दोस्रो पुस्ताको राडार संचालमा आयो

दोस्रो पुस्ताको राडार संचालमा आयो

केन्द्रबिन्दु
0
Shares

– रमेश लम्साल/ सिबी अधिकारी

काठमाडौँ, १८ माघ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि दोस्रो पुस्ताको राडार औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ ।

प्राधिकरणका अनुसार आज देखि उक्त राडार सञ्चालनमा ल्याइएको हो । हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउने लक्ष्यका साथ उक्त राडार सञ्चालनमा ल्याइएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान गरिएको उच्च क्षमताका ‘टु जी राडार’ सञ्चालनमा आएसँगै देशको हवाई यात्रालाई सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

प्राधिकरण, जापानी दूतावास र जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले यही माघ १० गते बुधबार प्राविधिक पक्षको स्थलगत अनुगमन गरी राडार सञ्चालनबारे जानकारी लिएको थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हाल ६० एरोनटिकल माइल क्षमताको राडार सञ्चालनमा रहेकामा आजदेखि १ सय २० एरोनटिकल माइलमा स्तरोन्नति भएको छ । नयाँ प्रणाली जडानसँगै आकाशमा जहाज ‘होल्ड’ गर्नुपर्ने समस्याको अन्त्य हुनेछ ।

भट्टेडाँडाको ८ हजार २ सय फिट अर्थात् २ हजार ३ सय मिटर उचाइमा जडान गरिएको राडार र अन्तरराष्ट्रिय विमानस्थलमा जडित नयाँ प्रणालीको परीक्षण सफल भइसकेको छ ।

विगतमा रेडियो तरंगमार्फत वायुयानको जानकारी लिन सकिन्थ्यो भने आजदेखि सञ्चालनमा आएको राडारबाट श्रव्यदृश्यसहितको जानकारी लिन सकिने प्राधिकरणको दाबी छ । नयाँ राडार जडानपछि हवाई यात्रा सुरक्षित बनाउन मद्दत पुग्नेछ । उक्त राडारको लागत १ अर्ब रुपैंया बराबरको छ ।

आजदेखि सञ्चालनमा आएको राडारको गतिविधिबारे सात दिनसम्म नियमित अनुगमन गरी त्यसबाट प्राप्त भएको तथ्यांकलाई विश्लेषण गरिनेछ । ‘राडारको कामको सूक्ष्म अनुगमन पछि त्यसको प्रभावकारिता के कति रहेको छ भन्ने जानकारी दिइन्छ । पहिलो दिनमा नै हवाई उडानमा केही सहजता थपिएको छ,” प्रवक्ता ठाकुरले बताए ।

नयाँ राडारबाट काठमाडौंदेखि ४ सय ५० किलोमिटरको दूरीमा रहेका जहाजको अवस्थाबारे जानकारी लिन सकिने भएको छ । विभिन्न उचाइमा उडिरहेका जहाजको अवस्थाका बारेमा जानकारी लिन वा दिन सकिने छ ।

राडार जडानपछि नेपालको बाटो प्रयोग गर्दा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई समेत सहज हुने र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आवतजावत गर्ने सम्पूर्ण विमानको अवस्था जानकारी पाउन सहज हुने उनको भनाइ छ । भट्टेडाँडामा जडान गरिएको ‘इन रुट राडार’ र विमानस्थलमा जडित ‘टर्मिनल राडार’ले हवाई उडानलाई थप व्यवस्थित र सुरक्षित बनाउने प्राधिकरणको भनाइ छ ।

नयाँ राडार सञ्चालनमा आएपछि देशका धेरै भूभाग समेटिने र उडान थप सुरक्षित हुने प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । उनले हवाई सुरक्षाको क्षमता अभिवृद्धि भएको र ट्राफिक व्यवस्थापनमा समेत सहजता थपिएको स्पष्ट पारे । ‘नेपालको हवाई आकाश सुरक्षित बनाउन यो प्रविधिले ठूलो भूमिका खेल्नेछ,” उनले भने ।

नेपालको पूर्वका सबै भूभाग र पश्चिममा सुर्खेतसम्मको विमानको गति, उचाइलगायतका विषयमा जानकारी पाउन सकिने प्राधिकरणले बताएको छ । पुरानो राडारले करिब १ सय १० किलोमिटर (६० एरोनटिकल माइल) परसम्मको जहाजको अवस्था थाहा पाउन सकिन्थ्यो भने भट्टेडाँडामा जडान गरिएको नयाँ राडारबाट ४ सय ५० किलोमिटर (२ सय ५० एरोनटिकल माइल)सम्मको जहाजको सम्पूर्ण जानकारी थाहापाउन सकिन्छ ।

निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि हाल जडित राडारलाई विस्तार गर्ने योजना अगाडि सारिएको छ । उक्त विमानस्थलमै नयाँ राडार जडान गरेर देशको सबै उडान क्षेत्र समेट्ने तयारी पनि सँगसँगै भइरहेको छ । आगामी डेढ वर्षभित्र उक्त विमानस्थल सञ्चालनमा ल्याउने तयारी छ ।

Skip This
Skip This
Logo