हिदी–मालिका सडक निर्माण सुरु, स्थानीयकै पहलमा काम अघि बढ्दै

हिदी–मालिका सडक निर्माण सुरु, स्थानीयकै पहलमा काम अघि बढ्दै

केन्द्रबिन्दु
15
Shares

म्याग्दी। मङ्गला गाउँपालिका–२ हिदीदेखि धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने सडक निर्माण सुरु भएको छ ।

गाउँपालिका र स्थानीयको साझेदारीमा हिदीदेखि सुर्ती चढाउने डाँडा, गिद्रे देउराली, धौलेखर्क हुँदै जोगी देउरालीसम्म सडक विस्तार गर्ने काम अघि बढाइएको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको २१ लाख रुपैयाँबाट काम सुरु गरिएको थियो ।

प्रारम्भिक बजेट सकिएपछि स्थानीयले चन्दा सङ्कलन गरेर निर्माणलाई निरन्तरता दिएका छन् । हालसम्म हिदीदेखि सुर्ती चढाउने डाँडासम्म २.५ किलोमिटर र थप एक किलोमिटर सडक मार्ग खुलिसकेको छ ।

अब थप ५०० मिटर सडक निर्माण भएपछि गिद्रे देउरालीसम्म पुग्नेछ । त्यसपछि जोगी देउरालीसम्म सडक पुर्‍याउन करिब १८ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखिएको छ । पहिलो चरणका लागि ६ लाख रुपैयाँ जुटिसकेको छ ।

सडक निर्माणमा देश–विदेशमा रहेका हिदीवासीले सहयोग गरिरहेका छन् । सडक सञ्चालनमा आएपछि बेनीदेखि हिदी हुँदै मालिका पुग्न चार घण्टा लाग्ने समय घटेर करिब दुई घण्टामा सीमित हुने अपेक्षा गरिएको छ ।

समुद्री सतहदेखि करिब ३,४०० मिटर उचाइमा रहेको मालिका क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमश्रृङ्खलाको दृश्य अवलोकन गर्न सकिन्छ भने चण्डी, जेष्ठी र कार्तिक पूर्णिमामा विशेष पूजाआजा हुने गर्छ ।

Logo