सिद्धार्थ बैंकद्वारा ‘वाक फर वाटर, वाक फर लाइफ’ प्रभातफेरी कार्यक्रम सम्पन्न

सिद्धार्थ बैंकद्वारा ‘वाक फर वाटर, वाक फर लाइफ’ प्रभातफेरी कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘वाक फर वाटर, वाक फर लाइफ’ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ । हरेक वर्षझैं बैंकले यसपालि पनि वाकाथन कार्यक्रमलाई निरन्तरता दिँदै उक्त कार्यक्रम आयोजना गरेको हो ।

शुक्रबारकाे कार्यक्रममा बैंकले पानीको सदुपयोग, सरसफाइ र लैङ्गिक समानताबको महत्व झल्काउने प्लेकार्डसहित नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः नक्सालसम्म ५ किलोमिटरसम्मको प्रभातफेरी आयोजना गरेको हो ।

हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवसले स्वच्छ पानीको महत्वलाई उजागर गर्दै पानी स्रोतको दिगो व्यवस्थापनका लागि विश्वव्यापी रूपमा सचेतना फैलाउने लक्ष्य राखेको छ । सन् २०२६ को नारा ‘वाटर एन्ड जेन्डर‘ले सुरक्षित पानी, सरसफाइ तथा लैङ्गिक समानता प्रवद्र्धन गर्न पानीको पहुँच र व्यवस्थापनमा समान सहभागिता र अधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ । यस विश्वव्यापी नारासँग ऐक्यबद्धता जनाउँदै सिद्धार्थ बैंकले पनि सुरक्षित पानी र सरसफाइको पहुँच सुनिश्चित गर्नुका साथै लैङ्गिक समानता प्रवद्र्धन गर्ने सन्देश प्रवाह गर्ने उद्देश्यले उक्त वाकाथन कार्यक्रम आयोजना गरेको बैंकका एक्जुकेटिभ अफिसर रामेश्वरप्रसाद बस्यालले जानकारी दिए ।

सुरक्षित पिउने पानीमा सर्वसाधारणको पहुँच सुनिश्चित गर्ने उद्देश्यले विश्व पानी दिवसको अवसरमा चालु आर्थिक वर्ष भित्र देशभरका सार्वजनिक स्थानहरूमा ९ वटा पानी शुद्धीकरण प्रणालीहरू स्थापना गर्नुका साथै जलस्रोत वरपर सरसफाई अभियान सञ्चालन गर्ने योजना रहेको बैंकले जनाएको छ । यस पहलमार्फत सर्वसाधारणलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउँदै जनस्वास्थ्य प्रवद्र्धनमा योगदान पुर्याउने तथा नाराले जोड दिएको समावेशी पहुँचलाई सुदृढ बनाउने लक्ष्य बैंकले राखेको छ ।

Logo