एन्फा निर्वाचनसम्बन्धी आज तीन मुद्दाको सुनुवाइ हुँदै, अदालतको फैसलाले निर्वाचनको भविष्य नै बदल्ने

एन्फा निर्वाचनसम्बन्धी आज तीन मुद्दाको सुनुवाइ हुँदै, अदालतको फैसलाले निर्वाचनको भविष्य नै बदल्ने

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि जम्मा तीन दिन मात्र बाँकी छ ।

चैत १३ गते झापामा हुने भनिएको निर्वाचनअघि आज चैत १० गते उच्च अदालत पाटनमा तीनवटा मुद्दाको सुनुवाइ हुँदैछ । यी मुद्दाको फैसलाले निर्वाचनको भविष्य नै बदल्न सक्ने देखिएको छ ।

एन्फाले निर्वाचन घोषणा गरेको एक महिनाभन्दा कम अवधिमा उम्मेदवार बन्न नपाएको भन्दै उपाध्यक्ष विराटजंग शाही, सदस्य रुपेश अधिकारी र रविन चन्दले दायर गरेको रिटमा आज पेसी तोकिएको छ । यदि अदालतले उनीहरूलाई उम्मेदवारी दर्ता गराउने आदेश दियो भने निर्वाचन प्रक्रिया नै शून्यबाट सुरु गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसले निर्धारित मितिमा निर्वाचन सम्भव नहुन सक्ने स्पष्ट संकेत हो ।

अर्को महत्वपूर्ण मुद्दा वरिष्ठ उपाध्यक्ष पदको हो । उम्मेदवार दीपक खतिवडाले प्रतिस्पर्धी दावा लामाविरुद्ध लागुऔषध बेचबिखन मुद्दामा दोषी ठहर भइसकेको भन्दै उम्मेदवारी खारेजीको माग गरेका छन् । यो मुद्दामा खतिवडाको पक्षमा फैसला भएमा वरिष्ठ उपाध्यक्ष पदमा खतिवडा र सुन्दरनरसिंह जोशीबाहेक अरु कोही उम्मेदवार रहने छैनन् ।

तेस्रो मुद्दा थ्री स्टार क्लबको हो । क्लबले आफ्नो ‘ए’ डिभिजन हैसियत फर्काई त्यसअनुसार एन्फामा मताधिकार दिइनुपर्ने माग गरेको छ । हाल थ्री स्टारको ठाउँमा एपीएफ क्लबले ‘ए’ डिभिजनको हैसियतमा मताधिकार पाइरहेको छ । यदि थ्री स्टार क्लबले मुद्दा जितेमा एपीएफको मताधिकार स्वतः प्रभावित हुन्छ र निर्वाचन प्रक्रियामा ठूलो हलचल हुनेछ । यसले निर्वाचन मिति सर्न सक्ने सम्भावना समेत बढाउँछ ।

अर्कोतर्फ मुद्दा दर्ता गर्ने पक्ष पराजित भएमा निर्वाचन पूर्वनिर्धारित तालिकाअनुसार नै अघि बढ्ने देखिन्छ । तर, कुनै एक वा दुई मुद्दामा निवेदक पक्षले जित हासिल गरेमा निर्वाचनको सम्पूर्ण तालिका खत्तम हुने निश्चित छ ।
एन्फाको यो निर्वाचन पनि विवादरहित हुन सकेको छैन । छोटो सूचना, उम्मेदवारी दर्ताको अन्योल र क्लबहरूबीचको हैसियत विवादले फुटबलको सर्वोच्च संस्थालाई फेरि एकपटक कानुनी अड्डामा घिसारिरहेको छ ।

आजको फैसलाले निर्वाचन हुने वा नहुने मात्र होइन, एन्फाको नेतृत्व कसले पाउने भन्नेमा समेत निर्णायक भूमिका खेल्नेछ ।

Logo