काठमाडौँ। मध्यपूर्वमा बढ्दो युद्धका बीच पनि नेपाली श्रमिकहरू रोजगारी जोगाउन जोखिम मोलेर खाडी मुलुक फर्किन बाध्य देखिएका छन् ।
छोटो बिदामा नेपाल आएका कतिपय कामदारलाई विदेशमा रहेका साथीहरूले नआउन सुझाव दिइरहेका छन् । तर, जागिर गुम्ने डरले उनीहरू पुनः फर्किन तयार छन् । कतार जान लागेका एक श्रमिक भन्छन्, “नजाऊँ भने कमाइ बन्द हुन्छ, जाऊँ भने ज्यानको डर छ ।”
विदेशमा रहेका धेरै कामदार भने घर फर्किन चाहँदा पनि आर्थिक जिम्मेवारीका कारण अड्किएका छन् । परिवार खर्च, छोराछोरीको पढाइ र घर बनाउने योजनाले उनीहरूलाई जोखिममै काम गर्न बाध्य बनाएको छ । यता सरकारले केही समय रोकेको श्रम स्वीकृति आंशिक रूपमा खुलाएपछि पुनः जाने कामदारको संख्या बढेको छ । दैनिक हजारभन्दा बढीले पुनः श्रम स्वीकृति लिइरहेका छन् ।
सरकारले केही सुरक्षित मानिएका देशमा मात्र श्रम स्वीकृति खुला गरेको छ भने उच्च जोखिम भएका देशमा अझै रोक कायम राखिएको छ । हाल करिब १७ लाखभन्दा बढी नेपाली खाडी मुलुकमा कार्यरत छन् । युद्धको जोखिम र आर्थिक बाध्यताबीच उनीहरूको अवस्था झन् जटिल बन्दै गएको छ ।































प्रतिक्रिया