चितवन
मनबहादुर चेपाङ चितवनको पहाडी गाउँ सिद्धि रन्तेस स्थित राष्ट्रिय आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष हुन् । उनी १० वर्षका हुँदा कक्षा १ मा भर्ना भएका थिए । तीन कक्षा उत्तीर्ण गरेपछि उनको पढाइ छुट्यो । कक्षा ४ मा पढ्दा किताब किन्नु पथ्र्यो । ‘किताब किन्ने पैसा नहुँदा पढ्न पाइनँ’, मनबहादुरले भने । गाउँ देखि निकै टाढा विद्यालय भएका कारण उनी समयमा स्कुल जान सकेनन् । ‘६ वर्षको हुँदा विद्यालय भर्ना हुनु पर्नेमा स्कुल धेरै टाढा भएका कारण हिँड्न सक्दैन भनेर बाआमाले १० वर्षको भएपछि मात्रै पढाउन पठाए,’ उनले भने ।
मनबहादुरकी छोरीलाई यो समस्या छैन । गाउँ नजिकै खुलेको रन्तेसको स्कुलमा उनकी छोरी एस्टर चेपाङ कक्षा ४ मा पढ्छिन् । रन्तेस गाउँबाट दुई घन्टा पैदल हिँडेपछि कल्याणचौर पुगिन्छ । रन्तेसमा स्कुल नहुँदा पढ्न कल्याणचौरमा जानु पदथ्र्यो। मनबहादुर लगायतले निरन्तर प्रयास गरेपछि रन्तेसमा दुई वर्षअघि स्कुल खुल्यो । स्कुलका लागि मनबहादुरले जग्गा समेत दिए। तर स्कुल खुल्न सजिलो थिएन । उनका अनुसार सरकारी अधिकारी मात्रै हैन रन्तेसमा स्कुल खुल्दा छिमेकका गाउँले पनि सकारात्मक थिएनन् ।
‘साना केटाकेटी दुई घन्टा उरालो ओरालो गर्दै कसरी कल्याणचौर जाने ? मैले गाउँमै स्कुल खोल्नु पर्यो भनेर शिक्षा कार्यालयमा कुरा राख्दा सुरुसुरुमा शिक्षा अधिकारीले हप्काए,’ मनबहादुरले सुनाए । उनले अवस्था बुझ्न आग्रह गरेपछि शिक्षा कार्यालयले कर्मचारी खटायो । अवस्था बुझ्न गाउँ आएका कर्मचारीले शिक्षा कार्यालयमा ‘केटाकेटी त्यति टाढा जान सक्दैनन्, स्कुल खोल्दा राम्रो हुन्छ’ भन्ने सुझाव सहितको प्रतिवेदन बुझाए । त्यसपछि अब डाँडा उक्लेर जान नपर्ने भयो भनेर मनबहादुर खुसी भए । तर समस्या सकिएको थिएन । गाउँ देखि पश्चिममा निबुवाटार भन्ने ठाउँमा अर्को स्कुल थियो । रन्तेसमा स्कुल खुले आफ्नो विद्यालयमा पढ्ने केटाकेटी घट्छन् भन्ने शंका त्यहाँका शिक्षकलाई पर्यो ।
रन्तेसबाट निबुवाटार पनि लगभग दुई घन्टा पर छ । निबुवाटारका शिक्षकले असहमति जनाएपछि मनबहादुरलगायतलाई लाग्यो, हाम्रा केटाकेटी नहिँडी पढ्न नपाउने भए । गाउँका बाइसलाल चेपाङ अझै पनि आफ्ना छोरालाई निबुवाटार स्कुलमै पढाउँदै आएका छन् । लामो छलफल र सहमतिपछि मात्र सोचे जस्तो नतिजा निक्लिएको मनबहादुर बताउँछन् । ‘निबुवाटारका सरहरुसँग बसेर कुरा मिलाएपछि बल्ल स्कुल खुलेको हो नि,’ उनले भने । अहिले दुईवटा भवनमा ६५ जना विद्यार्थी अध्ययनरत छन् ।
अहिले मनबहादुरको मनमा भवन र कक्षा थप्ने चाहना छ । तर चाहेर मात्रै सबै काम हुँदैन । ‘डेक्स बेन्च त थिएन, ठाउँठाउँबाट सहयोग जुटेर बस्न मिल्ने पढाउन मिल्ने बनाएका छौं,’ विद्यालयका प्रधानाध्यापक दिनेश चेपाङले भने ।
नागरिकबाट





























प्रतिक्रिया