केन्द्रबिन्दु विशेष संवाददाता ।

झण्डै ३० बर्षअघि सुदुर पश्चिम नेपालको एउटा गाउँबाट बेपत्ता भएर डेढ बर्षअघि मात्रै पाकिस्तानको बलुचिस्तान प्रान्तमा भेटिएका एक नेपाली १४ महिनासम्म स्थानीय कारागारमा थुनामा परेर एक साताअघि थुनामुक्त भएका छन् । "/>

पाकिस्तानको क्वेटा जेलबाट छुटे नरेन्द्रबहादुर

पाकिस्तानको क्वेटा जेलबाट छुटे नरेन्द्रबहादुर

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु विशेष संवाददाता ।

झण्डै ३० बर्षअघि सुदुर पश्चिम नेपालको एउटा गाउँबाट बेपत्ता भएर डेढ बर्षअघि मात्रै पाकिस्तानको बलुचिस्तान प्रान्तमा भेटिएका एक नेपाली १४ महिनासम्म स्थानीय कारागारमा थुनामा परेर एक साताअघि थुनामुक्त भएका छन् ।

आफूलाई बैतडी, हटैराज–२ मुलघर भएको नरेन्द्रबहादुर चन्द भनेर चिनाउँदै झण्डै दुई बर्षअघि फेसबुकमार्फत घर फर्कन चाहेको बताएर सार्वजनिक आह्वान गरेलगत्तै सुरक्षा निगरानीमा परेका चन्दलाई क्वेटास्थित कारागारमा राखिएको थियो ।

एक अफगानी मुलकी शरणार्थी महिलालाई विवाह गरेर दुई छोराछोरी समेत जन्माएका नरेन्द्रलाई परिवारको अनागरिक स्थितीमा प्रश्न उठाउँदै सामाजिक सुरक्षामा खलल पुर्याएको भनेर स्थानीय सुरक्षा निकायले थुनामा राखेको जवाफ दिइएको थियो ।

सामाजिक सुरक्षाको प्रतिकुलतासहितका कारणले थुनामा राखिएका नरेन्द्रलाई घरफिर्ती (डिपोर्टेसन) प्रकृयाबाट मात्रै नेपाल पठाउन सकिने स्थिती रहेकाले कुटनीतिक कठीनाइ उब्जिएको छ । बिशेषगरी उनले विवाह गरेकी श्रीमती अझैसम्म अनागरिक स्थितीमा छिन् भने हुर्केका छोराछोरीको जन्मदर्ता समेत भएको छैन ।

जेल पर्नुअघि, इश्लामाबादस्थित नेपाली राजदूत सेवा लम्साल अधिकारीलाई चन्दले नेपाल फिर्न र आफन्तको साथमा जीवन बिताउन आफू अत्यन्त इच्छुक रहेको भएपनि साथमा छोराछोरी र श्रीमतीलाई लिएर जान चाहेको बताएका थिए । उनकी श्रीमती र छोराछोरी स्थानीय पास्तुन भाषामात्रै बोल्न सक्छन् । घर फर्कन चाहने यी नेपालीका लागि आवश्यक परेमा हवाइ टिकट र अन्य खर्च दिन केही नेपाली दाताहरु तयार भैसकेका छन् । तर घरफिर्तीको प्रकृया निकै जटिल देखिएको छ ।

नरेन्द्रबहादुर चन्द परिवारमा ६ भाइमध्येका कान्छा हुन् । हाल भैरवहाको एक नीजि बैंकमा सुरक्षा गार्ड रहेका उनका माइला दाजु रणबहादुर चन्दले ‘बर्षौ बर्षदेखि हराइरहेको भाइलाई घर फिर्ता गराउन आफूले जिल्लादेखि केन्द्र तहसम्म हारगुहार गरिसकेको बताए । “भाषा बुझ्ने–नबुझ्ने जे भएपनि भाइले ल्याएकी केटी हाम्रै कुलकी बुहारी हो, भतिजा–भतिजी मेरै भाइका रगत हुन् । सबैलाई एकैसाथ घर फिर्ता ल्याइयोस् भनेर सरकारलाई अनुरोध गर्न चाहन्छु”,– रणबहादुरले फोनमा भने ।

कसरी पुगे नरेन्द्र बलुचिस्तान ?

स्थानीय बिद्यालयमा ६ कक्षाको परीक्षामा फेल भएपछि घर नजिकैको भारतीय बजार झुलाघाटमा भागेर गएका नरेन्द्रबहादुर चन्दले जीवनमा फेरि घर फर्कन नसकिएला अथवा नपाइएला भन्ने सोचेकै थिएनन् ।

भारतको पिथौरागढ जिल्ला अन्तर्गत झुलाघाटको एउटा लोकल होटलमा भाँडा माझिरहेका बेला भेटिएका एक अपिरिचतले ‘नयाँ ठाउँमा दामी काम दिलाउने’ आश्वासन दिलाएपछि नरेन्द्रबहादुर ती अपिरिचतका पछि लागेका थिए । भारत–पाकिस्तान ब्यापार गर्ने ती व्यक्तिले बागा बोर्डर हुँदै लाहोरसम्म जाने प्रबन्ध मिलाएको र त्यहाँबाट कराँचीमा लगेर होटलमा काम गर्न अहएपछि मात्रै नरेन्द्रले आपूm परिबन्दमा परेको थाहा पाएका थिए ।

