सिरहा। लहान नगरपालिका–१५ स्थित हात्तीदह क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह वनस्टे’ सञ्चालनमा आएको छ । ‘होमस्टे’ जस्तै अवधारणामा आधारित वनस्टेले पर्यटकलाई प्राकृतिक वातावरणसँगै स्थानीय कला र संस्कृतिको अनुभव दिने लक्ष्य राखेको छ ।
कोइरालो खोला नमुना वन उपभोक्ता समूहले सामुदायिक वनभित्र रहेको हात्तीदह सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै आएको थियो । सोही क्षेत्रमा वनस्टे स्थापना गरिएको हो । निर्माणका लागि जर्सी ओभरसिज एडको सहयोगमा केयर नेपाल, फेकोफन र राष्ट्रिय कृषक समूह महासंघको साझेदारीमा सञ्चालित परियोजनाले सहकार्य गरेको छ ।
पहिलो चरणमा दुई कोठाको पाहुना घरबाट सेवा सुरु गरिएको छ । वनस्टे परिसरमा तालिम हल, वनभोजस्थल, बोटिङ सुविधा, बाल उद्यान, सानो चिडियाखाना र सेल्फी स्थल बनाइएको छ ।
वन र सिमसार क्षेत्र संरक्षणसँगै स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्य राखिएको छ । हरियाली वातावरण र शान्त परिवेशका कारण पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ ।
वनस्टे निर्माणमा परियोजनाबाट ८ लाख ६ हजार ८८ रुपैयाँ र उपभोक्ता समूहबाट ३ लाख ६७ हजार २९५ रुपैयाँ खर्च भएको छ । नगरपालिकाले थप २० लाख रुपैयाँ बजेट विनियोजन गरेर थप संरचना निर्माण गर्ने तयारी गरेको छ ।
यहाँ आउने पर्यटकलाई थारु समुदायको संस्कृति देखाउने र स्थानीय परिकार खुवाउने योजना छ । हाल वनस्टेमा प्रतिव्यक्ति ८ सय रुपैयाँमा खान र बस्न सुविधा उपलब्ध छ ।
हात्तीदह क्षेत्र लहान बजारबाट करिब ५ किलोमिटर उत्तर चुरेफेदमा पर्छ । पछिल्लो समय यहाँ दैनिक दुई हजारभन्दा बढी पर्यटक आउने गरेका छन् र स्थानीयस्तरमा रोजगारीसमेत बढेको छ ।





























प्रतिक्रिया