मार्ग खोलेको १८ वर्षपछि सडक स्तरोन्नति स्थानिय हर्षित

मार्ग खोलेको १८ वर्षपछि सडक स्तरोन्नति स्थानिय हर्षित

केन्द्रबिन्दु
9
Shares

म्याग्दी। बेनी नगरपालिका क्षेत्रमा पर्ने बगरफाँट–कोप्रे–दूधेखोला सडक १८ वर्षपछि स्तरोन्नति गरिएको छ । पूर्वाधार विकास कार्यालयमार्फत सडक फराकिलो बनाउने, घुम्ती सुधार, नाली र टेवा पर्खाल निर्माण गरिएको हो ।

२०६४ सालमा कृषि सडकका रूपमा खोलिएको उक्त सडक हाल स्तरोन्नति भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको छ । करिब साढे दुई किलोमिटर खण्ड सुधार गरिएपछि २० मिनेट लाग्ने यात्रा अहिले पाँच मिनेटमै सीमित भएको स्थानीयले बताएका छन् ।

हालसम्म सडकको करिब ८० प्रतिशत काम सकिएको छ । केही स्थानमा ढलान र मर्मतको काम बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।

झण्डै ५ करोड ५९ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको यस योजना प्रदेश सरकारअन्तर्गत सञ्चालन भएको हो । बजेट अभावका कारण केही काम प्रभावित भए पनि सडक स्तरोन्नतिले स्थानीय बासिन्दालाई ठूलो राहत पुगेको बताइएको छ ।

Logo