सिन्धुपाल्चोक
स्थायी आवास निर्माणका लागि आवश्यक सामग्री नपाउँदा पुनर्निर्माणमा बाधा भएको छ । स्थानीय बजारमा सहज रूपमा निर्माण सामग्री नपाएकै कारण जिल्लाका अधिकांश भूकम्पपीडितले आवास निर्माणको काम रोकेका छन् । भूकम्पपीडितका लागि पर्याप्त सामग्री भित्र्याउन नपाएका कारण बजारमा अभाव भएको व्यवसायीहरू बताउँछन् । निर्माण सामग्रीको भाउ दिनै पिच्छे फरक हुन थालेपछि व्यवसायीले सामग्री लुकाएको भूकम्पपीडितको आरोप छ । सामग्री अभावकै कारण जिल्लाका अधिकांशले घरको डीपीसी मात्रै गरेर छोडेका छन् । “परेको पैसा दिन्छु भन्दा पनि सामान छैन भनेर टार्छन्,” इन्द्रावती गाउँपालिका–१२ का सन्तबीर माझीले भने, “भाउ बढ्ने भएकाले सामान लुकाएको हुन सक्छ ।” अहिले एक बोरा सिमेन्टको साँढे ११ सय सम्म पर्ने भए पनि आफूले भने नपाएको दुखेसो उनले पोखे । माझीले घरमा कामदार भए पनि सामग्री अभावकै कारण आवास निर्माण रोक्नु परेको बताए ।
आवास निर्माणका लागि सिमेन्ट, छड, बालुवा, गिटी जस्ता निर्माण सामग्री अभाव र मूल्यवृद्धिले घर बनाउन थालेका भूकम्पपीडितहरू चपेटामा परेका छन् । सामान खोज्न दैनिक बजार धाउँदा पनि पर्याप्त सामान नपाएको उनीहरू गुनासो गर्छन् । “गाउँमा दाङबाट ल्याइएका कामदार त्यत्तिकै बसिरहेका छन्,” चौतारा साँगाचोकगढी नगरपालिका–४ का हरि सापकोटा भन्छन्, “उनीहरूलाई कामै नगरी ज्याला दिनु पर्ने बाध्यता आइपरेको छ ।” आफूले समयमै सामग्री लैजान नसकेकाले यो अवस्था आएको उनको भनार्इ छ ।तीन साताको बीचमा एक बोरा सिमेन्टमा मात्रै झण्डै डेढ सय रुपैयाँ सम्म मूल्यवृद्धि भएको उपभोक्ताले बताएका छन् । छडको भाउ पनि बढेको छ । बढेकै मूल्यमा पनि उपभोक्तालाई सामान उपलब्ध गराउन व्यवसायीले सकेका छैनन् ।
भूकम्पपछिको पुनर्निर्माणले गति लिएसँगै क्रसर व्यवसायीले पनि गिट्टी र बालुवाको भाउ समेत ह्वात्तै बढाएका छन् । एक ट्रिप गिटी र बालुवामा चार देखि पाँच हजार रुपैयाँ मूल्य बढेको उपभोक्ताको गुनासो छ । कृत्रिम अभाव सिर्जना गराएर भएपनि व्यवसायीले भाउ बढाउने गरेका छन् । पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिले जिल्लामा ७८ हजार पाँच सय ३७ परिवार लाभग्राही सूचीमा समावेश गरेको थियो । प्राधिकरणको तथ्यांक अनुसार हाल सम्म दोस्रो किस्ताका लागि ३३ हजार ८ सय १६ परिवारको प्रमाणिकरण भएको छ ।
कारोबारबाट































प्रतिक्रिया