चुलोचौकोदेखि क्याम्पससम्म: शिशुवारीका छोरी-बुहारीको शिक्षा यात्रा

चुलोचौकोदेखि क्याम्पससम्म: शिशुवारीका छोरी-बुहारीको शिक्षा यात्रा

केन्द्रबिन्दु
21
Shares

सप्तरी। सप्तरीको सुरुङ्गा नगरपालिका-१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भएकी थिइन्। पढ्ने इच्छा भए पनि विवाहपछि जीवनको लय बदलियो। करिब १० वर्ष उनी घरको काम, खेतीपाती र पारिवारिक जिम्मेवारीमै व्यस्त रहिन्।

तर पछि अध्ययन फेरि सुरु गरी २०६७ सालमा एसएलसी उत्तीर्ण गरिन्। घर नजिकै शिशुवारी क्याम्पस खुलेपछि प्लस टू र गत वर्ष स्नातक (बिएड) समेत पूरा गरिन्। “गृहिणी भएर बस्दा धेरै अवसर गुमेको महसुस हुन्थ्यो, तर घर नजिक क्याम्पस खुलेपछि पढ्न सजिलो भयो,” राउतले बताइन्।

यस्तै डिकुरा पोखरेल पनि १५ वर्षअघि विवाहका कारण पढाइ रोकिएको थियो। शिशुवारी क्याम्पस खुलेपछि उनले पनि पढाइ पूरा गरी स्नातक र स्नातकोत्तर गरेर अध्यापन गरिरहेकी छिन्।

सुमित्रा र डिकुरा जस्ता सयौं छोरी-बुहारीले यहाँ अधुरा सपनालाई पूरा गर्ने मौका पाएका छन्। क्याम्पसले विसं २०६९ मा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको हो। हाल यहाँ ३०० भन्दा बढी बुहारी स्नातक उत्तीर्ण भइसकेका छन् र कोही निजामती सेवा, कोही शिक्षण क्षेत्रमा काम गर्दै आफ्नो जीवन बदल्न सफल भएका छन्।

क्याम्पस प्रमुख कृष्णप्रसाद तिम्सिनाका अनुसार यहाँ सप्तरी मात्र होइन, छिमेकी जिल्ला सिरहा, उदयपुर, खोटाङ, सुनसरी र मोरङका विद्यार्थी पनि पढिरहेका छन्। न्यून शुल्क (वार्षिक रु १४ हजार) र सुरक्षित वातावरणका कारण विद्यार्थीलाई पढ्न सजिलो भएको छ। अत्यन्त विपन्नका लागि निःशुल्क भर्ना पनि उपलब्ध छ।

उदयपुरकी टुना माया मगर र मनिशा विकले यहाँ पढेर शिक्षक सेवा आयोग उत्तीर्ण गरेकी छन्। प्रेमा थापामगरले बाहिर बसेर स्नातक गरेकी थिइन्, तर हाल धेरै दिदीबहिनीहरू गाउँमै स्नातक पढ्न पाएका छन्।

शिशुवारी क्याम्पसले छोरी–बुहारीलाई मात्र डिग्री दिएको छैन, आत्मविश्वास र आत्मनिर्भरता पनि दिएको छ। परिवारको जिम्मेवारी र आर्थिक समस्या भए पनि धेरैले उच्च शिक्षा हासिल गर्ने मौका पाएका छन्। क्याम्पस स्थानीयको चन्दा र सहयोगबाट सुरु भएको हो। गणपतलाल सारडाले २१ कट्ठा जग्गा दान गरे। अन्यले रु १० हजारदेखि ५१ हजारसम्म सहयोग गरे। १४ वर्षमा रु १७ लाखभन्दा बढी सहयोग जुट्यो।

सुरुङ्गा-१ का वडाध्यक्ष छत्रबहादुर राउतका अनुसार सुरुमा भवन जीर्ण र शिक्षकको तलब बक्यौता थियो, विद्यार्थी पनि कम थिए। तर प्रयासले ५२ जना छोरी-बुहारी भर्ना भएका थिए। अहिले बिएडतर्फ कोशी प्रदेशमै उत्कृष्ट नतिजा आएको छ। स्नातक पहिलो ब्याचका विद्यार्थी काशि कार्कीका अनुसार धेरै विद्यार्थी निजामती सेवा र शिक्षण क्षेत्रमा छन्। हरेक घरमा कम्तीमा एकजना स्नातक छोरी वा बुहारी भेटिन्छ।

क्याम्पसले प्लस टू र स्नातक तहमा २०० भन्दा बढी र २२५ विद्यार्थी अध्ययनरत छन्, जसमा छोरी-बुहारी बढी छन्।स्थानीयको सहयोगबाट सञ्चालन भएको क्याम्पसले विपन्न परिवारका छोरी-बुहारीलाई उज्यालो दिएको छ। चुलोचौकोको धुवाँदेखि उच्च शिक्षासम्मको यात्रा शिशुवारीलाई शिक्षा मात्र नभई सामाजिक परिवर्तनको केन्द्र बनाएको छ।

Skip This
Skip This
Logo