वराजले भनिन्,”म कुनै राजनीतिक एजेण्डा लिएर नेपाली आएकी हैन्, साथीभाईसँगको भेटघाटका लागी नेपाल आएकी हुँ ।”
स्वराजलाई अर्थराज्यमन्त्री उदय शमसेर राणाले विमानस्थलमा स्वागत गरेका थिए । उनी विमानस्थलवाट सोझैं होटेल सोल्टीमा गएकी छिन् । होटल सोल्टीमा आज नेकपा एमालेले उनको स्वागतमा राखेको रात्री भोजमा सहभागि हुनेछिन् । आजै एमाले अध्यक्ष ओलीसँग वार्ता हुनेछ आज नै उनले मधेसी नेताहरुसंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
विदेश मन्त्री स्वराजले भोली शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा देखिएका केही दृष्यहरु
मूल गेटमा नै कडाई
स्वराज आज नेपाल आउने भएपछि एयरपोर्टमा सुरक्षा ब्यवस्था कडा गरिएको थियो । विदेश जाने आफन्तलाई एयरपोर्टसम्म पुर्याउन र आफन्तलाई लिन आएकाहरु सबै मूल गेटमा नै रोकिएका थिए । प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाउने उद्देश्यले सर्वसाधरणलाई भित्र जान दिएको थिएन । जसले गर्दा सर्वसाधरणहरु मूल गेट बाहिर नै जम्मा भएका थिए ।
पत्रकारलाई सास्ती
यसैबीच विमानस्थलमा फोटो पत्रकारहरुले केही सास्ती बेहोर्नुपरेको थियो । विदेश मन्त्री स्वराजले विमानस्थलमा पत्रकार सम्मेलन गरिनन् । आवागमन कक्षबाट बाहिर निस्केर सिधै उनि सोल्टी तर्फ लागेकी थिइन् ।
सबै तिर सुरक्षाको घेरा बनाइएको थियो । तर, यसबीच पनि प्रहरीले सबैलाई हटाएका थिए । यसै क्रममा प्रहरीले पत्रकारलाई समेत हटाउने प्रयास गरे । उनीहरुले हातमा क्यामेरा बोकेर फोटो खिच्न तयारीअवस्थामा रहेका पत्रकारलाई पछाडिबाट तान्दै बाहिर निकाल्ने प्रयास गरेका थिए ।
आगमन कक्ष पूर्ण बन्द
स्वराज नेपाल आइपुग्ने समय तीन बजे भनिए पनि एयरपोर्टको आगमन कक्ष २ बजेदेखि नै पूर्ण बन्द गरिएको थियो । विदेशबाट आएका आफन्तलाई लिन पुगेका सर्वसाधरण २ बजेदेखि नै अन्योलमा परेका थिए ।
उनीले कोही ठुलै नेता आएको अनुमान गरे पनि को आउने ? कति बजे आउने ? भन्ने केही जानकारी नभएको एक सर्वसाधरण बताए । सर्वसाधरण सबै चनाखो भए पनि यथार्थ जानकारी नपाएकाले रनभुल्लमा रहेका थिए ।





























प्रतिक्रिया