किन केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् सार्वजनिक बस ?

किन केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् सार्वजनिक बस ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न केन्द्रीय बसपार्क (नयाँबसपार्क) निर्माण गरेको हो । ठूलो लगानीमा बसपार्क बनाइए पनि सार्वजनिक सवारीसाधन भने बसपार्क बाहिरबाटै सञ्चालन हुँदै आएका छन् ।

सार्वजनिक यातायात व्यवस्थापन तथा सुधारका लागि काठमाडौँ महानगरपालिकाको पहलमा विसं २०५० मा नयाँबसपार्क स्थापना भए पनि कतिपय सवारीसाधन हाल पनि बाहिरै पार्किङ गरी सञ्चालन हुँदै आएका छन्।

काठमाडौँ महानगरपालिकाले विसं २०८० जेठ १९ गते सूचना प्रकाशित गरी काठमाडौँको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सोही वर्ष असार १ गतेदेखि नयाँबसपार्क बाहिर सञ्चालन हुँदै आएका यात्रुवाहक सवारीसाधनलाई बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै केही सवारीसाधन भित्रबाट सञ्चालन हुन थाले पनि अझै केही बाहिरबाटै सञ्चालन भइरहेका छन्।

मधेस प्रदेश तथा बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप, नुवाकोट, रसुवा, धादिङ, मकवानपुरलगायत स्थानमा सञ्चालन हुने सवारीसाधन नयाँबसपार्कभित्रबाट सञ्चालन हुँदैनन्। मधेस प्रदेशका अधिकांश जिल्लामा जाने सवारीसाधन पशुपति, गौशाला, चावहिल र धोविखोला करिडोरबाट सञ्चालन हुन्छन्। दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र रामेछापतर्फ जाने सवारीसाधन कोटेश्वरमा अस्थायी बसपार्क बनाएर सञ्चालन हुँदै आएका छन्। रसुवा, नुवाकोट र धादिङतर्फका सवारीसाधन माछापोखरी सडक र मकवानपुरतर्फका सवारीसाधन बल्खुबाट सञ्चालन हुँदै आएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार नारायणी पश्चिमका सबै सार्वजनिक बस नयाँबसपार्कबाट सञ्चालन भए पनि नारायणी पूर्व र छोटो दूरीका सवारीसाधनले निर्णय पूर्ण रूपमा पालना गर्न सकेका छैनन्।

काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी, ट्राफिक प्रहरी र लोत्से बहुउद्देश्यीय प्रालिका प्रतिनिधिबीच सबै सार्वजनिक सवारीसाधन नयाँबसपार्कबाट सञ्चालन गर्ने सहमति भए पनि कार्यान्वयनमा समस्या देखिएको छ। महासचिव गौतमका अनुसार यातायात व्यवसायीबीचको प्रतिस्पर्धा र समन्वयको कमीका कारण निर्णय प्रभावकारी रूपमा लागू हुन सकेको छैन।

ट्राफिक प्रहरीले पनि लामो दूरीका दिवा तथा रात्रिबसलाई नयाँबसपार्कबाट सञ्चालन गर्ने व्यवस्था लागू गरेको जनाएको छ। नयाँबसपार्कमा नजाने सवारीसाधनलाई कारबाही गरिँदै आएको छ। बाटो इजाजतअनुसार गन्तव्यमा नपुगी जथाभावी पार्किङ गर्ने सवारीसाधनलाई यातायात व्यवस्था ऐनअनुसार कारबाही हुने व्यवस्था छ।

काठमाडौँ महानगरपालिकाले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा मजदुरसँग सहकार्य गरिरहेको जनाएको छ। चक्रपथ वरपरका अधिकांश टिकट काउन्टर हटाइसकिएको र बाँकी हटाउने तयारी भइरहेको छ।

नयाँबसपार्क १६१ रोपनी क्षेत्रफलमा फैलिएको छ, जहाँ आठ सयभन्दा बढी सवारीसाधन पार्किङ गर्न सकिन्छ। हाल काठमाडौँ उपत्यकामा झण्डै १८ लाख सवारीसाधन सञ्चालनमा छन्। सवारीसाधनको संख्या बढ्दै जाँदा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

Logo