पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औं स्मृति दिवश मनाईंदै

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औं स्मृति दिवश मनाईंदै

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। नेपालमा सशस्त्र द्वन्द्वको अन्त्यदेखि गणतन्त्र स्थापना सम्मको ऐतिहासिक यात्रामा नेतृत्वदायी भूमिका खेलेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवश आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

२०६६ चैत ७ गते निमोनियाका कारण निधन भएका कोइरालालाई नेपालको राजनीतिक रूपान्तरणका मुख्य सूत्रधारका रूपमा स्मरण गरिन्छ । चारपटक प्रधानमन्त्री बनेका उनले माओवादी जनयुद्ध अन्त्य गरी शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन निर्णायक भूमिका खेलेका थिए ।

राजतन्त्रप्रतिको जनविश्वास कमजोर हुँदै गएको अवस्थामा उनले आन्दोलनको नेतृत्व सम्हाल्दै दलहरूलाई एकीकृत गरेका थिए । २०६३ वैशाख ११ गतेको ऐतिहासिक दिन-विघटित प्रतिनिधिसभा पुनःस्थापना-उनकै नेतृत्वको आन्दोलनको परिणाम थियो, जसलाई नेपालको ‘म्याग्नाकार्टा’को रूपमा पनि चिनिन्छ ।

त्यसपछि पुनः प्रधानमन्त्री बनेका कोइरालाको नेतृत्वमा राजसंस्थाको शक्ति सीमित गरियो र देशलाई लोकतान्त्रिक मार्गमा अघि बढाइयो । माओवादी शक्तिलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने, हतियार व्यवस्थापन गर्ने र संविधानसभा निर्वाचन सम्पन्न गर्ने जस्ता महत्वपूर्ण कामहरू पनि उनकै कार्यकालमा सम्भव भए ।

उनकै नेतृत्वमा २०६५ जेठ १५ गते २४० वर्ष लामो राजसंस्थाको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो ।

आजको दिन नेपाली कांग्रेससहित विभिन्न संघसंस्थाले उनलाई शान्ति, लोकतन्त्र र परिवर्तनका अभियन्ताका रूपमा सम्झिँदै कार्यक्रम आयोजना गरिरहेका छन् ।

Logo