रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

रौतहटमा बेमौसमी वर्षाले काँचो इँटा नष्ट, बीमा गर्न माग

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौँ मूल्य बराबरका काँचो इँटामा क्षति पुर्‍याएको छ ।

यहाँका ५० भन्दा बढी इँटा उद्योगका पकाउनका लागि इँटा  तयार पारिएका थिए । इँटा उद्योग व्यवसायी संघका अध्यक्ष रामविनोद साहका अनुसार वर्षाको कारण जिल्लामा सञ्चालित ५० इँटा उद्योगमा क्षति भएको छ ।

ती उद्योगमा करिब एक करोड ५० लाखभन्दा बढी काँचो इँटा नष्ट भएको छ । प्रत्येक काँचो इँटाको लागत औसतमा तीन रुपैयाँभन्दा बढी पर्ने भएकाले कुल नोक्सानीको रकम करिब साढे चार करोड रुपैयाँ बराबर भएको अनुमान छ । 

जिल्लाको बिके इँटा उद्योग, वीर इँटा उद्योग, पूजा इँटा उद्योग, एमबिआई इँटा उद्योग, सोना इँटा उद्योग, रामजानकी इँटा उद्योगलगायत ५० उद्योगमा बेमौसमी वर्षाले नोक्सानी भएको छ । गरुडा–५ महम्मदपुरस्थित रहेको एसपिएल इँटा उद्योगका सञ्चालकसमेत रहेका साहले उद्योगले निर्माण गरेका काँचो इँटा खुला स्थानमा सुकाउने क्रममा बेमौसमी वर्षाले नष्ट गरेको गुनासो गरे  ।

काचो इँटाको समेत बीमाको व्यवस्था गरिदिन इँटा व्यवसायी महासंघका केन्द्रीय सदस्य मोहन साहले माग गरेका छन् । गुजरा–७ स्थित रामजानकी इँटा उद्योगका सञ्चालक रहेका उनले बेमौसमी वर्षाको कारण इँटा व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताए। सरकारले वा सम्बन्धित निकायले काँचो इँटाको बीमा प्रणाली अवलम्बन गरिदिने हो भने यस्ता प्राकृतिक प्रकोपबाट इँटा व्यवसायीले राहत पाउने उनको भनाइ छ ।

Logo