सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

केन्द्रबिन्दु
9
Shares

म्याग्दी। मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तारका लागि घरका पेटी र टहरा स्वस्फूर्त रूपमा भत्काउन थालेका छन् ।

दरवाङ बजारको सडक फराकिलो र कालोपत्र गर्न सञ्चालन गरिएको योजनामा स्थानीयले आफ्ना संरचना हटाएर सहयोग गरेका हुन् । वडा कार्यालयदेखि बिमतर्फ जाने साँघुरो सडकलाई छ मिटर फराकिलो बनाउन घरधनीले संरचना हटाइरहेका छन् । यसले निर्माण कार्य सहज भएको बताइएको छ ।

धौलागिरि टोलका ३६ र नयाँ बजार टोलका ३१ घरका पेटी तथा टहरा हटाउने नक्शाङ्कन गरिएको छ । दुवै टोलमा बैठकमार्फत मापदण्डअनुसार आवश्यक पर्ने जग्गा उपलब्ध गराउने र संरचना हटाउने सहमति गरिएको जनाइएको छ ।

अन्य स्थानमा सडक विस्तारका क्रममा विवाद हुने अवस्था देखिँदा दरवाङमा भने सहमतिमै काम अघि बढाइएको छ । कम क्षति हुने गरी संरचना हटाउने समझदारी गरिएको छ ।

गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुङ्गे पुल क्षेत्रमा सडक किनारका संरचना हटाएर करिब ४०० मिटर नाली निर्माण गरिएको थियो । यस वर्ष सङ्घीय सरकारको समपुरक योजनामार्फत दरवाङ बजारमा सडक कालोपत्र गर्ने काम सुरु भएको छ ।

रु एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुमान गरिएको योजनामा रु एक करोड २६ लाख ८२ हजार ८८८ मा सापकोटा बिल्डर्स छनोट भएको छ । २०८२ माघ ३० गते सम्झौता भएको यो योजना २०८३ असार १५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ । यसअन्तर्गत दरवाङ बजारको करिब १.४ किलोमिटर सडक कालोपत्र गरिनेछ ।

सडक विस्तारपछि सवारी आवतजावत सहज हुने अपेक्षा गरिएको छ । हाल साँघुरा सडकका कारण यातायात सञ्चालनमा कठिनाइ र दुर्घटनाको जोखिम रहेको छ ।

Logo