नेत्र विशेषज्ञ डा. विद्याप्रसाद पन्तलाई ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’

नेत्र विशेषज्ञ डा. विद्याप्रसाद पन्तलाई ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’

केन्द्रबिन्दु
30
Shares

वीरगञ्ज। विसं २०८२ को ‘हिरालाल केडिया ज्योतिर्मय पुरस्कार’ नेत्र विशेषज्ञ डा. विद्याप्रसाद पन्तलाई प्रदान गरिएको छ ।

नेपालको आँखा उपचार सेवा विस्तार र अन्धोपन निवारणमा योगदान पुर्‍याएबापत उनलाई उक्त पुरस्कार अर्पण गरिएको हो । पुरस्कारको राशी दुई लाख ५१ हजार १११ रुपैयाँसहित सम्मानपत्र रहेको छ ।

नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित केडिया आँखा अस्पतालको ५१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो ।

विसं २०३१ मा स्थापना भएको केडिया आँखा अस्पतालले हालसम्म २८ लाखभन्दा बढी बिरामीको परीक्षण र ४ लाखभन्दा बढी शल्यक्रिया गरिसकेको छ । पछिल्लो एक वर्षमा मात्र १ लाख ३७ हजारभन्दा बढीको परीक्षण र करिब १७ हजार शल्यक्रिया गरिएको जनाइएको छ ।

कार्यक्रममा अस्पतालले बारा र पर्साका सशस्त्र प्रहरीका बोर्डर आउटपोस्टका लागि २८ स्ट्रेचर तथा दृष्टिविहीन विद्यालयका लागि थप ३ स्ट्रेचर हस्तान्तरण गरेको छ । साथै, केडिया छात्रवृत्ति कार्यक्रमअन्तर्गत दृष्टिविहीन र श्रवण क्षमता कमजोर भएका ६ विद्यार्थीलाई जनही ११ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

नेपाल नेत्रज्योति संघका अनुसार सन् २०२४ सम्मको अवधिमा २८ आँखा अस्पताल र २२६ उपचार केन्द्रमार्फत करिब ४ करोड ६८ लाखभन्दा बढीलाई सेवा दिइएको छ भने ५३ लाखभन्दा बढी शल्यक्रिया सम्पन्न भइसकेको छ ।

Logo