गण्डकी। नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले रविप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा विकासप्रसाद कंडेल, द्वितीय उपाध्यक्षमा भुवानीप्रसाद अधिकारी, महासचिवमा श्यामप्रसाद लामिछाने, सचिवमा शोभाखर तिवारी, कोषाध्यक्षमा सुमन कुँवर र सह–कोषाध्यक्षमा संगीता अधिकारी आचार्य चयन भएका छन् । सदस्यहरूमा आनन्दराज अधिकारी, रविन्द्र कुँवर, मित्रलाल अधिकारी, प्रतिक लामिछाने र सुरज सापकोटा रहेका छन् ।
अधिवेशनका लागि वरिष्ठ अधिवक्ता कृष्णबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । समितिमा केन्द्रीय अध्यक्ष भीमबहादुर गोले तामाङसहित मदन शर्मा, सोमबहादुर थापा, महेश सापकोटा, बोबरजंग गुरुङ र बाबुराम पाण्डे रहेका थिए ।
नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष दुर्गादत्त दाहाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेलगायतले बधाई दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष आचार्यले पर्यटक यातायात सेवालाई गुणस्तरीय बनाउँदै हरियो नम्बर प्लेटको गरिमा कायम राख्न आफूहरू सक्रिय रहने बताए ।
यसैबीच, रासस गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेललाई पत्रकारितामार्फत पर्यटन क्षेत्रमा योगदान पुर्याएको भन्दै नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । साथै, हरियो नम्बर प्लेटको पर्यटक यातायात भित्र्याउने हरिध्वज तुलाचन तथा उत्कृष्ट कर्मचारीद्वय श्रीप्रसाद खतिवडा र इन्द्र राना मगरलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले पर्यटन क्षेत्रमा पर्यटक यातायातको भूमिका, सेवा गुणस्तर र व्यवस्थापन सुधारका विषयमा चर्चा गरेका थिए ।































प्रतिक्रिया