इरानले खाडीका तेल उद्योगलाई किन बनाउँदैछ निशाना ?

इरानले खाडीका तेल उद्योगलाई किन बनाउँदैछ निशाना ?

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । इरानले मध्य पूर्वका प्रमुख ऊर्जा केन्द्रहरूलाई लक्षित गरी सिलसिलाबद्ध आक्रमण सुरु गरेपछि विश्वभर इन्धन आपूर्ति र सुरक्षा व्यवस्थामा गम्भीर चुनौती थपिएको छ।

मार्च १८ मा कतारस्थित विश्वकै ठूलो तरल प्राकृतिक ग्यास हबमा भएको आक्रमणपछि इरानले आफ्नो सैन्य अभियानलाई साउदी अरब र कुवेतका तेल प्रशोधन केन्द्रहरूसम्म विस्तार गरेको हाे ।

इजरायलले इरानी ग्यास क्षेत्रमा गरेको हवाई हमलाको बदलास्वरूप इरानले यी आक्रमणहरू गरेको दाबी गरिएको छ। पछिल्लो २४ घण्टामा साउदी अरबको रेड सीस्थित रिफाइनरी र कुवेतका दुई प्रमुख तेल प्रशोधन केन्द्रहरूमा भीषण आगलागी भएको छ । सैन्य रणनीतिज्ञहरूका अनुसार इरानको यो कदम खाडी राष्ट्रहरूको अर्थतन्त्रमा धक्का पुर्‍याउने र अमेरिकासँगको उनीहरूको सम्बन्धमा दरार ल्याउने रणनीतिको हिस्सा हो।

इरानको यो कदमले विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि गराएको छ। फेब्रुअरीको अन्त्यमा प्रति ब्यारेल ६८ डलर रहेको ब्रेन्ट क्रुडको मूल्य अहिले करिब १०० डलर पुग्न लागेको छ। स्ट्रेट अफ हर्मुजमा भइरहेको अवरोध र ऊर्जा पूर्वाधारमा भएको क्षतिले आपूर्ति शृङ्खला बिग्रिएपछि विभिन्न देशहरूले आपत्कालीन उपायहरू अपनाउन थालेका छन्।

गोल्डम्यान स्याक्सका अनुसार यो युद्ध अप्रिलको अन्त्यसम्म लम्बिएमा कतार र कुवेतको कूल गार्हस्थ्य उत्पादनमा १४ प्रतिशतसम्मको गिरावट आउन सक्छ। यसैगरी, फिलिपिन्सले इन्धन खपतमा २० प्रतिशतसम्म कटौती गर्न निर्देशन दिएको छ भने भियतनामले कर्मचारीहरूका लागि ‘वर्क फ्रम होम’ नीति लागू गरेको छ।

आक्रमणको प्रभाव अमेरिकाको आन्तरिक राजनीतिमा समेत देखिएको छ। अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालिन ३.६० डलर पुगेको छ, जसले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दबाबमा पारेको छ। महँगी नियन्त्रण गर्ने चुनावी एजेन्डासहित सत्तामा फर्किएका ट्रम्पका लागि यो मूल्य वृद्धि ठूलो टाउको दुखाइ बनेको छ।

यसका साथै, इरानले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारहरूमा पनि ड्रोन र मिसाइल प्रहार जारी राखेको छ, जसमा अहिलेसम्म ७ जना अमेरिकी सैनिकको मृत्यु भइसकेको छ। विज्ञहरूका अनुसार इरानले आफ्नो सैन्य क्षमता प्रदर्शन गरेर आन्तरिक सुरक्षा बललाई विश्वासमा लिन र बाह्य दबाब सिर्जना गरी युद्ध अन्त्यका लागि अमेरिकालाई बाध्य पार्न खोजिरहेको छ।

Skip This
Skip This
Logo