काठमाडौं
जिल्ला अस्पताल हुम्लामा अक्सिजनको सिलिन्डर नहुँदा बिरामीलाई उपचार गर्न निकै समस्या परेको छ । गम्भिर प्रकृतिका विरामीलाई अक्सिजनको अभाव हुँदा समस्या परेको हो । हुम्लामा एक मात्रै यातायातको साधन रहेको हवाई जहाजले अक्सिजनको सिलिन्डर बोक्न नमानेपछि समस्या आइपरेको अस्पतालले जनाएको छ ।
कर्णाली विज्ञान प्रतिष्ठान जुम्लाबाट पाठेघरको विरामीलाई उपचार गर्ने क्रममा हुम्ला पुगेको टोलीले उक्त तथ्य खोलेको हो । प्रतिष्ठानका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. मंगल रावलले भने, ‘दम तथा अन्य थुप्रै प्रकारका प्राणघातक रोगको उपचार गर्नु पर्छ । सामान्य प्रकारका रोगका लागि आवश्यक उपकरण अस्पतालसँग छैन । समस्या परेको छ ।’
उनले भने, ‘जिल्लाभर ५० हजार जनसंख्या छ । तर जिल्ला अस्पतालमै अक्सिजनको सिलिन्डर नहुनु झन गम्भिर विषय हो ।’ जिल्लाको एक मात्रै सुविधा सम्पन्न अस्पतालमा दैनिक विरामीको चाप बढिरहेको अस्पतालले जनाएको छ । हुम्लामा गम्भिर प्रकृतिका धेरै विरामी आउने र अक्सिजन दिनुपर्ने विरामी संख्या पनि धेरै भएकाले समस्या हुने गरेको जिल्ला अस्पताल हुम्लाका डा. नविन रोकायाले बताए । उनले अस्पतालमा ६ वटा मात्रै अक्सिजनका सिलिन्डरहरु रहेको बताए । नेपालगञ्ज र सुर्खेतबाट हवाइजहाजले सिलिन्डर बोक्न नमानेपछि समस्या आइपरेको उनले दुखेसो गरे ।
नयाँपत्रिकाबाट





























प्रतिक्रिया