त्यसबेला उमेरमा भर्खर १४ लागेका नरेन्द्रले लगातार १५ बर्ष कराँचीको होटलमा काम गरेका रहेछन् । त्यसपछिका ८ बर्ष बलुचिस्तानको क्वेटास्थित अर्को होटलमा उनी कामदार बनेछन् । उनले बैतडीस्थित घरको खुबै सम्झना गरिरहेको र बीचमा दुइ पटक हुलाकबाट पत्र पठाएर पनि जवाफ नपाएको बताएका थिए ।

आफ्नो परिवारका दुइ दाजु गजबहादुर र रणबहादुर त्यसबेलै शाहीसेनाका जागिरे रहेकाले पनि आफ्नो खोजवीन हुन सक्ने आश नरेन्द्रले गरेका रहेछन् । तर, बर्षौबर्ष बितिसक्दा पनि आफन्तको कुनै अत्तोपत्तो लाग्न नसक्दा र त्यत्तिका बर्ष कोही नेपालीसँग भेट हुन नसक्दा जीवन यत्तिकै बित्ने उनले ठानेका थिए । कुनै एकदिन घर फर्कने सोचाइ बनाएर बसिरहेपनि सबैतिरबाट हार खाएपछि नरेन्द्रले इश्लाम धर्म कबुल गर्दै चमन क्षेत्रमै बस्ने अफगानी शरणार्थी परिवारकी छोरी बिहा गरेका रहेछन् ।

“फरक धर्म र जिन्दगी कबुल गरेपछि म महम्मद अयुब खान बनेको छु, मेरो छोरो इरफान १२ बर्ष र छोरी सवानिसा १० बर्षकी छे”,नरेन्द्रले भनेका थिए । अहिले उनी श्रीमती मरियाम र दुइ छोराछोरी चमन गाउँमा शरणार्थी हैसियतमा बसिरहेका छन् ।

सामान्य मजदुरी गरेर रोजीरोटी बनाइरहेका ‘अनागरिक’ नरेन्द्रले आफू युद्धरत भूमीमा आइपुगेको र आफू शरणार्थीसरह भएकै कारण कुनै पनि बेला कडा कानूनी कारवाहीमा पर्न सक्ने पत्तो पाएपछि फेसबुकमार्फत घरफिर्तीको गुहार मागेका थिए ।

बलुचिस्तानको चमन जिल्ला क्षेत्र अफगानिस्तानसँग जोडिएको सिमारेखा भएकाले र सिमारेखामा सबैभन्दा चर्को युद्धग्रस्त क्षेत्र भएकाले पनि नरेन्द्र दिनहुँ जीवन–मृत्युको घेरामा पर्दा रहेछन् । चमन क्षेत्रमा रहेका अफगानी शरणार्थीलाई बाहिर धपाउने र पहिचान नरहेकालाई जेल हाल्ने काम भैरहेका बेला नरेन्द्र स्थानीय क्वेटास्थित बोलान मेडिकल कलेजमा पढ्ने नेपाली बिद्यार्थीको सम्पर्कमा आएका रहेछन् ।

“सुरुमा त नरेन्द्रको कुरा सुनेर अचम्मै लाग्यो । पछि घरपरिवार बुझ्दै जाँदा कुरा सत्य हो रहेछ भन्ने ठहर भयो”,बोलानमा एमबीबीएस अन्तिम बर्षका बिद्यार्थी राजेन्द्र फुलाराले फोनमा भने—“हामीले फेसबुकमा नरेन्द्र दाइको ३० बर्ष पुरानो फोटो देखेर त्यसको यथार्थ पहिल्याउन खोजी थालेका थियौं, त्यहाँबाट उनको गाउँघर सम्पर्कमा जोडिएको हो ।” डोटी घर भएका राजेन्द्रसहित गोर्खाका गजेन्द्र आचार्य र अरु बिद्यार्थीले नरेन्द्रलाई नागरिक हैसियत दिन तथा बैतडी घर फिर्ता गराउन इश्लामाबादस्थित नेपाली दूतावासलाई पनि आग्रह गर्दै आएका छन् ।

४४ बर्षिय नरेन्द्रले भने जेजसरी हुन्छ, आफ्नो मातृभूमी फर्कन चाहेका छन् । “म मेरो परिवारै लिएर फर्कन चाहन्छु,”उर्दु मिसिएको बोलीमा नरेन्द्रले फोनमा भनेका थिए—“यी छोराछोरी र श्रीमतीलाई म कसरी यत्तिकै छाड्न सक्छु ?” आफूलाई यो बिरानो भूमिमा ल्याइपुर्याउने मालिक (अलदा खान)को ७ बर्षअघि निधन भएकाले आफूले हारगुहार गर्ने ठाउँ पनि कतै नपाएको उनको दुःखेसो थियो । बैतडीस्थित घरमा पनि ३० बर्षदेखि बेपत्ता रहेको छोरो नरेन्द्रबारे खबर पुगिसकेको छ । नरेन्द्र यो दुनियाँमा अझै जीवितै रहेको खबर पाएर घरपरिवारका आफन्तजन आश्चर्यमा परेका छन् ।

पाकिस्तानको चमन जिल्ला अफगानिस्तानको कान्दाहार प्रान्तसँग जोडिएको युद्धग्रस्त क्षेत्र हो । बलुचिस्तान प्रान्तमा मात्रै ७० हजारभन्दा बढी अफगानी शरणार्थी रहेको र पछिल्लो बर्षयता पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले शरणार्थी पहिचान तथा घरफिर्तीको अभियान कडाइका साथ अघि बढाएका छन् ।

Logo