काठमाडौं। काठमाडौँ महानगरपालिकाले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका परीक्षार्थीलाई परीक्षामा सहभागी हुन विशेष व्यवस्था गरेको छ ।
महानगरले आधारभूत तह उत्तीर्ण परीक्षामा सहभागी हुने यस्ता विद्यार्थीलाई होम सेन्टरमै परीक्षा दिन सकिने सुविधा दिएको जनाएको छ । विशेष प्रकृतिका विद्यार्थीका लागि छुट्टै शैक्षिक वातावरण आवश्यक हुने भएकाले त्यसअनुसार योजना बनाइँदै गरिएको पनि बताइएको छ ।
शिक्षा नियमावलीअनुसार दृष्टिविहीन, बहिरा, सुस्तश्रवण तथा मनोसामाजिक अपाङ्गता भएका विद्यार्थीलाई उनीहरूले बुझ्ने साङ्केतिक भाषामा परीक्षा दिन सकिने व्यवस्था मिलाइएको छ । आवश्यक परे केन्द्राध्यक्षले अधिकतम एक घण्टा ३० मिनेटसम्म अतिरिक्त समय दिन सक्ने व्यवस्था छ ।
महानगरका अनुसार विशेष प्रकृतिका बालबालिकाका लागि प्रश्नपत्रबाट परीक्षा दिन कठिन भएमा विद्यालयले उनीहरूको सिकाइ क्षमताका आधारमा वैकल्पिक मूल्याङ्कन गरी नतिजा तयार गर्ने व्यवस्था गरिएको छ ।
यस वर्ष आधारभूत तह परीक्षाका लागि ५७ केन्द्र तोकिएको छ, जहाँ करिब १९ हजारभन्दा बढी विद्यार्थी सहभागी छन् । तीमध्ये सामुदायिक, संस्थागत, वैकल्पिक, धार्मिक विद्यालय तथा कारागारभित्रका विद्यालयका विद्यार्थी पनि सहभागी भएका छन् ।































प्रतिक्रिया