बालेन प्रधानमन्त्री बनेपछि रास्वपाले भन्यो- प्रशासनमा दलीय आडमा काम गर्ने संस्कृति अन्त्य हुनुपर्छ

बालेन प्रधानमन्त्री बनेपछि रास्वपाले भन्यो- प्रशासनमा दलीय आडमा काम गर्ने संस्कृति अन्त्य हुनुपर्छ

केन्द्रबिन्दु
39
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती प्रशासनभित्रका कुनै पनि समूह, अभियान वा युनियन शैलीका संयन्त्रहरूसँग आफ्नो पार्टीको कुनै पनि प्रकारको आबद्धता, समर्थन वा संलग्नता नरहेको स्पष्ट पारेको छ।

नेपालको ४३औँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र (बालेन) शाहले शपथ लिएसँगै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै कर्मचारी वृत्तमा पार्टी र नेतृत्वको नाम जोडेर सिर्जना गर्न खोजिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समय निजामती सेवाभित्र विभिन्न नामका समूह वा अभियानहरू सञ्चालन गर्ने र त्यस्ता गतिविधिमा यस पार्टी र नेतृत्वको नाम जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको सूचनाप्रति हाम्रो ध्यानाकर्षण भएको छ।”

रास्वपाले कर्मचारीको एकमात्र धर्म ‘जनसेवा’ र एकमात्र पहिचान ‘व्यावसायिकता’ हुनुपर्नेमा जोड दिँदै कुनै पनि राजनीतिक दलको ओत लाग्ने वा शक्ति केन्द्रको नाममा प्रशासनिक संयन्त्रलाई प्रभाव पार्ने कार्य पार्टीको आदर्श र नीति विपरीत रहेको उल्लेख गरेको छ।

रास्वपाले निजामती सेवालाई ‘मेरिटोक्रेसी’ (योग्यता प्रणाली) का आधारमा चलाउनुपर्ने र कर्मचारीहरू केवल राज्य र जनताप्रति मात्र उत्तरदायी हुनुपर्ने पक्षमा आफूहरू दृढ रहेको बताएको छ । विगतमा जस्तै प्रशासनलाई धम्क्याउने, डर वा त्रास सिर्जना गर्ने वा दलीय आडमा काम गर्ने संस्कृतिको अन्त्य हुनुपर्ने विषयमा आम सरोकारवाला स्पष्ट हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

पार्टीले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा समूहको प्रभावमा नपरी पूर्ण तटस्थ, निष्पक्ष र जिम्मेवार भई जनताको सेवामा समर्पित हुन हार्दिक अपिल समेत गरेको छ।

Skip This
Skip This
Logo