धनुषा
आफूलाई गाडीको व्यवस्था नगरिएको भन्दै धनुषा चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादवले निर्णय पुस्तिका (माइन्युट) च्यातेकी छिन् । मेयर रामबाबु यादव र प्रशासकीय अधिकृत डिकबहादुर कार्मीले मात्रै गाडी चढेर आफूलाई बेवास्ता गरेको, कार्यकक्ष राम्रो नभएको, ‘एट्याच्ड’ बाथरुम नभएको र निर्णय प्रक्रियामा सामेल नगराएको उनको आरोप छ ।
मेयर यादवका अनुसार उपमेयर मीनाले गाडी र तलबको माग गरी माइन्युट च्यातेकी हुन् । तर मीनाले भने त्यति कारणले मात्रै माइन्युट नच्यातेको बताइन् । ‘मलाई नगरपालिकाका दैनिक कार्य, विकास निर्माण लगायतका काम बारे जानकारी नै दिइँदैन, दुवै जनाले एकलौटी गर्छन्,’ उनले भनिन् । मीना माओवादी केन्द्रबाट र मेयर यादव संघीय समाजवादी फोरमबाट निर्वाचित हुन् ।
नगरपालिकाको गाडी मेयरको छोरा र परिवारका सदस्यले चढ्ने गरेको उपमेयर मीनाले बताइन् । ‘नगरपालिकाको गाडी मेयरका आफन्तहरूले चढ्ने, उपमेयर अनुगमन वा कार्यालयकै काममा जाँदा पनि चढ्न नपाउने ?’ उपमेयर मीनाले भनिन्, ‘गाडी मुख्य विषय होइन, मैले गाडीका लागि माइन्युट च्यातेको पनि होइन । म पनि जनप्रतिनिधि हुँ, म सँग कुनै विषयमा परामर्श गरिन्न । मेयर र अधिकृतले जनप्रतिनिधिको अपमान गर्छन्, त्यसैले च्यात्न बाध्य भएकी हुँ ।’ मेयर यादव र प्रशासकीय अधिकृत कार्मी बस्ने कार्यकक्षमा ‘एट्याच्ड’ बाथरुम भएको तर आफू भने बाहिर जानु पर्ने बाध्यता रहेको उनले बताइन् । आफ्नो कार्यकक्षमा पाँच जना भन्दा बढी नअटाउने उनको भनार्इ छ ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया